+
+
ब्लग :

बालबालिकाको गुनासो सुन्ने कि आफैं गुनासो गर्ने ?

आफ्नो सन्तानका दर्जनौं नराम्रा व्यवहार एकै मिनेटमा सम्झने हाम्रा अभिभावक एउटै राम्रो व्यवहार सम्झन लामै समय लगाउँछन् । गुनासो सुन्ने अभिभावकहरूले बालबालिकालाई आफ्नै गुनासो सुनाउन थालेपछि समस्या के होला ?

रामकुमार थापा रामकुमार थापा
२०८० वैशाख ३ गते १४:५८

करोडौंको भवन छ । विद्यालयमा एक से एक शिक्षक छन् । खेलमैदान, कम्प्युटर ल्याब, खेल सामग्री, बालमैत्री कक्षाकोठा र विद्यालयमै छ खाजा कार्यक्रम । शैक्षिक गुणस्तर वृद्धि गर्ने भनेर तीन तहका सरकारले विभिन्न कार्यक्रम संचालन गरिरहेका छन् । तर विद्यालयका शिक्षकको प्रतिक्रिया हुन्छ- ‘विद्यार्थी पढ्नै मान्दैनन् ।’

यो एक ठाउँको नभएर देशभरकै साझा समस्या हो । शिक्षा क्षेत्र सुधारको लागि विभिन्न कार्यक्रम गर्नको लागि करोडौं रुपैयाँ छुट्याएको पाइन्छ । तर विद्यार्थीले किन पढ्न मन गरिरहेका छैनन्, अध्ययन गर्नका लागि कुनै कार्यक्रम सञ्चालन भएको पाइँदैन ।

विद्यालयमा विद्यार्थी पढाउने र सिकाउने नाममा दण्ड-सजाय दिने गर्छौं तैपनि समस्या नघटेर बढेकै छ । राम्रो भवन, राम्रा शिक्षक–शिक्षिका, विद्यालयमा राम्रो पूर्वाधार हुँदै पढाइ राम्रो हुन्छ भन्ने मानसिकता रहुन्जेल हाम्रा बालबालिकाको समस्या बढ्दै जान्छ । बालबालिकाको भावना बुझ्न नसक्दा आज उनीहरू समस्यामा परिरहेका छन् ।

घटना-१

एक सामुदायिक विद्यालयको कक्षा-६ मा पढ्ने बालिकालाई निद्रा पर्न छाडेको छ । उनलाई आत्महत्याको सोचाइ आउन थालेको दुई महिना भइसकेको छ । तर उनले अहिलेसम्म त्यो कुरा न घरमा भनिन्, न त विद्यालयमै भन्न सकिन् । दिनानुदिन उनी एक्लै बस्ने, रिसाउने, टोलाउने गर्न थालिन् । पढाइ कमजोर हुँदै गयो । तर उनको भावना बुझ्नुभन्दा पनि पढाइ राम्रो बनाउने भन्दै उनलाई घर र स्कुल दुवैतिर बढी दबाव दिन थालियो । समस्या बढ्दै गएपछि अन्ततः उनले एकदिन आत्महत्या प्रयास गरिन् ।

घटना-२

कक्षा ९ मा पढ्ने एक बालकले आफ्नो हात पटक–पटक काट्ने र आफैंलाई क्षति पुर्‍याउने अनेकन् क्रियाकलाप गर्न थाले । टोलाउने, झगडा गर्ने, कुलतमा फस्ने, पढ्न नजाने, घरमा एक्लै बसिरहने, खाना नखाने जस्ता समस्या देखिन थालेपछि घरमा परिवारले निगरानी सुरु गरे । गाली र कुटपिट सुरु भयो । विद्यालयमा पनि शिक्षक र शिक्षिकाले राम्रो पढ्नको लागि दबाव दिन थाले । विद्यालयमै गएर परिवारको सदस्यले साथीका अगाडि गाली गरेपछि उनले विद्यालय नै छाडे ।

घटना-३

कक्षा ८ मा पढ्ने एक बालिकालाई प्रहरीले पक्राउ गर्‍यो । ७ कक्षासम्म पढाइ र व्यवहार राम्रो थियो । सामुदायिक विद्यालयमा अध्ययन गरिरहेकी उनले साथीभाइको लहलहैमा लागेर गाँजा र लागूपदार्थ खान थालिछिन् ।

धनमाल चोर्न थालेपछि उनलाई प्रहरीले पक्राउ गरी छलफल गरायो । लागूपदार्थ किन्नको लागि पैसा नभएपछि उनले घरकै पैसा चोरेर आफ्नो लत मेटाउनको लागि लागूऔषध किनेर खाने गरेकी रहिछिन् ।

