+
+
यात्रा संस्मरण :

विकास कुरिरहेको डाँडापाखा डुल्दा …

रोल्वालिङ खोला ओरालो लागिरहेथ्यो, म उकालो। कहिले नजिक, कहिले टाढा। तैपनि हिजोदेखि म सँगसँगै थिएँ। फेदमा खोला बगे पनि डाँडाहरू उराठलाग्दा थिए, सबै स्रोत र साधन भएर पनि हरितन्नम भएको देशजस्तै !

अर्जुन अपवाद अर्जुन अपवाद
२०८० वैशाख ९ गते २०:०७

फुल्न लागेको चुत्रोको मिठो वासना आइरहेको थियो। भीर छिचोल्ने उकालो बाटो चढ्दा मेरा गोडा बाउँडिए। म विलखबन्दमा परें। अगाडि जान शरीरले देला जस्तो छैन। कम्तीमा ३ दिन त हिंड्नु नै छ। मुख्य कुरा गोडा नै नचले के गर्ने ?

एउटा मक्किएको लौरो भेटें। त्यो टेक्न खासै काम लाग्ने त थिएन। तैपनि टुप्पोसम्म पुग्न मलाई अरु सहारा पनि त थिएन नि! टुप्पोमा रहेको बौद्ध मानेसम्म त पुग्नु नै थियो। टाढा पारिपट्टि तिनै ढुंगा बोक्ने मानिसहरू देखिए।

टुप्पामा पुगेर मैले चाउचाउ र धाराको पानी खाएँ। खुट्टा मसाज गरेपछि अलि राहत महसुस भयो। मैले अर्को एउटा गुराँसको लौरो बनाएँ, पहिलाको भन्दा अलि राम्रो। त्यसपछि जंगलको बाटो तेर्सिएँ जहाँ मैले हाँगो भाँचेर अलि बलियो लौरो बनाएँ।

फोनमा श्रीमतीजीको गुनासो थियो, ‘के रुखको मात्रै फोटो राखेको, मान्छेको राख्नु नि !’ ओरालो सकिएपछि रिगुतिर जाने पुलनिर पुगेपछि म एकछिन अलमलिएँ। अगाडि जाने बाटोबारे कुनै संकेत थिएन। त्यहाँबाट हेर्दा नदी पारि जाने बाटो त्यत्ति राम्रो थिएन। वारिको बाटो भने राम्रो थियो। च्छो रोल्पा पुगुन्जेलको बाटो ठूलै लगानीमा बनाइएको थियो। यसका कारण पनि नदीवारिकै बाटो सही हो भन्ने मैले अनुमान गरें।

अलिकति माथितिर चौतारीमा आराम गर्दै एउटा सेल्फी खिचें। इन्टरनेटले राम्रै काम गरिरहेकोले श्रीमतीजीको गुनासो सम्बोधन गर्दै फेसबुकमा अपलोड गरें।

अलिक अगाडि पाइपबाट पानी ल्याएर चलाइएको एउटा घट्ट रहेछ। अगाडि बढ्दा सिस्नो देखेपछि मैले मानिस बसेको अनुमान गरें। एउटा गोठ रहेछ। कुकुर बेस्करी भुक्यो। नजिकै रहेको पाइपको पानी पिएँ। गोठमा कोही छन् कि भनेर बोलाएँ। कोही बोलेन। अलिक माथितिर एकजना मानिस देखिए। उनी पनि बोलेनन्। तर पनि गोठमा दूध पाइन्छ कि भनेर सोधें। उनले संकेतमै छैन भने। नजिक उनलाई देखेपछि मैले स्वस्थानीको शिवशर्मा ब्राह्मण सम्झिएँ। उनले केही दिएकै भए पनि म खान सक्थें वा सक्दिनथें।

अलिक माथि खोला तरेपछि निगालोको जंगल रहेछ। उकालो चढ्दै गर्दा मनमा कुरा खेलिरह्यो। जंगलका बीचमा एक्लै हुँदा पनि मान्छे जीविका गरेकै छ ! अगाडि बढ्दा निगालोहरू सुक्नै लागेका थिए। पारिपट्टि रिगु गाउँमा भने हरियाली देखियो।

उत्तिसे पुग्दा दुई बज्नै लागेको थियो। त्यहाँ एउटा ताला लागेको कटेरो भेटियो। यो पर्यटन आउने सिजन थिएन। यसै जंगलमा को बसोस्, किन बसोस् ?

