+
+
स्थलगत :

चितवन–२ मा कांग्रेसको घरदैलो : स्थानीय र युवा उम्मेदवारलाई भोट

‘कम्तीमा जीतनारायणले घात गर्दैन, अहिले कांग्रेस पनि एकढिक्का छ । ७ दिन बाँकी छ, साथ दिनुभयो भने सेवक भएर काम गर्छु ।’

गौरव पोखरेल सुवास पण्डित गौरव पोखरेल, सुवास पण्डित
२०८० वैशाख ४ गते १८:१०

४ वैशाख, भरतपुर (चितवन) । आइतबार अपराह्नको ३ बजेको छ । भरतपुर महानगरपालिका–१२, राधाकृष्ण टोलमा लोकदोहोरी घन्किरहेको छ, ‘जीतनारायण श्रेष्ठलाई जिताऔं है, सबैले रूखमा भोट हाली !’

पिकअप भ्यानको अघिल्तिर ७/८ जना मानिसको टोली जम्मा भएको छ । बीचतिर रातो गम्छा, नीलो अस्कोट र सर्टमा उभिएका छन्, जीतनारायण श्रेष्ठ ।

चितवन क्षेत्र नं. २ मा हुन लागेको उपचुनावमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका श्रेष्ठलाई सघाउन ललितपुरका सांसद उदयशमशेर राणा पनि उनीसँगै छन् । नेपाल विद्यार्थी संघको राजनीतिबाट आएका कांग्रेसका पूर्व जिल्ला सभापति श्रेष्ठलाई तरुण दलका अध्यक्ष विद्वान गुरुङले पनि चितवन बसेरै साथ दिइरहेका छन् ।

लोकदोहोरी र नाराबाजी सँगसँगै चारतारे झण्डा बोकेको कांग्रेस नेता, कार्यकर्ताको यो टोली एउटा गल्लीतिर छिर्‍यो । ‘हेल्लो, को हुनुहुन्छ ?’ साँघुरो कम्पाउण्डभित्र छिरेर श्रेष्ठका सहयोगी सुरेश दर्जी बोले ।

भित्रबाट दुई महिला निस्किए । श्रेष्ठसहित उनका सहयोगीले श्रद्धापूर्वक नमस्कार गर्दै भोट माग्न आएको बताए । ‘दाइलाई चिन्नुभयो नि, तपाईंहरूकै गाउँ–ठाउँको हुनुहुन्छ’, अर्का सहयोगीले थपे । उम्मेदवार श्रेष्ठ हात जोडेर मुसुक्क हाँसे ।

अगाडि बढ्न लाग्दा एउटा मोटरसाइकल टक्क रोकियो । श्रेष्ठले ‘नमस्कार’ गर्दै सहयोग गरिदिन अनुरोध गरे । मोटरसाइकल चालकले मुन्टो हल्लाए, थप बोलेनन् ।

‘उहाँ त हाम्रो सर हो’, एक जना सहयोगीले वृद्धलाई देखाउँदै भने । श्रेष्ठले उनको हातमा ढोगे । ‘मेरो आशीर्वाद छ, शुभकामना छ’, सरको जवाफ आयो । उनले सरलाई आफ्नो पर्चा थमाए ।

१० वैशाखको चुनाव अघि उमेश श्रेष्ठ घरदैलो अभियानमा जाँदा स्थानीयसँग पहिलो पटक भेटिरहेका थिए । कार्यकर्ताले हरेकसँग परिचय गराउनु परेको थियो ।

‘यसपालि यहीं गाउँ–ठाउँको उम्मेदवार हुनुहुन्छ, परिस्थिति सहज छ’ नेपाली कांग्रेस भरतपुर महानगर कमिटीका कार्यवाहक सभापति बुद्धिकान्त न्यौपाने भन्छन्, ‘यसपालि धेरै अन्तरले जित निकाल्नेमा विश्वस्त छौं ।’

‘स्थानीय उम्मेदवार हो है हजुर’, जीतनारायण श्रेष्ठ आफ्नो घर शक्तिखोर भएको बताउँदै भोट मागिरहेका छन् । राधाकृष्ण टोलको मसला पसल छिरेर उनले दुई जना महिलासँग कुनै समस्या परे आफूलाई भेट्न सक्ने बताए । उनीहरू हात जोडेर हाँसे, मुन्टो हल्लाए ।

घरदैलो टोली अगाडि बढेपछि अनलाइनखबरसँग कुरा गर्दै उनीहरूले लामो समयदेखि रूख चिह्नमै भोट हाल्दै आएको बताए । ‘परिवार सबै कांग्रेस नै हो, तर अस्ति घण्टीमा हाल्यौं’ उनले भनिन्, ‘यसपालि पनि त्यही हो ।’

उनीहरूले आफ्नो नाम चाहिं बताउन मानेनन् । बाइपास रोडबाट मुनाल चोक आउने बाटोमा एउटा बस यात्रु ओराल्न रोकिएको थियो । श्रेष्ठ बसभित्रै छिरे । ‘ल है, सबैले मलाई भोट दिनुस् है ! म कांग्रेसको उम्मेदवार’, ढोकामै उभिएर उनले भने ।

