+
+

उपेन्द्रसँग वर्चश्वको ‘चुनाव’ लडिरहेका सीके राउत

चुनावी नतिजा आफ्नो पक्षमा पारेर मधेशको राजनीतिबाट उपेन्द्र यादवको वर्चश्वमाथि धावा बोल्न कस्सिएका राउत यतिखेर आफ्नो सम्पूर्ण शक्ति बारा २ मा केन्द्रित गरिरहेका छन् ।

सागर चन्द शैलेन्द्र महतो सागर चन्द, शैलेन्द्र महतो
२०८० वैशाख ४ गते २०:५९
जनमत पार्टीका अध्यक्ष सीके राउत ।

४ वैशाख, महागढिमाई । सेतो कमिजमाथि कलेजी रंगको ज्वारीकोट, त्यसमाथि रातो मफलर । मफलर र कोटको बिचमा प्रष्टै देखिन्छ ओशोको चित्राकिंत माला । प्रायः यही गेटअपमा देखिन्छन् बाराको गढिमाई मन्दिर अगाडि एउटा निर्माणाधिन घरलाई अस्थायी मुकाम बनाएर मधेशको राजनीतिक संसारमा आफ्नो शक्ति जमाउन कस्सिएका जनमत पार्टीका अध्यक्ष सीके राउत छन् ।

वैशाख १० को उपनिर्वाचनका लागि शिवचन्द्र कुशवाह हुन् जनमतले बारा २ मा उठाएका उम्मेदवार । तर राउत आफैं प्रतिस्पर्धामा उत्रिए जसरी खटिएका छन् । दलका उम्मेदवार कुशवाहलाई समेत माथ दिने गरी चुनाव प्रचारप्रसारमा खटिएका छन् । पर्चा, पम्लेट सबैतिर राउतकै फोटो छ ।

कतिसम्म भने महागढिमाई नगरपालिका–१ बरियारपुरमा रहेको चुनाव प्रचारप्रसार कार्यालयको ढोकैमा राउतको जेल जीवन सम्झाउने फ्लेक्स टाँगिएको छ । उम्मेदवार कुशवाह र प्रचारप्रसारमा खटिएका अधिकांशले राउतको फोटो अंकित ब्याच छातिमा टाँसेका छन् ।

मानिसहरु पनि उनलाई सुन्न, हेर्न झुम्मिन्छन् । राउत पनि यो क्रेजलाई कुशवाहको जितमा परिणत गर्न हरसंभव प्रयास गरिरहेका छन् । चैतको दोस्रो सातादेखि नै बारा क्षेत्र नम्बर २ का खेत, खलिहान, देहात डुलिरहेका छन् । आफ्नो यो चुनावी दौडलाई घरदैलोको साटो ‘स्वाभिमान यात्रा’ नाम दिएका उनका कार्यकर्ताको नारा छ, ‘डा. सिके राउत के आह्वान, हरन मे मतदान ।’

स्वाभिमान यात्राका क्रममा राउत स्वयं पनि ‘बहरिया’ र ‘भितरिया’को तर्क निकै गर्छन् । चुनावी प्रतिस्पर्धामा रहेका जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव, एमालेका पुरुषोत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेललाई जनमतले ‘बहरिया’ अर्थात बाहिरका मान्छे भन्ने गरेको छ ।

‘उनीहरु कसैको पनि घर बारा २ मा होइन । यहाँ बसोबास, घर नभएको मान्छेले यहाँका लागि केही गर्दैनन्, चुनाव जित्छ जान्छ,’ आइतबार साँझ गढिमाई मन्दिर अगाडिको अस्थायी मुकाममा भेटिएका राउतले सुनाए ।

बारा २ मा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाह ।

राउतको पार्टीबाट चुनावी मैदानमा उत्रिएका कुशवाहको घर महागढिमाई नगरपालिका १ बरियारपुरमा छ । त्यसैले जनमतले आफ्ना उम्मेदवारलाई ‘धरतीपुत्र’को संज्ञा दिएको छ ।

