+
+
पठन अनुभूति :

स्वतन्त्रता र दासत्वको प्रतिविम्ब ‘अ क्याट एट द इण्ड अफ द वर्ल्ड’

जब मान्छेले रुखमा आत्मा हुँदैन भन्ने कुरामा विश्वास गर्न थाल्यो, तबदेखि मान्छेले आफूलाई बाहेक संसारका कुनै पनि वस्तु या प्राणीलाई जिउँदो देख्नै छोड्यो ।

प्रवीण पौडेल प्रवीण पौडेल
२०७९ चैत ३० गते १६:११

मलाई लाग्छ, को मान्छे कति एक्लो छ भनेर थाहा पाउन उसले कति किताब पढ्छ भन्ने जाने पुग्छ । यहाँ मैले आफैंले आफैंलाई एक्लो भनेर अर्थ्याउन खोजेको होइन, न एक्लो छु भनेर विलौना नै गरेको हुँ । तर आफ्नो व्यक्तिगत अनुभव र बेलाबखत बाआमाले, आफन्तले, साथीभाइले सम्बोधन गरेको आधारमा मैले आफूले आफैंलाई एकलकाँटे चाहिं साबित गरिसकेको छु । र, यो पनि सत्य हो  म मान्छेभन्दा बढी किताबको संगत नै रुचाउँछु, किनकि मलाई लाग्छ मान्छेहरू धेरै बोल्छन् र किताबजस्तो मौन साथी अन्त कहीं भेटिन्न ।

किताबप्रति, अझ फिक्सन किताबप्रतिको मोह भनुँ या प्रेम, खास राम्रो मान्दैनन् मैले भेटेका अधिकांश मान्छेहरू । बकवास ठान्छन् यो कुरालाई म ३० प्रतिशत जति मान्छु । भैरव अर्यालले पनि भनेका छन्, ‘साहित्य, संगीत र कला साह्रै स्वार्थी र स्वाभिमानी प्रकृतिका हुन्छन् । यिनका लगामले खिचिएका सबैजसो मानिस केवल आत्मसन्तुष्टिबाहेक अरु केही सोच्नसम्म पनि सक्दैनन् । त्यसैले म, म नै छु । अरु सबै आ-आफ्नै ढंग-रंगमा छन् ।’ यो कुरालाई मभित्र रहेको ७० प्रतिशत स्वार्थी र स्वाभिमानी प्रकृतिले स्वीकार गर्छ । किताब किन्ने या पढ्ने लत लागेको मान्छे, भोकसँग पनि सम्झौता गर्छ ।

भ्यान गग जन्मिएको देशमा मेरो एउटा साथी छ, जसले मलाई संसारभर रहेका राम्राराम्रा किताब पढाउने जिम्मा लिएको छ, यसकारण पनि म उसलाई ‘देउता’ भनेर बोलाउँछु, किनकि मेरा लागि हरकोही जो राम्रा किताब पढ्छन्, पढाउँछन्, लेख्छन्– ती स्वयं देउता हुन्, देउताकै अंश हुन् । ऊ अघिल्लो महिना नेपाल आएको थियो र आउनुअघि उसले मलाई सोधेको थियो– ‘कुन किताब ल्याइदिउँ ?’

मैले च्याटमै हाँसेको इमोजी पठाएर भनेको थिएँ– ‘भक्तले के मन पराउँछ, भक्तलाई के चाहिन्छ, त्यो देउतालाई थाहा छ ।’ बेलाबखत ऊ मलाई कहिले नाम नसुनेका लेखकका किताबहरू पढ्न सल्लाह दिन्छ । म उसको कुरालाई नकार्दिनँ, किनकि मलाई उसमा र उसले सजेस्ट गर्ने किताबमा विश्वास छ । र, किनकि उसले कचकच गरेर नै मैले ‘विनाशकारी कथाहरूको हंगेरियन गुरु’ लाज्लो क्रास्नहोर्काईको ‘सेतान्ट्याङ्गो’ पढेको थिएँ ।

अहो, त्यो किताब ! त्यो किताबको लेखाइलाई सम्झिंदा अहिले पनि मगजले आफ्नो मुख मिठ्याउँछ ।

खैर, उसले मलाई इस्टोनिया र क्रोएसियाका दुईवटा किताब ल्याइदियो । म दंग परें । इस्टोनियन किताबको बारेमा पछि कुरा गरौंला, तर त्यो क्रोएसिएन किताबलाई छोएर मेरो आँखाले धीत मार्नै सकेन । नाम नै कति सुन्दर– ‘अ क्याट एट द इन्ड अफ द वर्ल्ड’ । त्यहीमाथि बिरालोको पनि कथा, मलाई बिरालो औधी मन पर्छ, हुन त बिरालो कसलाई मन पर्दैन र ?

