+
+

चैतसम्म ९ खर्ब ४३ अर्ब बजेट खर्च, अब तीन महिनामा साढे ८ खर्ब खर्च गर्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १ गते १७:२९
फाइल तस्वीर

१ वैशाख, काठमाडौंं । सरकारले चालु आर्थिक वर्ष (आव) २०७९/८० को ९ महिना (चैत मसान्त) सम्म साढे ९ खर्ब बजेट खर्च गरेको छ । तर, लक्ष्य भेट्याउन भने सरकारले अब बाँकी तीन महिनामा साढे ८ खर्ब रुपैयाँ खर्च गर्नुपर्छ ।

महालेखा नियन्त्रकको कार्यालयको आंकडा अनुसार चैत मसान्तसम्म ९ खर्ब ४३ अर्ब ५ करोड रुपैयाँ बजेट खर्च भएको छ । यो कुल बजेटको ५२.५७ प्रतिशत मात्र प्रगति हो । यस आवमा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । सरकारको ढुकुटीमा चालु खर्चका लागि समेत पुग्न पर्याप्त हुने रकम राजस्वबाट उठ्न नसकेपछि अर्थ मन्त्रालय दबाबमा छ । यसले सरकारको समग्र खर्च नै प्रभावित बनेको देखिएको छ ।

चैत मसान्तसम्म चालु प्रकृतिको बजेट खर्च ७ खर्ब ६ अर्ब ७६ करोड रुपैयाँ बराबरको भएको छ । यो कुल लक्ष्यको ५९.७३ प्रतिशत हो । यस आवमा सरकारले चालुतर्फ ११ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । पूँजीगत खर्च भने १ खर्ब ७ अर्ब २४ करोड रुपैयाँ बराबर भएको छ । यो विनियोजित पूँजीगत खर्चको २८.१९ प्रतिशत हो । यस आवमा सरकारले पूँजीगत बजेट ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ गर्ने लक्ष्य लिएको छ ।

चैत मसान्तसम्म वित्तीय व्यवस्थामा १ खर्ब २९ अर्ब ४ करोड रुपैयाँ खर्च भएको छ । यो विनियोजनको तुलनामा ५६.०५ प्रतिशत हो । यस आवमा वित्तीय व्यवस्थामा २ खर्ब ३० अर्ब २१ करोड रुपैयाँ बजेट खर्चको लक्ष्य रहेको छ ।

७५ प्रतिशत समय ढक्लिंदा राजस्व आधा पनि उठेन

राजस्व संकलनमा सरकार लक्ष्य भन्दा धेरै नै पछाडि देखिएको छ । अहिले चालु आवको ७५ प्रतिशत समय ढल्किसकेको छ । तर, राजस्व संकलन भने लक्ष्यको आधा पनि उठेको छैन ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चैत मसान्तसम्म राजस्व ६ खर्ब ८३ अर्ब ८० करोड उठेको छ । यो कुल राजस्व संककन गर्न लिइएको लक्ष्यको मात्र ४८.७३ प्रतिशत हो ।

यस आवमा सरकारले १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ । राजस्व, अनुदान र अन्य आम्दानीबाट यस आवमा सरकारले कुल ७ खर्ब २४ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानीले सरकारको चालु खर्च मात्र धान्न सक्ने अवस्था छ । सरकारको आम्दानी र खर्चका बीचमा अहिले बीचमा २ खर्ब १८ अर्ब ५७ करोड रुपैयाँ बराबरको खाडल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?