‘बाहिरिया’ र ‘भितरिया’को यो तर्क उपेन्द्र यादवलाई बारा २ का यादव समुदायको भोट एकतर्फी जान्छ कि भन्ने डरले जन्मिएको अनुमान सहजै लगाउन सकिन्छ । किनकी १ लाख ५ हजार मतदाता रहेको बारा २ मा यादव जातिको जनसंख्या १७ दशमलव ८ प्रतिशत छ । यही संख्या देखेर पनि ४ मंसिरमा सप्तरी २ मा राउतसँगै चुनाव हारेका जसपा अध्यक्ष उपेन्द्र यादवले यहाँबाट चुनाव जितेका रामसहाय यादवलाई उपराष्ट्रपति बनाए र आफू सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा चुनाव लडिरहेका छन् ।

जनमत पार्टीका नेताहरुका अनुसार यादव समुदायका मानिसहरुले राउतलाई ‘तपाईंले उपेन्द्र यादवलाई हराइसक्नुभयो फेरि हराउन किन आएको भन्दै प्रश्न गर्ने गरेका छन् । तर राउत र उनका कार्यकर्ताले ‘बहरिया’ र ‘भितरिया’ को नारा रत्तिभर कम गरेका छैनन् ।

राउतको चुनावी मुकाम नजिकै मन्दिरको प्रांगणमा पूजा सामग्री बिक्री गरिरहेका प्रमोद गुप्ताको कुरा सुन्दा पनि बाहिरिया र भित्रियाको यो तर्क पत्याउन मुस्किल लाग्छ । ‘पहिला रामसहाय प्रसाद यादवलाई पनि चुनावमा मात्र मुख देखाउने भनेर जनताले भनेकै थिए,’ उनी निकट विगतको अनुभव सुनाउँछन्, ‘चुनाव हो, जसले मिहिनेत गर्छ उसैले जित्छ ।’

मेसमा खाना खाँदै जनमत पार्टीका अध्यक्ष सीके राउत र उनका कार्यकर्ताहरु ।

मिहिनेत त राउतले गरेकै छन्, आफ्नै पार्टीका उम्मेदवार कुशवाहले भन्दा पनि बढी ।  जनमतका उम्मेदवार कुशवाहको आफ्नै गाउँ बरियारपुरमा चलिरहेको यो मेसमा हरेक छाकमा करिब २ सय जना कार्यकर्ताले खाना खान्छन् । हरेक दिन बिहानदेखि साँझसम्म चुनावी अभियानमा खटिने राउत बिहान र साँझ कार्यकर्तासँगै मेसमा खान्छन्, कार्यकर्तालाई सुन्छन् । ‘होटलमा बसाउन खुवाउन हामीसँग पैसा छैन,’ राउतसँग आफ्ना हरेक कामको तर्क छ ।

हरेक दिन बिहान चुनाव प्रचारप्रसारमा निस्कनु अगाडि पार्टीका उम्मेदवार कुशवाहलाई सल्लाह सुझाव दिन्छन् । प्रचारप्रसारबाट फर्किएपछि ब्रिफिङ लिन्छन् । खेत, खलिहानमा काम गरिरहेका मतदातालाई सघाउन पनि पुगेकै हुन्छन् राउत । ‘मान्छेलाई एक–एक गरी भेट्यो भने उसले सम्झिरहन्छ । ए, मलाई भेटेको थियो भनिरहन्छन्,’ राउतको प्रष्ट रणनीति छ ।

यसो भनेर राउत पार्टीको ब्राण्डिङ गर्न खोजिरहेका छन् । भारतमा भारतीय जनता पार्टी र नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको ब्राण्डिङलाई हेरेका राउतलाई आफ्नो पार्टीको ब्राण्डिङ गर्न नसकेकोमा आफैंसँग थोरबहुत गुनासो पनि छ । त्यसैले यो पटक आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले प्रयोग गरेजस्तै टोपी आफ्ना कार्यकर्तालाई लगाउन भनेका छन् ।

उपनिर्वाचनमा खटिएका जनमत पार्टीका एक कार्यकर्ता ।

त्यो टोपीलाई ‘स्वराज’सँग जोड्छन् राउत । अफ्रिकामा मजदुरहरुले यस्तै टोपी लगाउने गरेको र त्यही टोपी भारतमा महात्मा गान्धीले स्वतन्त्रता लडाइँको समयमा लगाएको सुनाउँदै राउत भन्छन्, ‘अहिले अरविन्द केजरीवालले लगाए । त्यो स्वराजको संकेत पनि हो । हामीले यहाँ पनि त्यसै अर्थमा प्रयोग गरेका हौं ।’ राउतको फोटो राखिएको त्यो टोपीमा ‘जनमत दे, अधिकार ले’ लेखिएको छ ।