गाडीभित्र भएका अरू यात्रु मुखामुख गरिरहे । ओर्लिने बित्तिकै एक जना वृद्धलाई उनले अँगालो हाले । ‘दाइलाई मैले भोट माग्ने नै होइन, अरूलाई भन्दिनु पर्‍यो’, उनले धाप मार्दै माहोल राम्रो बन्दै गएको सुनाए ।

‘भित्र आउनुभयो, धेरै धन्यवाद दाइ’, एक जना महिला सिटबाट उठेर बोलिन् । श्रेष्ठलाई उनले पहिलेबाटै चिनेकी रहिछिन् । भनिन्, ‘सधैं कांग्रेसलाई नै हालेको हो क्यारे !’

गाडीभित्र भएका अरू यात्रु मुखामुख गरिरहे । ओर्लिने बित्तिकै एक जना वृद्धलाई उनले अँगालो हाले । ‘दाइलाई मैले भोट माग्ने नै होइन, अरूलाई भन्दिनु पर्‍यो’, उनले धाप मार्दै माहोल राम्रो बन्दै गएको सुनाए ।

‘ल है रूखमा भोट’, श्रेष्ठ युनिक केबल टिभीको कार्यालयमा छिरे । भित्र बसेका महिलाहरूलाई उनले आफूलाई सहयोग गरिदिन आग्रह गरे । तरुण दलका विद्वान गुरुङले पर्चा थमाए ।

‘म जीतनारायण श्रेष्ठ रूखमा भोट है’, आँगनमा बसिरहेका ९६ वर्षीय हर्कबहादुर केसीसँग उनले भोट मागे । ‘आशीर्वाद छ बाबु’, केसीले जवाफ फर्काए ।

जीतनारायण अलिक अघि पुगेपछि हर्कबहादुरले कुरा काटे । उनले अनलाइनखबरसित भने, ‘अहिलेका नेताहरू सबै बेकार भए । कसैलाई धर्म, संस्कृति जोगाउने, देश बचाउनेतिर ध्यान छैन ।’

त्यसको अघिल्लो घरमा एक जना वृद्ध र दुई जना महिला थिए । जीतनारायण सँगै गएकी एक जना महिला सहयोगीले ‘रूखमा है हजुर’ भन्दै भोट मागिन् ।

श्रेष्ठले हात जोडेर भोट मागिरहँदा सहयोगी सुरेश दर्जीले ‘अप्ठ्यारो, साह्रो–गाह्रो पर्दा भन्न सकिने मान्छे’ भन्दै परिचय गराए । ‘चिन्नुभयो नि ?’ दर्जीले फेरि थपे । वृद्धले मुन्टो हल्लाए, महिलाले असजिलो मान्दै ‘छैन’ भनिन् ।

‘चिन्नुभएको छैन भने अब चिन्नुस्, छिमेकी हो, केही अप्ठ्यारो पर्दा भन्न सजिलो हुन्छ’ दर्जीले थपे, ‘खबरदारी गर्न पनि आफ्नै गाउँका मान्छेलाई सजिलो हुन्छ ।’

अघिल्लो चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित हुनु पछाडिको एउटा कारण पार्टीले स्थानीय उम्मेदवार दिन नसक्नु पनि भएको कांग्रेस स्थानीय नेताहरूको विश्लेषण छ । त्यसैले यसपटक घरदैलो अभियानमा होमिएका कांग्रेस नेता, कार्यकर्ताले श्रेष्ठ ‘स्थानीय उम्मेदवार’ भएको विषयलाई सक्दो प्रचार गरिरहेका छन् ।

श्रेष्ठ स्वयं पनि भन्छन्, ‘युवामा पनि म लामिछाने भन्दा कान्छो हो, त्यसैले यसपटक मलाई अवसर दिनुपर्छ ।’

मुनाल चोक पुग्न लाग्दा श्रेष्ठलाई गैरे किराना पसलका सञ्चालकले ‘तपाईं पनि अरू भन्दा के फरक हो र ?’ भन्दै प्रश्न गरे । ‘हजुर पनि माथि गइसकेपछि त्यही शेरबहादुरको निर्देशनमा चल्ने होइन ?’, उनले सोधे । जवाफमा श्रेष्ठले आफू युवा भएको बताउँदै फरक काम गर्ने दाबी गरे ।

‘बाँकीसँग लडेर हार्दा त चित्त बुझ्छ कि आफ्नैले हराए भने चाहिं चित्त बुझ्दैन’, जीतनारायणको छेउमा उभिएर एक कार्यकर्ता फुस्फुसाए । उनको बुझाइमा अघिल्लो चुनावमा कांग्रेसका लागि आन्तरिक विवाद प्रत्युत्पादक बनेको थियो ।