यो किताब एउटा ध्यान हो, जसले इतिहास र प्रकृतिको जाप गरिरहेको छ । र, यो किताब लिबुर्निया (अहिलेको क्रोएसिया) कसरी बन्यो भन्ने कुराको दस्तावेज हो ।

‘संसारको अन्तिम संघारमा एउटा बिरालो’

क्रोएसिया भन्नासाथ मलाई ‘डुब्रोव्निक’ भन्ने सहरको याद आउँछ, त्यो सहर मेरो सबैभन्दा प्रिय टिभी-सिरिज ‘गेम अफ थ्रोन्स’को ‘किङ्स ल्यान्डिङ’ हो । र क्रोएसिया भन्ने साथ दोस्रो कुरा सन् २०१८ को वर्ल्डकप फाइनल कसरी भूल्ने ! तर अबबाट मैले क्रोएसियालाई सम्झनु पर्दा ‘रोबर्ट पेरिसिच’ र यो किताबलाई सबैभन्दा पहिला सम्झिने छु ।

यो किताब बिरालोको मात्रै कथा होइन, तर ‘म्यु’ नाम गरेको इजिप्टियन बिरालो यो किताबभित्रको कथाको केद्रबिन्दु हो । यो किताब कुनै दन्त्यकथा जस्तै छ, जहाँ एउटा ‘स्क्याटरविन्ड’ बिना शरीरको हावा, जोसँग आत्मा छ, जो प्राचीन ‘सिराक्युज’को दिनदेखि अहिलेको समकालीन समयसम्म हावाबाट सहजै समययात्रा गर्न सक्छ, जसले यो कथालाई देखेको छ, जसले मान्छेको सभ्यतालाई नियालेको छ, हजारौं वर्षदेखि उनीहरूको बदलावको साँची भएको छ । र यसमा अर्को पात्र ‘कालिया’ नाम गरेको दास छ, जो अलिक लोसे छ, जसलाई दुनियाँदारी त्यति थाहा छैन । जो एकदिन आफ्नो मालिकको छोरोलाई कुटेर, उनीहरूको इजिप्टियन बिरालो, एउटा कैंची र अर्कैको घरबाट ‘मिक्रो’ नाम गरेको गधालाई लिएर त्यो ‘सिराक्युज’ भन्ने टापुबाट भाग्न सफल हुन्छ ।

‘अ क्याट एट द इन्ड अफ द वर्ल्ड’ मानव समाज र त्यसबाट उम्रिएका स्वतन्त्रता र दासत्वका अवधारणाहरूको मीठो अध्ययन हो । यसभित्र रहेका स-साना अध्यायहरूले पाठकलाई ७०० बी. सी. ताकाको समाज र समयमा पुर्‍याउँछ, जतिबेला ग्रीसका मान्छेहरू युरोपका विभिन्न भागमा छरिंदै थिए । किताबले समाज कसरी बन्यो, सभ्यता कसरी सुरु भयो, भाषा कसरी बन्यो र समयसँगसँगै भाषा कसरी बद्लिंदै र लोप हुँदै गयो भन्ने कुरादेखि लिएर ग्रीसले गरेको युद्ध र कोलोनाइजेसनसम्मको कुरालाई समेटेको छ । तत्कालीन समाज, व्यापार, र पहिलो-पहिलो सहर कसरी बन्यो भन्ने कुरा फिल्म जसरी देखाइएको छ, जहाँ प्लेटोका दर्शनहरू हावामा उडिरहेका छन् ।

किताबको अर्को बिलियो पक्ष भनेको यसले मान्छे र जनावरको व्यवहारको गहिरो अध्ययन गरेको छ । जस्तो कि मान्छेले कसरी कुकुर, बिरालो, गाई, बाख्रा, भेडा, सुँगुर, कुखुरालाई घरपालुवा बनायो भन्ने साह्रै रोचक किसिमका कथाहरू छन् यसमा ।

एक दिन एक हुल मान्छेले आफ्ना लागि खानाको खोजी गर्दैगर्दा ब्वाँसोका छाउराहरू भेट्टाए,  छाउराकी आमा त्यहाँ थिइन । ती मान्छेले तिनीहरूलाई मारिसक्थे होला तर उनीहरूलाई ती छाउराको चर्तिकला देखेर हाँसो लाग्यो । ती छाउराहरू चलिरहेका थिए, एकअर्कामा चढिरहेका थिए, एकले अर्कोलाई जित्न खोजिरहेका थिए, ती मान्छेले ती छाउराहरूमा आफ्नै प्रतिरुप देखे र मज्जाले हाँसे । उनीहरू ती छाउरालई नमारी गाउँ फर्किए, गाउँमा यो कुरा फैलियो । त्यही गाउँमा एउटा महिला बस्थिन्, जसको बच्चा भर्खरै मरेको थियो, तर उसबाट अझै दूध आइरहेको थियो । उसले ती छाउरालई लिएर पाली । यसरी मान्छेले ब्वाँसोका छाउरालाई घरपालुवा बनाएर कुकुर बनायो ।

