२ वैशाख, काठमाडौं । नेपाल एपीएफ क्लबले प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा एपीएफले नेपाल प्रहरीलाई २५–२०, १८–२५, २५–१६ र २५–२२ को सेटमा पराजित गर्यो । उपाधिसंगै एपीएफले समूह चरणमा प्रहरी विरुद्ध व्यहोरेको हारको बदला पनि लियो । लिगको पहिलो खेलमा प्रहरीले एपीएफलाई ३–० ले हराएको थियो । उपाजि जितेपछि एपीएफले ४ लाख र उपविजेता प्रहरीले २ लाख नगद पुरस्कार हात पारे ।
पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा नेपाल आर्मी तेस्रो भयो । तेस्रो स्थानका लागि शनिबार भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई २५–१८, २५–११ र २९–२७ ले पाखा लगायो । आर्मीले १ लाख र गण्डकीले ५० हजार रुपैयाँ पुरस्कार पाए ।
राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा एपीएफका टेकराज अवस्थी सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले १५ हजार नगद पुरस्कार प्राप्त गरे । अन्य विधागततर्फ स्पाइकरमा आर्मीका धनबहादुर भट्ट, लिब्रोमा एपीएफका विनोद चन्द, सेटरमा एपीएफका लोकेन्द्र गिरी, ब्लकरमा एपीएफका सुनिल घर्ती मगर, सर्भरमा प्रहरीका इम राना मगर तथा प्रशिक्षकमा एपीएफका महेशप्रसाद चौधरी उत्कृष्ट चुनिए । उत्कृष्ट सबैले जनही १० हजार नगद पुरस्कार जिते ।
विजेतालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, आयोजक प्रतिष्ठानका अध्यक्ष श्रीकृष्ण अधिकारी र महासचिव निर्मल आचार्यलगायतले पुरस्कार प्रदान गरे । २८ चैतमा सुरु लिग कम नकआउट प्रतियोगितामा ५ टिम सहभागी थिए ।
 
                    










 २०८० वैशाख  २ गते २०:१९
                        २०८० वैशाख  २ गते २०:१९                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4