+
+

विश्वविद्यालयका पाठ्यक्रमका लेक्चर भिडियो लिएर आयो ‘इ विद्या’

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ५ गते १३:०५

५ वैशाख, काठमाडौं । नेपालमै विकास भएको इ–लर्निङ एप ‘इ–विद्या’ले आफ्नो व्यावसायिक सुरुवात गरेको छ । एपमार्फत नै विश्वविद्यालयका कोर्सहरु भिडियोलाई ‘इ–क्लास रुम’का रुपमा राखेर ‘इ–विद्या’ले सेवा थालेको छ ।

इ–विद्याका संस्थापक हरि भट्टराईका अनुसार इ–विद्या एप्लिकेसनमा आधारित विद्युतीय सिकाइको डिजिटल मञ्च हो, जसका प्रयोगकर्ताहरूले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय तथा पूर्वाञ्चल विश्वविद्यालयका व्यवस्थापन संकायका साथै उच्च माध्यमिक शिक्षा अन्तर्गतका विभिन्न तहहरूको पाठ्यक्रममा आधारित सबै विषयहरूको पूर्ण रूपमा भिडियो सामग्रीहरू सुलभ मूल्यमा पाउँछन् ।

इ विद्यामा ७५ भन्दा बढी विषयहरूको २ हजारभन्दा बढी भिडियोहरू उपलब्ध छन् । ‘यो डिजिटल प्लाटफर्मले उत्साही विद्यार्थीहरू तथा पेशागत रुपमा व्यस्त व्यक्तिहरूलाई उनीहरूकै सजिलो एवम् सुविधा अनुसार दक्ष तथा अनुभवी शिक्षक तथा शिक्षाविद्हरू मार्फत अध्ययन–अध्यापन गराउने छ,’ संस्थापक भट्टराइ भन्छन् ।

भौगोलिक विविधताका कारण मुख्य समस्याको रूपमा धेरै विद्यार्थीहरू दक्ष शिक्षकहरूसँगको पहुँच र गुणस्तरीय पाठ्यसामाग्रीहरूको अभावमा रहेकाले सोही समस्या समाधान गर्न यो सेवको विकास गरिएको उनको भनाइ छ ।

‘पारिवारिक दायित्व र जिम्मेवारी पुरा गर्नुपर्ने बाध्यताले कतिपय व्यक्तिहरूले उच्च शिक्षा हासिल गर्न सास्ती भोग्छन्,’ उनी भन्छन्,‘ त्यसैकारण कसैले कलेज र क्याम्पस जान नपाएर कक्षा छुटाए पनि डिजिटल प्लाफर्मबाटै कक्षासरह नै घर–कार्यालयमै बसेर फुर्सदको समयमा कोर्सका भिडियोहरु हेर्न सुविधा ल्याएका हौं ।’

एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध भइसकेको इ–विद्यामा अनलाइन लगइन गरेर आफूलाई आवश्यक कोर्सहरु खरिद गर्न सकिन्छ । यसमा अफलाइन प्रसारण अर्थात् अफलाइनमा बसेर पनि भिडियो हेर्ने सुविधा छ । २४ घण्टे विद्यार्थी सहायता कक्ष स्थापना गरिएको छ भने विद्यार्थीहरुलाई यसको प्रभावकारिताबारे मूल्यांकन गर्न डेमो कक्षाको सुविधा पनि छ । फोन पे, इ–सेवा, खल्ती, एप्पल पे र बैंक भौचरमार्फत खरिद गरिएका कोर्सहरुको भुक्तानी गर्न सकिने छ ।

इ–विद्याले पाठ्यक्रममा आधारित विषयहरूको पूर्ण भिडियो लेक्चरहरू उपलब्ध गराउँछ । भिडियो लेक्चर हेरेर विद्यार्थीहरूमा उब्जिने जिज्ञाशाहरू समाधान गर्न निश्चित लाइभ कक्षा समेत उपलब्ध गराउँछ । विभिन्न विषयहरूको सम्पूर्ण भिडियो लेक्चरहरूसँग सम्बन्धित पावर पोइन्ट स्लाइड पनि विद्यार्थीले पाउनेछन् । विश्वविद्यालयले विगतमा सोधेका प्रश्नपत्रहरू, परीक्षाको पूर्व तयारीका निम्ति सम्पूर्ण विषयहरूको पाठ्यक्रमहरु र अन्तिम परीक्षा अगाडि आफूले खरिद गरेको विषयसँग सम्बन्धित प्राध्यापकसँग निःशुल्क प्रत्यक्ष अन्तरक्रियाको अवसर पनि विद्याले दिने छ ।

इ–विद्याले ३५ जनाभन्दा बढी चर्चित तथा निपुण प्राध्यापकहरूलाई समावेश गरी सम्बन्धित विषयहरूको भिडियो सामग्रीहरू निमार्ण गरेको छ । प्रा.डा. सुशिल भक्त माथेमा, प्रा.डा. अतिन्द्र दहाल, डा. एके चौधरी, डा. गोपाल थापा, रिजन ढकाल, डा. सुरेन्द्र महतो, प्रकाशकुमार गौतम लगायतले भिडियो लेक्चरर छन् ।

विकसित शहरहरूमा मात्र योग्य एवम् दक्ष शिक्षाविद्हरू वा शिक्षकहरू सहज उपलब्ध भएकाले सबैलाई समान खालको अवसर प्रदान गर्न इ–विद्या स्थापना भएको भट्टराईले बताए । आफ्नो कलेजभन्दा बाहिर सिकाइका अवसरहरू खोज्न समस्या हुने ,स्रोत तथा साधनहरूको कमी हुने, भर्ना दरको तुलनामा विद्यार्थीको उत्तीर्ण दर अति न्यून हुने समस्या समाधन गर्न पनि इ विद्याले सघाउने कम्पनीको विश्वास छ ।

