+
+

पत्रकारको भीडबाट गोली चल्दा भारतीय पूर्वसांसद अतिक अहमद र उनका दाजु मारिए

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते ९:०८

३ वैशाख, काठमाडौं । भारत उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उनका दाजु अशरफको गोली हानी हत्या भएको छ ।

पूर्व विधायक राजु पालको हत्या आरोपमा प्रहरी नियन्त्रणमा रहेका अतिक र अशरफ प्रयागराजस्थित एक अस्पतालमा स्वास्थ्य जाँच गरी फर्किने क्रममा पत्रकारलाई प्रतिक्रिया दिइरहेको बेला गोली प्रहार भएको थियो । उनीहरुलाई गोली लागेको दृष्य पनि टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको थियो । भिडियो फुटेजमा एक व्यक्तिले उनीहरुलाई नजिकैबाट टाउकोमा गोली हानेको देखिन्छ ।

अतिकका वकिल विजय मिश्राले पत्रकारहरुको भिड भित्रबाट अज्ञात व्यक्तिले निकै नजिकबाट गोली हानेको बताएका छन् । प्रहरीका एक आयुक्त रमित शर्माले पत्रकार बनेर आएकाहरुले गोली हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन् । गोली हानेकाहरुले घटनास्थलमै आत्मसमर्पण गरेका थिए ।

अतिक अहमद र उनका भाइ अशरफलाई १० भन्दा बढी गोली लागेको स्थानीय मिडियाले उल्लेख गरेका छन् । यो घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनालाई निकै गम्भीर भन्दै तीन सदस्यीय उच्चस्तरीय अनुसन्धान आयोग गठन गरेका छन् । मुख्यमन्त्री आदित्यनाथले अधिकारीहरुलाई सुरक्षामा चनाखो रहन र शान्ति सुव्यवस्था खलबलिने गतिविधि नियन्त्रण गर्न निर्देशनसमेत दिएका छन् ।

सन् २००५ को जनवरीमा पूर्व विधायक राजु पालको हत्याका प्रत्यक्षदर्शी उमेश पाललाई अपहरण गरेर वयान नदिने कागज गराएर छाडेको आरोप अतिक अहमदमाथि लागेको थियो । तर सन् २००७ मा उमेशले प्रयागराजको धुमनगञ्ज प्रहरीमा आफूलाई अपहरण र यातना दिएको भन्दै अतिकविरुद्ध उजुरी दिए ।

यो मुद्दामा सन् २०२३ को फेब्रअुरी २४ मा बयान दिएर फर्किइरहेको बेला उमेशको गोली हानेर हत्या भएको थियो । उमेशको हत्यामा अतिकका छोरा असद अहमद संलग्न भएको बताइएको छ । असद अहमद र उनका साथी मोहम्मद गुलाम सन् २०२३ को अपि्रल १४ मा प्रहरी इन्काउन्टरमा मारिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?