+
+
Shares

निजी क्षेत्रसँग बालेनको प्रस्ताव : सिप मेला गर्दैछौं, जस्तो जनशक्ति चाहियो, त्यस्तै तालिम दिन्छौं

‘सहकार्यबाट देशभित्र नै रोजगारीको सम्भावना देखिन्छ । निराश भएका युवामा आशा पलाउँछ । यो आशा भनेको रोजगार र स्वरोजगार क्षेत्रका लागि प्रभावकारी परामर्श हुनेछ,’ बालेनको प्रस्ताव छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २२ गते १९:०२

२२ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले निजी क्षेत्रसँग छलफल गरेका छन् ।

महानगरले आगामी ७ जेठदेखि टुँडिखेलमा गएको वर्ष जस्तै सिप मेला सञ्चालन गर्ने तयारी रहेको मेयर बालेनले जानकारी दिए ।

महानगरले वर्षभरि नै सिपमूलक तालिम सञ्चालन गरिरहेको पनि बताए । तालिमबाट मानवपूँजीका रूपमा उत्पादन भएका जनशक्तिलाई रोजगारमा आबद्ध गराउन निजी उद्योग तथा वाणिज्य क्षेत्रसँग सहकार्य अगाडि बढाएको उनले बताए ।

‘निजी उद्योग तथा वाणिज्य क्षेत्रले कस्ता खालका जनशक्ति आवश्यकता महसुस गर्नुभएको छ । महानगरपालिकासँग जनशक्तिको प्रकृति माग गरिदिनुभयो भने हामी त्यसैअनुरूपका तालिम सञ्चालन गर्छाैं,’ बालेनले भने ।

निजी क्षेत्रले जनशक्तिको माग नै ठूलो सहयोग हुने उनले बताए । ‘हामी मानवपूँजी र निजी उद्योग तथा वाणिज्य क्षेत्रका बीचमा भएको सम्बन्ध खाडल पुर्ने प्रयास गर्नेछौं,’ उनले भने ।

उनले निजी उद्योग तथा वाणिज्य क्षेत्रसँग महानगरले सामाजिक उत्तरदायित्व अन्तर्गत सहकार्य गर्न चाहेको समेत बताए ।

‘सहकार्यबाट देशभित्र नै रोजगारीको सम्भावना देखिन्छ । निराश भएका युवामा आशा पलाउँछ । यो आशा भनेको रोजगार र स्वरोजगार क्षेत्रका लागि प्रभावकारी परामर्श हुनेछ,’ उनको प्रस्ताव छ ।

सिप मेलाले पुलको काम गर्‍यो : निजी क्षेत्र

गत वर्ष सञ्चालन गरेको ‘सिप मेला २०८१’ ले सिपयुक्त जनशक्ति र रोजगारदाता दुवै पक्षलाई पुलको काम गरेको निजी उद्योग तथा वाणिज्य क्षेत्रका प्रतिनिधिले धारणा राखेका थिए । उनीहरूले आउँदो मेलामा सहकार्य गर्न तत्पर रहेको धारणा राखेका थिए ।

निजी उद्योग तथा वाणिज्य क्षेत्रका प्रतिनिधिले उद्योग क्षेत्रले भोगिरहेको जनशक्ति अभाव कम गराउन महानगरले सञ्चालन गरेका कामर्यक्रमले नतिजा दिएको बताएका थिए ।

निजी क्षेत्रका प्रतिनिधिले जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउन, युवालाई श्रम क्षेत्रमा आबद्ध गराउन, बैंकहरूसँग सहकार्य गरेर बीउ पूँजी व्यवस्थापनमा सहजीकरण गरिदिन महानगरका कार्यक्रमले सहयोग गर्ने धारणा राखेका थिए ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेनले आयोजना गरेको छलफलमा सहभागी निजी क्षेत्रलाई प्रतिनिधित्व गर्ने उद्योगी–व्यवसायीहरू ।

निजी क्षेत्रको छलफलमा नेपालमा डकर्मी, सिकर्मी, कपाल काट्ने, प्लम्बिङ लगायत कामका लागि युवामा तत्परता नदेखिएको विषय उठेको थियो ।

‘यही काम विदेशमा गएर सजिलै गर्छन् । यहाँ पनि तुरुन्तै रोजगारी दिन सकिने ठाउँ छ । रोजगारमा जान चाहने दक्ष जनशक्ति पनि छन् । तर, दुई पक्ष एकले अर्को कहाँ छ थाहा पाएका छैनन् । यसका लागि पनि सिप मेला आवश्यक छ,’ बैठकमा छलफल भएको थियो ।

बालेनसँगको छलफलमा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा, वैद्य ग्रुपका अध्यक्ष सुरज वैद्य, केएल दुगड ग्रुपका अध्यक्ष कुमुद दुगड, सूर्य नेपालका उपाध्यक्ष रवि केसी र उपमहाप्रवन्धक प्रेम अर्याल, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी, एनसेल फाउन्डेसनका निर्देशक विशाखालक्ष्मी खड्का, त्रिवेणी ग्रुपका अध्यक्ष रामचन्द्र संघाइ, शंकर ग्रुपका अखिल गुप्तासहित थिए ।

महानगरको सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले गत वर्ष सम्पन्न गरिएको मेलाबारे जानकारी दिँदै २ हजार ८१ जनालाई तालिम दिने लक्ष्य राखिएकोमा २ हजार ७ सय २५ जनालाई तालिम प्रदान गरिएको बताएका थिए । तालिम लिएकामध्ये स्वदेश र विदेश गरी करिब १ हजार २ सय जनाभन्दा बढी प्रत्यक्ष रोजगारीमा आबद्ध भएको उनले सुनाएका थिए ।

५ हजारलाई रोजगार बनाउने उद्देश्य

१५ हजार व्यक्तिलाई सिपमूलक तालिम प्रदान गरेर कम्तीमा ५ हजार जनालाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्य सहित २०८०/८१ देखि महानगर गौरब योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रम कार्यान्वयनमा आएको थियो ।

‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सिप नभएकाको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य लक्ष्य रहेको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?