घटना-४

एक विद्यालयको कक्षा ९ मा पढ्ने बालकलाई मोबाइलमा लत बस्यो । उनी रातैभरि मोबाइल गेम (फ्री फायर) खेल्न थाले । मोबाइल विना एक दिन पनि कटाउन नसक्ने भएपछि उनीमा रिसाउने, पढ्न मन नगर्ने, एक्लै बस्ने, नबोल्ने, नखाने र झगडा गर्ने समस्या देखिन थाल्यो । विस्तारै उनी विद्यालय गए पनि कक्षामा सुत्ने, गृहकार्य नगर्ने र साथीको घरमा बस्न मन गर्न थाले । विस्तारै उनको घरपरिवारसँग सम्बन्ध बिग्रियो ।

माथि उल्लिखित सन्दर्भ प्रतिनिधि घटना मात्र हुन् । आज अधिकांश बालबालिकालाई सोध्ने हो भने उनीहरूको एउटै गुनासो हुन्छ– हाम्रो भावना कसैले बुझ्दैनन् ।

विगतकै जसरी बालबालिका हुर्काउँछु भन्ने अभ्यासले गर्दा आज समस्या आइरहेका छन् । हिजो र आजको समय र परिस्थिति परिवर्तन भएको छ तर बालबालिका हुर्काउने शैलीमा सकारात्मक परिवर्तन आएको छैन ।

बोक्न नसक्ने जिम्मेवारी बोकाउँदा बालबालिका सानै उमेरदेखि नै समस्यामा जेलिएर बाँच्न बाध्य छन् । स–साना कुराहरूले पनि उनीहरूको मन दुख्छ भन्ने ज्ञान नहुँदा हरप्रहर मन दुखाइरहेका छौं ।

त्यसैले सानै उमेरदेखि नै बालबालिकामा मनोसामाजिक समस्या देखिइरहेका छन् । यो उनीहरूको चाहना नभएर अरूले गर्ने व्यवहारको प्रतिफल हो । आफ्नै व्यवहारबाट बालबालिकामा समस्या देखिएपछि अभिभावक चिन्तित देखिन थालेका छन् ।

अभिभावककै गुनासो बढी

सन्तानको व्यवहारबारे अभिभावकलाई सोध्दा लामो जवाफ भेटिन्छ । मेरो जस्तो बालबालिका त अरू कसैको छैन होला भन्छन् । आफ्नो सन्तानका दर्जनौं नराम्रा व्यवहार एक मिनेटमा सम्झने हाम्रा अभिभावक एउटै राम्रो व्यवहार सम्झन लामै समय लगाउँछन् । गुनासो सुन्ने अभिभावकले बालबालिकालाई आफ्नै गुनासो सुनाउन थालेपछि समस्या के होला ? बालबालिकाले आफ्नो भावना र गुनासो कसलाई सुनाउने ?

यसरी प्रत्यक्ष-अप्रत्यक्ष रूपमा बालबालिका आफ्नै घर र विद्यालयमा पिल्सिएर बाँच्नुपर्ने अवस्था सिर्जना भइरहेको हुन्छ । अभिभावकले आफ्ना बालबालिका राम्रो बनाउने नाममा गरेको गलत व्यवहारको प्रतिफलमा समस्या दिनानुदिन बढिरहेको छ । बालबालिका असल भएनन् भन्छांै तर के कारणले यस्तो भए भनेर खोजिपसेका छैनौं ।

शिक्षक नै तनावमा

विद्यालयका शिक्षकहरू आफ्नै बालबालिकाको व्यवहारबारे गुनासो गर्छन् । पिटेर र सजाय दिएर सुधारेको गलत उदाहरण पेश गर्छन् । सजाय दिन नपाउने नीतिप्रति गुनासो गर्छन् ।

जति पढाए पनि बालबालिकाले नबुझ्ने, ध्यान नदिने, कक्षाकोठामा बस्न नरुचाउने, कक्षाबाट बाहिर बस्न खोज्ने, होमवर्क नगर्ने, मोबाइल बढी हेर्ने, अतिरिक्त क्रियाकलापमा सहभागी नहुने, रिसाउने, थर्काउने र टोलाउने समस्या देखेपछि शिक्षकहरू कसरी पढाउने भनेर चिन्तामा देखिन्छन् । शिक्षकलाई अब बालबालिका सुधार्न सकिंदैन कि भन्ने चिन्ता देखिन्छ ।

बालबालिकामा समस्या नै समस्या

अहिले अधिकांश बालबालिकामा व्यावहारिक तथा आचरणजन्य समस्या बढी भएको देखिन्छ । मैले परामर्शको क्रममा नुवाकोट र धादिङका विद्यार्थी भेट्दा १०० मध्ये ३० मा मनोसामाजिक समस्या रहेको पाएँ ।

तीमध्ये ५ देखि ७ प्रतिशतमा आत्महत्याको जोखिम रहेको देखिन्छ । कक्षा ६ देखि १० सम्मका विद्यार्थीसँग परामर्श गर्दा उनीहरूमा कुनै न कुनै समस्या पाएँ । भोलिका देशका कर्णधार हाम्रा बालबालिकामा यस्ता समस्या देखिंदा पनि सम्बन्धित पक्षले कुनै चासो देखाएको पाइँदैन । हामी उल्टो समस्या थप्न उद्यत छौं । यो गल्तीको परिणाम हामीले भोग्नुपर्छ ।

