+
+

पोखराका होटलमा ९० प्रतिशत पर्यटक

रासस रासस
२०८० वैशाख २ गते १६:४४

२ वैशाख, गण्डकी । नयाँ वर्ष २०८० को आगमनसँगै पोखराका होटल क्षमताको ९० प्रतिशत बढी भरिएका छन् ।

कोरोनाका कारण लामो समयसम्म प्रभावित यहाँको पर्यटन गत माघ १ गते भएको यती एयरलायन्सको विमान दुर्घटनापछि झनै सुस्ताएकामा नयाँ वर्षको आगमनले उत्साह थपेको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

पोखरा र आसपास गरी यहाँ ठूला–साना गरी लगभग एक हजार दुई सय होटल सञ्चालनमा छन् । उनले नयाँ वर्षको आगमनसँगै देखिएको पर्यटकको चापले आफूहरूलाई उत्साहित बनाएको बताए ।

‘नयाँ वर्षका कारण यतिखेर लेकसाइडका होटल लगभग शतप्रतिशत भरिएका छन्’, उनले भने, ‘लेकसाइडमात्र नभई पोखरा र आसपासका होटलसमेतको अक्युपेन्सी हेर्दा ९० प्रतिशतभन्दा बढी देखिन्छ ।’

नयाँ वर्षको अघिल्लो दिन चैत ३० गते र वैशाख १ गते लेकसाइड क्षेत्रमा पर्यटकको चापका कारण कोठा पाउन मुस्किल भएको होटल एसियाका सञ्चालक धर्मराज पन्थीले जानकारी दिए । नयाँ वर्षको आगमनलाई लक्षित गरी आयोजित फेवा नववर्ष महोत्सवका कारण पनि आन्तरिक पर्यटकको चहलपहल बर्सेनि बढ्दै गएको पर्यटन व्यवसायी बताउँछन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?