अर्थात चुनावी नतिजा आफ्नो पक्षमा पारेर मधेशको राजनीतिबाट उपेन्द्र यादवको वर्चश्वमाथि धावा बोल्न कस्सिएका राउत यतिखेर आफ्नो सम्पूर्ण शक्ति बारा २ मा केन्द्रित गरिरहेका छन् ।

पचरौता नगरपालिका, महागढीमाई नगरपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका, देवताल गाउँपालिका र कोलहवी नगरपालिकाको ८ नम्बर वडा बारा २ मा पर्छ ।

उपनिर्वाचनका लागि जनमत पार्टीले कार्यालय सञ्चालन गरेको घर ।

उपेन्द्र यादवलाई सप्तरीमा चुनाव हराएका राउत यहाँ पनि चुनाव हराउन सकिनेमा विश्वस्त छन् । भन्छन्, ‘उहाँ लोकप्रिय भइदिएको भए, राम्रो काम गरेको भए, पार्टी अध्यक्ष पदको मान्छे सप्तरी २ बाटै हार्नुपर्ने अवस्था नै आउँदैनथ्यो’, उनी भन्छन्, ‘यहाँ त झन् उहाँ बाहिरिया मान्छे, उहाँले जित्ने कुनै आधार छैन ।’

जनमत पार्टीका उम्मेदवार कुशवाह भने अघिल्लो चुनावमा आफू ३५४ मतले मात्र हारेको तथ्यांक सुनाउँदै यसपटक आफू जित्नेमा विश्वस्त सुनिन्छन् । ४ मंसिरको चुनावमा एमालेको समर्थन पाएका जसपा उम्मेदवार रामसहाय यादवले १३ हजार ८२२ मत पाउँदा पाँचदलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कुशवाहले १३ हजार ४६८ मत पाएका थिए ।

आफ्नो हारको कारक गठबन्धनलाई ठहर्याएका उनी भन्छन्, ‘जनमत पार्टीको गठबन्धन जनतासँग छ । गठबन्धन गत चुनावमा पनि लागू भएन, यो चुनावमा पनि हुन्न ।’ जनताको सेवा गर्न पार्टी परिवर्तन गरेको बताइरहेका कुशवाह सीके राउतकै शैलीमा भन्छन्, ‘म यहाँको धर्तीपुत्र हुँ, जनता मेरो साथमा छन् ।’

करिब एक महिना अगाडिदेखि उपनिर्वाचनमा खटिएका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष सिके राउतसँग गरिएको संक्षिप्त कुराकानी :

तपाईँ आफैं चुनावी मैदानमा महिनौं खट्नुको अर्थ बारामा उपेन्द्र यादव बलियो छन् भन्ने हो ?

निर्वाचन भएपछि पार्टीहरुले भाग लिन्छन् । सबैले आ–आफ्नो तरिकाले भाग लिन्छन् । तीन क्षेत्रमा उपचुनाव छ । हाम्रो उम्मेदवार एउटा क्षेत्रमा मात्र छन् । त्यसकारण पार्टी अध्यक्षको नाताले आफैं लागेको हुँ । म पार्टीको प्रभाव बढाउन चाहन्छु ।

जहाँसम्म को बलियो भन्ने छ, जनताले हामीलाई देखाएर ‘शेर एकेला आता है’ (सिंह एक्लै आउँछ) भनिरहेका छन् । उहाँहरु बलियो भएको भए एक्लै आउनुपर्थ्यो । भन्नलाई ठूला पार्टी भन्ने, तर झुण्ड लिएर आउने ? राष्ट्रिय अध्यक्ष भइसकेको मान्छे चुनाव लड्न एक्लै आउनु पर्दैन ? यति डराएका छन् कि पाँच–पाँच वटा  दलसँग गठबन्धन गरेर आएका छन् । को कति कमजोर छ भन्ने त्यसले नै देखाउँछ ।

त्यसो भए बाहिरिया र भित्रिया उम्मेदवार भनेर किन कित्ताकाट गर्न खोज्नु भएको त ?

