+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares
सेतीमा स्वास्थ्यकर्मी भर्ना विवाद : :

‘महामारीका बेलाको मापदण्ड अनुसार स्वास्थ्यकर्मी भर्ना गर्न मिल्दैन’

जनक विष्ट जनक विष्ट
२०८० वैशाख ३ गते १९:०६

३ वैशाख, धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालले कोरोना महामारीका बेला बनेको मापदण्डका आधारमा अघि बढाएको स्वास्थ्यकर्मी भर्ना प्रक्रिया थप पेचिलो बनेको छ ।

कोरोना महामारीको समयमा बनेको चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन मापदण्ड २०७७ अनुसार अस्पतालले विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी भर्ना गर्न खोजेपछि उजुरी परेको थियो ।

अस्पतालले उक्त उजुरीसहितको व्यहोरा सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा पठाउदै भर्ना प्रक्रियाका सम्बन्धमा के गर्ने भनेर राय मागेको थियो । यस विषयमा मन्त्रालयले हालसम्म कुनै राय दिएको छैन ।

प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले मन्त्रालयबाट कुनै निर्देशन नआएका कारण स्वास्थ्यकर्मी भर्ना प्रक्रिया अघि नबढेको बताए ।

‘हामीले मन्त्रालयलाई लेखी पठाएको विषयमा हालसम्म कुनै निर्देशन नभएका कारण स्वास्थ्यकर्मी भर्ना प्रक्रिया यथास्थितिमै छ’, पाण्डेले अनलाइनखबरसँग भने, ‘मन्त्रालयले दिने निर्देशनका आधारमा अघि बढ्छौं।’ सामाजिक विकास मन्त्रालयले भने उक्त सम्बन्धमा कानूनी परामर्श आवश्यक रहेको भन्दै मुख्य न्यायाधिवक्ताको कार्यालयसँग राय मागेको थियो ।

मुख्य न्यायाधिवक्ताको कार्यालयले २६ चैतमा नै राय लेखी पठाइसकेको छ । मन्त्रालयका शाखा अधिकृत तथा सूचना अधिकारी भुवन जोशीले मुख्य न्यायाधिवक्ताको कार्यालयबाट कानूनी राय प्राप्त भएको बताए ।

जोशीका अनुसार मुख्य न्यायाधिवक्ताको कार्यालयले पठाएको रायका आधारमा मन्त्रालयले छिट्टै निर्णय लिने तयारी गरेको छ । तर के राय लेखी पठाएको छ भन्ने कुरा भने सार्वजनिक गरिएको छैन ।

मुख्य न्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार कोरोना महामारीका बेला बनाइएको मापदण्डको सुविधा जुनसुकै समयमा पनि लिन नमिल्ले राय दिइएको छ । ‘२०७७ सालमा कोरोना संक्रमण उच्च भएर महामारी फैलिएको अवस्थालाई ध्यानमा राख्दै मन्त्रालयले हतारमा स्वासथ्यकर्मी भर्ना गर्न उक्त मापदण्ड बनाएको थियो ।

‘तर समान्य समयमा पनि त्यसलाई नै आधार बनाउनु हुदैन’, मुख्य न्यायाधिवक्ता कार्यालय स्रोतले भन्यो, ‘मुख्य न्यायाधिवक्ताज्यूले पनि सोही आशयको राय लेखेर मन्त्रालयलाई पठाउनुभएको छ ।’

मुख्य न्यायाधिवक्ता कार्यालयका उपन्यायाधिवक्ता लक्ष्मीनारायण दाहालले कानूनी राय गोप्य हुने भएकाले त्यसमा उल्लेख गरिएको कुरा बताउन नमिल्ने बताए । तर कुनै निश्चित महामारीलाई लक्षित गरेर बनाइएको मापदण्डमा टेकेर जुनसुकै बेला भर्ना गर्न नसक्ने उनको भनाइ थियो ।

‘हामीले लेखी पठाएको राय गोप्य हुन्छ । सार्वजनिक गर्न मिल्दैन तर तपाई यति बुझ्नुस महामारीलाई ध्यानमा राखेर बनाइएको मापदण्ड जुनसुकै बेला पनि लागु गर्न मिल्ने छुट कसैलाई हुदैन’, दाहालले भने ।

प्रादेशिक अस्पतालले ६ चैतमा ७ दिने सूचना जारी गर्दै नवौं तहका ७ जना विशेषज्ञ चिकित्सक, ६ जना मेडिकल अधिकृत, एनेस्थेसिया सहायक र हेल्थ असिस्टेन्ट ५/५ जना, फार्मेसी सहायक ४ जना, रेडियोग्राफर ३ जना, ३५ जना स्टाफ नर्ससहित विभिन्न तहका ७१ जना स्वास्थ्यकर्मी माग गरेको थियो ।

नवौं तहको विशेषज्ञ चिकित्सकतर्फ पेडियाट्रिसियन, साइक्याट्रिक, मेडिकल जनरलिस्ट र रेडियोलोजिस्टमा दरखास्त परेको छैन । यी बाहेकका पदमा १ हजार ८३ जनाको आवेदन परेको छ । तर अस्पतालले कोभिड–१९ महामारीलाई लक्षित गरेर बनेको मापदण्डबाट सामान्य समयमा पनि पदपूर्ति गर्न लागिएको भन्दै उजुरी परेपछि भर्ना प्रक्रिया नै विवादित बनेको थियो ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?