समय बित्दै गयो, कुकुरले आफ्नो सिकार गर्ने बानीलाई त्यति सजिलै बिर्सिन सकेन । कुकुरले नै बाख्रालाई लखेटेर मान्छे भएको ठाउँसम्म ल्यायो, गाईलाई ल्यायो, कुखुरालाई ल्यायो, सुँगुर र भेडालाई ल्यायो र ती जनावरलाई लाग्यो मान्छेले त्यो ब्याँसो (कुकुर)बाट उनीहरूको सुरक्षा गर्न सक्छन् । यसरी उनीहरू पनि मान्छेका घरपालुवा जनावर बने । तर बिरालो भने यसरी आएको होइन ।

बिरालो मान्छे भएको ठाउँमा अरु सबै घरपालुवा जनवार आइसकेपछि अन्तिममा आयो । आफैं आयो र मान्छेलाई पनि त्यतिविघ्न ख्याल भएन, बिरालो आयो, मुसा मार्‍यो, आफ्नो ढंगले बाँच्यो, मान्छेका लागि त मुसाबाट अन्न जोगाएर बिरालोले राम्रो काम नै गरिरहेको थियो, त्यसैले मान्छेले बिरालोको आगमनलाई स्वीकार्‍यो । तर कुकुरलाई यो कुरा पटक्कै मन परेन, किनकि अरु जनावरलाई घरपालुवा बनाउन उसले नै मान्छेलाई सहयोग गरेको थियो । तर बिरालो त आफ्नो मर्जीले आएको थियो, यो कुरा सम्झिंदा कुकुरलाई अहिले पनि रिस उठ्छ, त्यसलै अहिले पनि कुकुर र बिरालो मिल्दैनन् ।

बिरालो (म्यु) र गधा (मिक्रो)लाई किताबले स्वतन्त्रता र दासत्वको मेटाफरको रुपमा पनि देखाएको छ । बिरालोहरू मुसा मार्छन्, मान्छेलाई सहयोग गर्छन् र बिरालोका लागि मान्छे मालिक होइन, साथी हो । उनीहरूको प्रकृति नै मनमौजी खालको हुन्छ, मान्छेको घरमा जतिबेला पनि आउन सक्छन् र जतिबेला पनि जान सक्छन् । उनीहरूलाई डोरीले बाँधे पनि या खोरमा थुने पनि, उनीहरू कसैको वशमा हुने जन्तु होइनन् । कोही पनि, वास्तवमा, कोही पनि बिरालोको मालिक होइन ।

जसरी गधा दासत्वको एउटा प्रतिविम्ब हो । उनीहरूलाई दूध र मासुको लागि पालिएको थिएन, उनीहरू पहिलो र सच्चा मजदुर हुन् । उनीहरूले नै मान्छेसँग मिलेर पिरामिड बनाए । गधाभन्दा पहिले नै भेडा, बाख्रा र गाईहरू घरपालुवा भइसकेका थिए, तर तीमध्ये कुनै पनि मजदुर थिएनन् । हुन सक्छ गधाले नै मान्छेलाई पहिलोपटक दासत्वको विचार दियो ।

मान्छेले आफूले आफूलाई यस संसारको सर्वश्रेष्ठ प्राणी घोषित गर्‍यो ।  मान्छेलाई लाग्यो हामीजस्तो बलवान र बुद्धिमान अरु कोही छैन । मान्छेले आफूले आफूलाई नै भगवानको प्रिय सिर्जना मान्यो । जब मान्छेले रुखमा आत्मा हुँदैन भन्ने कुरामा विश्वास गर्न थाल्यो, तबदेखि मान्छेले आफूलाई बाहेक संसारका कुनै पनि वस्तु या प्राणीलाई जिउँदो देख्नै छोड्यो ।

एउटा युवक, उसको बिरालो र गधा, हावाले न्यारेट गरिरहेको ग्रीस र युरोपको इतिहास, जनावरको व्यवहार र प्रकृति, भगवान र विश्वासका कुरा, युद्ध, उपनिवेश र दासत्वको क्रममा मान्छे र उनीहरूको भाषाको उत्पत्ति, परिवर्तन र लोप । यो किताब एउटा ध्यान हो, जसले इतिहास र प्रकृतिको जाप गरिरहेको छ । र, यो किताब लिबुर्निया (अहिलेको क्रोएसिया) कसरी बन्यो भन्ने कुराको दस्तावेज हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?