बाहिरिया भन्ने तथ्य हो, भ्रम होइन । उहाँहरुको ठेगाना र आंकडा हेर्नुस् न, यो प्रदेशको पनि हुनुहुन्न । अर्को प्रदशबाट आएर जबर्जस्ती उम्मेदवार बनेका छन् । पार्टी लडोस्, हामी स्वागत गर्न तयार छौं । उहाँहरुले आ–आफ्नो उम्मेदवार यही क्षेत्रबाट उठाउन सक्नुपर्थ्यो । तर, त्यसो गर्न सक्नु भएन । त्यसैले उहाँहरु बाहिरिया हो । यो कुराले बारा २ का लागि अर्थ पनि राख्छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउत ।

यति धुलाम्य सडक, विकास कतै छैन । जबकि यहाँका जनता निकै मिहिनेती छन् । यो क्षेत्र यति पछाडि पर्नुका कारण अहिलेसम्म यहाँका आफ्नो उम्मेदवारले जितेका छैनन् । यहाँका उम्मेदवारले नजितेपछि उनीहरुको यस क्षेत्रसँग लगाव हुँदैन, आक्कल झुक्कल टुरिष्ट जस्तो आउने जाने गर्छन्, जवाफदेही बन्दैनन् । उहाँ (उपेन्द्र यादव)ले यहाँ न केही काम गर्नुभएको छ, न गर्नु हुन्छ । त्यसैले म भन्छु आफ्नो उम्मेदवार जिताउनुस् र विकास ल्याउनुस् ।

त्यसो भए यो चुनाव उपेन्द्र यादव र सीके राउत बीचको हो ?

आम मान्छेले यस्तो भनेका हुन् । हाम्रो लडाइँ कुनै व्यक्ति र पार्टी विशेष भन्दा पनि यसपालि बारा २ का जनताले आफ्नो जनप्रतिनिधि बनाउने कि बहरिया जिताउने मुख्य सवाल हो ।

उपेन्द्र यादवलाई पराजित गर्ने आधारहरु के–के छन् ?

उहाँ लोकप्रिय भइदिएको भए, राम्रो काम गरेको भए, पार्टी अध्यक्ष पदको मान्छे सप्तरी २ बाटै हार्नुपर्ने अवस्था नै आउँदैन्थ्यो । हामी त एकदम नयाँ पार्टी थियौं, संगठन थिएन, साधनस्रोत थिएन । स्थानीय तहमा पनि हाम्रो उपस्थिति न्यून थियो । यति हुँदाहुँदै उहाँ दोब्बर मतले पराजित हुनु भयो । यसले उहाँको धरातलीय यथार्थ के छ भन्ने प्रष्ट गर्छ । सप्तरीमा जितेर पाँच वर्ष काम गर्नु भएन र हार्नुभयो, त्यसकारण उहाँले बारामा पनि जित्ने आधार छैन ।

उहाँसँग पाँचदलीय गठबन्छन छ नि ?

त्यतिबेला पनि गठबन्धन थियो । पत्रकारहरुले आँकडा देखाएर मलाई सोध्नु हुन्थ्यो । यो विश्लेषण काम लाग्दैन किनभने जनताले खुलेर भन्छन्– गठबन्धन त नेताहरूले पो गरेका हुन्, जनताले थोरै गरेका हुन् ? नेताको स्वार्थ पूरा गर्न हामीले किन आहुति दिने ? हामी त राम्रो जनप्रतिनिधि छान्ने नि ! यदि हाम्रो पार्टीबाट उठेका छैनन् भने जो राम्रो छ, त्यसलाई दिन्छु भन्छन् जनता ।

तर जसपाका नेताहरु त उपेन्द्र यादवले बारालाई मुख्यमन्त्री दिएका छन्, उपराष्ट्रपति दिए भन्छन् नि ?

आफू सांसद छिर्न ग्राइण्डडिजाइन गर्नुभयो । मेरो दललाई मुख्यमन्त्री दिनुपर्छ, उपराष्ट्रपति दिनुपर्छ भन्नुभयो । सांसदमा चोर बाटोबाट छिर्न षडयन्त्र गरेका हुन् । उपराष्ट्रपति पद राम्रो थियो भने आफैं जानुपर्थ्यो नि ! बारावासीले के पाए ? मुख्यमन्त्रीको बिगतबाट यति आजित छन्, जनतामा गएर बुझ्नुस् ।

भिडियोमा हेर्नुहोस् :

लेखकको बारेमा
सागर चन्द

शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?