
५ वैशाख, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तह खुलातर्फको दोस्रो पुनः म्याचिङको भर्ना सम्बन्धी कार्यक्रम स्थगित गरेको छ ।
आयोगले मेरिटोक्रेसी प्रणाली मिचेर भर्ना लिएको भन्दै परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि भर्ना रोकिएको छ ।
आयोगले चैत २६ गते पहिलो चरणको भर्ना पश्चात रिक्त हुन आएका सिटहरुमा दोस्रो चरणको पुनःम्याचिङको भर्ना सूची प्रकाशन गरेको थियो । आयोगको उक्त भर्ना सूची प्रकाशित भएलगत्तै विद्यार्थीहरु मेरिटोक्रेसी मिचेर आयोगले भर्ना लिएको भन्दै आन्दोलनरत छन् ।
उनीहरुले आयोगले निकालेको म्याचिङको भर्ना सूची अनुसार मेरिटोक्रेसी अनुसार एक नम्बरमा नाम निकालेको विद्यार्थी उक्त सिटमा भर्ना नभए स्वत दुई नम्बरमा नाम निकालेका विद्यार्थीले उक्त खाली भएको सिटमा भर्ना हुन पाउनुपर्ने माग राखिरहेका छन् ।
अघिल्लो पटक यसरी स्वत माथि सिट खाली भएमा त्यसमुनिकाले भर्ना हुन पाउने व्यवस्था थियो । तर यो वर्ष भने आयोगले अगाडिको सिट खाली भएमा त्यसमा भर्ना हुनको लागि मुनिको विद्यार्थीले कुरेर बस्नुपर्ने नियम बनाएर विद्यार्थीमाथि अन्याय गरेको विद्यार्थी निष्कर्ष रिजाल शर्मा बताउँछन् ।
आयोगले मेरिटोक्रेसीमा अगाडि नाम भएका व्यक्ति भर्ना नभए आफैं थाह पाएर भर्ना हुनुपर्ने र त्यसको लागि आफूले निकालेको सिटमा भर्ना नभएको हुनुपर्नेछ । यदि उक्त जोखिम मोलेर विद्यार्थीको प्राथमिकता अनुसारको सिट र कलेजमा खाली नभए एक वर्ष खेर जाने अन्यायपूर्ण अवस्था आयोगले सिर्जना गरेको उनीहरुको आरोप छ । विद्यार्थीको प्राथमिकता अनुसारको कलेज र सिट खाली भए नभएको विद्यार्थीले थाह पाउने किसिमको पारदर्शी नबनाएको उनीहरुको आरोप छ ।
प्रतिक्रिया 4