+
+

चैतमा वर्षकै सर्वाधिक आयात, झण्डै डेढ खर्ब विदेशियो

अच्युत पुरी अच्युत पुरी
२०८० वैशाख ६ गते १९:३०

६ वैशाख, काठमाडौं । नेपालले चैत महिनामा चालु आर्थिक वर्ष (आव) २०७९/८० को सबैभन्दा धेरै मात्रामा वस्तु आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार फागुन २०७९ को तुलनामा चैतमा १ खर्ब ४३ अर्ब १२ करोड ३४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

विभागका अनुसार चालु आवको ९ महिना (चैत मसान्त) सम्म कुल १२ खर्ब १ अर्ब ५० करोड रुपैयाँको वस्तु आयात भएको छ । फागुनसम्म १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

सरकारले मंसिर मसान्तसम्म कायम आयात प्रतिवन्ध १ पुस २०७९ देखि लागु हुने गरी हटाएको थियो । एलसी खोल्दा चाहिने नगद मार्जिनको प्रावधान ५ माघ २०७९ देखि हटाइएको थियो ।

सरकारले आयात प्रतिवन्धका कारण राजस्व खुम्चिएको भन्दै यी प्रतिबन्ध हटाएको थियो । यी प्रतिबन्धका कारण कमी आएको आयात माघपछि विस्तार हुन थालेको हो । चैतमा यसको बढी प्रभाव देखिएको छ ।

मंसिर महिनामा १ खर्ब ३१ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएकोमा पुसमा १ खर्ब २९ अर्ब रुपैयाँको मात्र भएको थियो । माघमा १ खर्ब २६ अर्ब रुपैयाँको मात्र वस्तु आयात भएको भन्सार विभागको तथ्यांक छ । फागुनमा भने आयात बढेर १ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको थियो । चैतको एक महिनाको अवधिमा १ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको विभागको तथ्यांक छ ।

कुन महिनामा कति रुपैयाँको वस्तु आयात ?

साउन : १ खर्ब ३१ अर्ब

भदौ : १ खर्ब ४२ अर्ब

असोज : १ खर्ब २७ अर्ब

कात्तिक : १ खर्ब ३२ अर्ब

मंसिर : १ खर्ब ३१ अर्ब

पुस : १ खर्ब २९ अर्ब

माघ : १ खर्ब २६ अर्ब

फागुन : १ खर्ब ३९ अर्ब

चैत : १ खर्ब ४३ अर्ब


आयात–निर्यात दुवै खुम्चिएको वर्ष व्यापार घाटा पनि कम

चैत मसान्तसम्म नेपालले कुल १३ खर्ब १९ अर्ब रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार गरेको छ । जसमा १२ खर्ब १ अर्ब रुपैयाँको वस्तु आयात गर्दा १ खर्ब १८ अर्ब रुपैयाँको निर्यात गरेको छ । जसले गर्दा व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड कायम भएको देखिन्छ ।

व्यापार घाटा गत आर्थिक वर्षको ९ महिनाको तुलनामा १७.०६ प्रतिशत कम हो । यसो हुनुमा आयात र निर्यात दुवैमा आएको संकुचन हो । आयात गत आवको यसै अवधिको तुलनामा १८.०८ प्रतिशतले खुम्चिएको छ । निर्यात २६.३४ प्रतिशत कम हो । कुल वैदेशिक व्यापारमा समेत १८.८९ प्रतिशतको संकुचन आएको हो ।

गत आवको यसै अवधिमा १४ खर्ब ६६ अर्ब ६६ करोडको आयात भएको थियो । निर्यात १ खर्ब ६० अर्ब रुपैयाँको हुँदा कुल वैदेशिक व्यापारको आकार १६ खर्ब २७ अर्ब २३ करोड पुगेको थियो । चैतसम्म नेपालको वैदेशिक व्यापरमा आयातको हिस्सा ९१.०४ रहँदा निर्यातको हिस्सा ८.९६ प्रतिशत छ । निर्यात घट्दा वैदेशिक व्यापारमा यसको योगदान समेत ९.१८ प्रतिशतले ओरालो लागेको छ ।

पेट्रोलियम पदार्थको आयातमा मात्र बाहिरियो २६१ अर्ब

चैत मसान्तसम्म नेपालले पेट्रोलियम पदार्थको आयातमा मात्र २ खर्ब ६१ अर्ब रुपैयाँ विदेश पठाएको छ । यसमा नेपाललाई शतप्रतिशत व्यापार घाटा छ । स्टील र आइरनको आयातमा यो अवधिमा १ खर्ब रुपैयाँ विदेशिएको छ । यस अवधिमा नेपालले सोही प्रकृतिका वस्तुको निर्यात ७ अर्ब ३० करोड रुपैयाँ बराबरको गरेको छ ।

९ महिनामा ३६ अर्ब ४४ करोड रुपैयाँ बराबरको सवारी साधन तथा यसको पार्टपूर्जाको आयात भएको तथ्यांक छ । २५ अर्ब २५ करोड रुपैयाँ बराबरको तरकारीजन्य वस्तु आयात भएको छ । ९ महिनामा विद्युतीय उपकरण र यसको पार्टपूर्जा आयातमा ७३ अर्ब ६७ करोड रुपैयाँ विदेशिएको छ । नेपालबाट ९ अर्बको कार्पेट निर्यात भएको छ । आयातबाट नेपालले २ खर्ब ७६ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ ।

भारतसँग आधा भन्दा ठूलो व्यापार

नेपाल र भारतबीच नेपालका लागि सबैभन्दा ठूलो वैदेशिक व्यापार हुने गर्छ । आयात र निर्यात दुबैमा भारतसँग नेपालले धेरै व्यापार गर्छ । यो ९ महिनामा भारतबाट ७ खर्ब ५३ अर्ब रुपैयाँको वस्तु आयात हुँदा ८२ अर्ब ९८ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । भारतसँग नेपालको व्यापार ६ खर्ब ७० अर्ब रुपैयाँले घाटामा रहेको छ । चीनसँग १ खर्ब ६२ अर्बको आयात भएकोमा निर्यात भने मात्र ६३ करोड रुपैयाँको मात्र भएको छ । अमेरिकाबाट १४ अर्ब ४७ करोडको वस्तु आयात भएकोमा १३ अर्ब ९० करोडको निर्यात भएको छ । जसले गर्दा तुलनात्मक रुपमा अमेरिकासँगको व्यापार कम घाटामा देखिन्छ । नेपालले १६३ भन्दा धेरै मुलुकसँग वैदेशिक व्यापार गर्ने तथ्यांकमा देखिएको छ ।

चालु आवको ९ महिनाको वैदेशिक व्यापार

  • आयात : १२ खर्ब १ अर्ब ५० करोड
  • निर्यात : १ खर्ब १८ अर्ब २७ करोड
  • व्यापार घाटा : १० खर्ब ८३ अर्ब २२ करोड
  • कुल वैदेशिक व्यापार : १३ खर्ब १९ अर्ब ७८ करोड
  • कुल व्यापारमा आयातको हिस्सा : ९१.०४ प्रतिशत
  • कुल व्यापारमा निर्यातको हिस्सा : ८.९६ प्रतिशत
लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?