विद्यार्थीलाई मनोपरामर्श 

बालबालिका भावनात्मक हिसाबले परिपक्व हुँदैनन् । उनीहरूलाई सानो–सानो कुराले पनि मनमा चोट पुगिरहेको हुन्छ । घर र विद्यालयमा गरिने व्यवहार, साथीसँगीको भनाइले पनि उनीहरूको मनमा गहिरो चोट पुर्‍याइरहेको हुनसक्छ । उनीहरूले यसबारे कसैलाई भन्ने अवसर पाइरहेका हुँदैनन् । साना–साना कुराले पनि उनीहरूलाई गहिरो प्रभाव पारिरहेको हुनसक्छ ।

बालबालिकाका उमेर अनुसारका आफ्नै समस्या हुन्छन् । हामी समस्या मात्र देखाउँछौं तर समाधानको उपाय सिकाउँदैनौं। पढ्नमा किन कमजोर भयो ? भनेको किन मानिरहेको छैन ? मोबाइल किन बढी चलाइरहेको छ ? कमजोरी कहाँ भइरहेको छ ? समस्या के हो ? बालबालिकाको भावनात्मक समस्या पहिचान नै गर्न सक्दैनौं ।

उनीहरूको भावना बुझेर व्यवहार गर्ने हो भने वयस्कलाई भन्दा बालबालिकालाई परामर्शद्वारा सहज रूपमा व्यवहार परिवर्तन गर्न सकिन्छ । एक दिन साथी नबोल्दा वा विद्यालय नआउँदा पनि उसलाई अप्ठेरो भएको हुनसक्छ । घरमा हिंसा गर्ने, डर देखाउने, पढ्न मात्र दबाव दिने, प्रत्येक कामलाई निगरानीमा राख्ने र खुला रूपमा प्रस्तुत हुन नदिने, विद्यालयमा शिक्षक, शिक्षिकाहरूको व्यवहार, गाली, साथीको अगाडि दिइने सजाय, साथीहरूले जिस्क्याउने, होच्याउने लगायतको व्यवहारले पनि बालबालिकालाई असहज बनाइरहेको हुन्छ ।

सहनसकुन्जेल उनीहरूले सहन्छन्, तर विस्तारै ती समस्या व्यवहारमा देखिन जान्छ । हामीलाई बालबालिकाले जानीजानी गरेको भन्ने हुन्छ तर त्यो त उनीहरूले भोगिरहेको समस्याको प्रतिक्रिया मात्रै हो ।

मनोपरामर्शको सहयोग

बालबालिकाले आफ्नो मनको पीडा र दुःखलाई व्यक्त गर्न सक्दैनन् । र, ती भावनालाई सहज रूपमा हामीले स्वीकार गर्न सकिरहेका हुँदैनौं । बालबालिकाको स्वभाव हो कि समस्या, पहिचान गर्नुपर्छ । सबैभन्दा पहिला उनीहरूको भावना सुन्नुपर्छ । समस्याको पहिचान गर्नुपर्छ ।

सकारात्मक पक्षको बढी चर्चा र आत्मविश्वासको कुरा गर्नुपर्छ । चित्र, स्टोरी टेलिङ, अनुच्छेद पूरा गर्ने लगायत विधि प्रयोग गरी उनीहरूको भावना अभिव्यक्त गर्न दिनुपर्छ । चित्र तथा छलफल विधिबाट मनमा भएको नकारात्मक सोच हटाएर सकारात्मक सोचको विकास कसरी गर्न सकिन्छ भनेर परामर्श गर्नुपर्छ ।

कसरी सोच्ने ? सकारात्मक रूपमा सोच्दा के फरक पर्छ, तनाव हुँदा के कस्ता सकारात्मक विधिहरू प्रयोग गरी सामना गर्ने भन्ने विषयमा परामर्श गर्नुपर्छ । असल र समाजमा राम्रो योगदान पुर्‍याएको व्यक्तिहरूको विषयमा चित्र मार्फत उनीहरूलाई कसरी राम्रो भयो, के के व्यवहार थियो होला भनेर सोच्न लगाउनुपर्छ ।

मनमा आउने नकारात्मक कुराहरूले मनमा, शरीरमा, व्यवहार र सम्बन्धमा के असर परिरहेको छ सोच्न लगाउनुपर्छ । समस्याको कसरी सामना गर्न सकिन्छ भन्ने विषयमा बालबालिकासँगै बसेर छलफल गर्नुपर्छ ।

मनमा खेलिरहने अनेकन् प्रकारका प्रश्न तथा समस्या सेयर गर्दा उनीहरूको मन शान्त हुन्छ र पुनर्ताजगी महसुस गर्छन् । उनीहरूलाई थप ऊर्जा मिल्छ जसले गर्दा उनीहरूमा देखिएका समस्या विस्तारै कम हुँदै जान्छन् ।

(लेखक मनोसामाजिक परामर्शकर्ता हुन् ।)  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?