सन् २०२२ मा कम्पनीले गरेको सर्वेक्षणका ७० देखि ८० प्रतिशत विद्यार्थीहरूलाई परीक्षा भन्दा अगाडि ट्युसन कक्षाहरू आवश्यकता पर्ने देखिएको थियो । यस्तै करिब २२ प्रतिशत विद्यार्थीहरू दक्ष शिक्षकहरू तथा गुणस्तरीय शैक्षिक सामग्रीहरूबाट वञ्चित भएको, प्रति वर्ष प्लस टु, बीबीएस र एमबीएसमा करिव ५३ प्रतिशत परिक्षार्थीहरू अनुत्तीर्ण हुने गरेको र विभिन्न तहमा भर्ना हुने विद्यार्थीहरू मध्ये ६० देखि ७० प्रतिशत विद्यार्थीहरूको रोजाइमा नेपाली माध्यम रहेपनि विद्यमान सिकाइका मञ्चहरूले अङ्ग्रेजी माध्यममा आधारित सामाग्रीहरूको मात्र पूर्ति गरेको अध्ययनले देखाएपछि समस्या समाधानका लागि यस्तो डिजिटल प्लाटर्फम तयार गरिएको संस्थापक भट्टराईले बताए ।

इ–विद्याका लागि ८ करोडभन्दा बढी लगानी गरिसकेको यो कम्पनीले भविष्यमा विद्युतीय सिकाइका अभ्यासलाई थप विस्तार गर्दै विद्यार्थीलाई सहज हुने गरी सेवा थप्ने योजना बनाएको छ । ‘दक्ष तथा अनुभवी शिक्षक तथा प्राध्यापकमार्फत शिक्षालाई राजधानीबाट देशका कुनाकाप्चामा तथा विदेशमा रहेका सबै विक्षार्थीहरू माझ उपलब्ध गराउनु हाम्रो मूल उद्देश्य हो,’ भट्टराई भन्छन्,‘ यसले गुणस्तरीय डिजिटल सामाग्रीलाई कक्षाकोठासरहको अनुभव प्रदान गराउँदै विद्यार्थी माझ पुर्‍याउने आकांक्षा राखेको छ ।’ इ–विद्याको प्रयास नवप्रवर्द्धनकारी कदममात्र नभएर शैक्षिक क्षेत्रमा व्यवस्थित परिवर्तन ल्याउँदै सबैमा शिक्षाको पहुँच तथा सामर्थ्यलाई अभिवृद्धि गर्ने आफैंमा एउटा क्रान्तिकारी वा गतिशील कदम भएको उनको भनाइ छ ।

योग्य शिक्षकहरूको क्षमतालाई विद्युतीय सिकाइको अनुभवमार्फत देशभर फैलाउँदै शिक्षण तथा सिकाइमा एकरुपता वा समानता ल्याउन यस्तो सेवाको सुरुवात गरिएको संस्थापक भट्टराईले बताए । विद्युतीय सिकाइले ल्याएका अवसरहरूलाई मध्यनजर गर्दै देशभर शैक्षिक गुणस्तरमा एकरुपता सिर्जना गर्ने नेतृत्वदायी संस्थाको रूपमा अगाडि बढ्ने अठोट लिइएको उनी बताउँछन् ।

कम्पनीले इ–विद्यामार्फत व्यावसायिक तालिम तथा व्यक्तित्व विकासका तालिमहरू दिने योजना पनि बनाएको छ । विदेशी विश्वविद्यालयहरूको सम्बन्धन प्राप्त गरेर दुर शिक्षाको सेवा प्रदान गर्ने र संस्थागत सामाजिक दायित्वअन्तर्गत विभिन्न विषयका प्रसिद्ध शिक्षकहरूसँग अनुबन्धित हुँदै सरकारी विद्यालयको कक्षा ६ देखि १० सम्मको सम्पूर्ण विषयहरूको भिडियो सामग्री निर्माण गर्ने योजना पनि इ–विद्याको छ ।

प्रत्येक कलेजको व्यवस्थापनसंकाय अन्तर्गत प्लास २ र स्नातक तहमा सर्वोकृष्ट अङ्क हासिल गर्ने विद्यार्थीहरू मध्येबाट ३/३ जनालाई त्यसभन्दा माथिको तहको अध्ययनमा इ–विद्याको कोर्षहरूमा कुनैपनि शुल्क नलाग्ने व्यवस्था पनि गरिंदैछ । प्रत्येक कलेजको व्यवस्थपन संकाय अन्तर्गतका स्नातकोत्तर तहमा सर्वोकृष्ट अंक हासिल गर्ने विद्यार्थीहरू मध्येबाट ३/३ जनालाई विना कुनै शुल्क करियर अभिवृद्धि एवम् विकास तालिम कार्यक्रम उपलब्ध गराउनुका साथै नवप्रवर्तन तथा जागिरका लागि सहजीकरण गरिने भट्टराईले बताए ।

इ–विद्या एप एक पटक डाउनलोड भएवापत राष्ट्रिय आविष्कार केन्द्रलाई एक रुपैयाँ प्रदान गर्ने आपसी समझदारी पनि भएको छ । ‘सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पनि निःशुल्क भिडियो कक्षा उपलब्ध गराउने हाम्रो योजना छ,’ इ–विद्याका संस्थापक भट्टराई भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?