पारिपट्टिको घरबाट पनि जीतनारायणका सहयोगीले मान्छेहरू बोलाए । भित्रबाट उनीहरू निस्किएनन् । केहीबेरमा छतमा दुई महिला देखिए । ‘भोट हामीलाई है’, सहयोगीले बोलिसक्न नपाउँदै महिलाहरूले मुसुक्क हाँस्दै हात हल्लाएर घण्टी बजाएको संकेत गरे । सहयोगी केही बोलेनन्, अघिल्तिर लागे ।

‘बाँकीसँग लडेर हार्दा त चित्त बुझ्छ कि आफ्नैले हराए भने चाहिं चित्त बुझ्दैन’, जीतनारायणको छेउमा उभिएर एक कार्यकर्ता फुस्फुसाए । उनको बुझाइमा अघिल्लो चुनावमा कांग्रेसका लागि आन्तरिक विवाद प्रत्युत्पादक बनेको थियो । ‘तर, अहिले सबै कांग्रेस एकमत छन्’ उनी भन्छन्, ‘यसलाई भोट खसाल्ने दिनसम्म कायम राख्नुपर्छ ।’

‘भाउजू, दाजु को हुनुहुन्छ भित्र ?’ श्रेष्ठ कराउँदै ठूलो कम्पाउण्ड भएको घरतिर छिरे । मान्छे त देखिएनन् । तर, कार्यकर्ताको नाराबाजी ओझेल पर्ने गरी कुकुर भ्वाङ् भ्वाङ् गर्दै भुक्न थाल्यो ।

जीतनारायण अर्को घरतिर पसे । सहयोगी त्यहीं पर्खिरहेका थिए । अलिबेरमा छतमा एक जना महिला देखिइन् । ‘हाम्रो उम्मेदवारलाई हेर्दिनुस् है दिदी, युवा हुनुहुन्छ’, उनले जीतनारायणसँग चिनाउन खोजे ।

उनी बोल्दा बोल्दै महिलाले रोकिन्, ‘मैले देखिसकेकी छु, अस्ति पनि आउनुभएको होइन ?’

‘एकपटक हेर्नुस् है, युवा मान्छे’, श्रेष्ठका सहयोगी बोले । महिलाले मुन्टो हल्लाइन् । सहयोगीले फेरि आशीर्वाद दिन आग्रह गरे ।

‘दिदी, दाइ को हुनुहुन्छ ?’, अर्की महिला नेतृले गेटबाटै चिच्याइन् । कोही ननिस्किएपछि पर्चा छाडेर अघि बढिन् ।

श्रेष्ठ अघिल्तिरको घरमा छिरे । ‘सर, पढाउन जानुभयो कि क्या हो ?’ खाली घर देखेर उनी बोले । छिमेकीलाई ‘जीतनारायण आएको थियो भन्दिनु है’ भन्दै उनी अघि बढे । त्यस अगाडिका थुप्रै घरमा पनि मानिस देखिएनन् ।

श्रेष्ठका सहयोगीहरू घरभित्र पसेर बोलाउन खोजे । तर, श्रेष्ठले ‘वडा कमिटीमार्फत मिलाउनुपर्छ’ भन्दै टोलीलाई अगाडि बढाए ।
मुनाल चोकमा सत्ता गठबन्धनको संयुक्त सभा थियो । सभामा कांग्रेस नेता राणाले ‘नो नट अगेन’ भन्दै भ्रष्टाचारको विरोध गर्नेहरू नै भ्रष्टाचारमा लिप्त भएको बताए ।

‘अहिले आमसञ्चारमाध्यममा आएको अडियो सुनिहाल्नुभयो होला’ उनले भने, ‘धेरै उपप्रधानमन्त्री भयो भन्दै पहिले टिभीमा विरोध गरे, आफूले जितेपछि बालुवाटारमा धर्ना दिएर त्यही पद लिए ।’

रविले जनता झुक्याएको भन्दै उनले प्रश्न गरे, ‘लामिछाने चुनाव जितेपछि कतिपटक यहाँ आए ?’

राणाले कांग्रेस उम्मेदवार श्रेष्ठ युवा भएको बताउँदै जिते पनि हारे पनि चितवनवासी माझ नै हुने बताए । ‘म काठमाडौं उपत्यकावासी हुँ, राजधानीमा जनताले स्वतन्त्र भनेर बालेन शाहलाई जिताए । अहिले कसैले उनलाई भेट्न सक्दैन’ राणाले भने, ‘गलत मान्छेलाई जिताए भोलि यहाँ पनि हुने त्यही हो ।’

जीतनारायणले आफू नसकेर विदेश नगएको होइन भन्दै स्वदेशको राजनीतिक परिवर्तन र आर्थिक, सामाजिक विकासका लागि केही गर्छु भनेर बसेको बताए । ‘कम्तीमा जीतनारायणले घात गर्दैन, अहिले कांग्रेस पनि एकढिक्का छ’ उनले भने, ‘७ दिन बाँकी छ, साथ दिनुभयो भने सेवक भएर काम गर्छु ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?