म जाने बाटैबाटो बिजुलीको पोल थियो। पोलमा प्लाष्टिक कोटेड तार थियो। तारहरू राम्रोसँग टाँगिएको थिएन। जंगलमा रुखहरू तारले छोएको थियो। प्लाष्टिक कोटेड तार भएका कारण त्यस्तो भएको हुन सक्छ।

सुर्मुचे: फर्कँदै राम्रो हुन्छ !

सुर्मुचे लेखेको बोर्ड देखियो। यो २ हजार ४७० मिटरको उचाइमा थियो। घडीमा सवा तीन बजेको थियो। घना जंगलमा म एक्लै थिएँ। कतैकतै चराहरू कराएका सुनिन्थे। बाँदरहरू उफ्रिरहेको खस्याकखुसुक सुन्दै अघि बढिरहें।

सुर्मुचेमा आचार्य सरको होटलमा पुगें। होटलमा ताला नलागे पनि मान्छे थिएनन्। माथितिर दाउरा चिरेको आवाज सुनें।

मैले बोलाएको आवाज पछ्याउँदै घरको माथिल्लो भागबाट एकजना महिला देखा परिन्। मैले कालो चिया र दूध छुट्टाछ्ट्टै मागें। यसबीचमा मैले ‘म मकरध्वज’का केही पानाहरू सकाएँ। उनले भेडीगोठमा दुःख पाएको कुरा लेखेका रहेछन्। आफ्नै रहरले त्यो भएको थियो। लाग्यो रहर गरेरै दुःख पाउने स्वभाव त एकै पाराको रहेछ।
त्यही बेलामा दाउरा काट्दै गरेको टोली फर्कियो। मैले सोधें, ‘हिउँ पर्ला र ?’

उनीहरूमध्ये एकजनाले आकाशतिर हेर्दै भने, ‘तपाईं ताल घुमेर नआइ यो सालको हिउँ पर्दैन।’

गाउँ छाडेर खोला कट्नासाथ भेटिए मैतिर आइरहेका युवा र युवती। मैले उनीहरूलाई तालमा जान लागेको जानकारी दिएँ। उनीहरूले माथि कोही पनि नरहेको हुँदा सुर्मुचेमै रहन उचित भएको बताए। मैले कसैलाई खबर गरिदिन आग्रह गरें। उनीहरूले उता बत्ती र फोन बिग्रिएको १० दिन भइसकेको जानकारी दिएपछि म सुर्मुचेमै बस्ने गरेर फर्किएँ।

मैले गौरीशंकर गाउँपालिकाका रोजगार संयोजक देवराम बुढाथोकीलाई फोन गरें। उनले त्यो होटल चलाउने मानिस बेदिङकै शिक्षक भएको र उनले आवश्यक सहजीकरण गरिदिने बताए। अघि मलाई हिउँ पर्दैन भनेर जवाफ दिने तिनै शिक्षक रहेछन्- बोलेन्द्र आचार्य। वडाध्यक्षले भने फोन उठाएनन्।

बोलेन्द्र सरले दाउरा काट्नका लागि टासिनामबाट मानिसहरू ल्याएका रहेछन्। उनीहरू बेलुका भएपछि क्यारेम खेल्न लागे। खेलमा बाजी परेको रहेछ। एकजनाले मसँग २०० रूपैयाँ सापटी मागे। अँध्यारो बढ्दै गयो। उनीहरूको खेल सकिएन। बरु उनीहरूले मोबाइल बालेर खेललाई निरन्तरता दिए। सानामा क्यारेम खेल्न तख्ती जोडेर बोर्ड बनाएको र प्लाष्टिक पगालेर गोटी बनाएको सम्झें। पग्लेको प्लाष्टिक कहिलेकाहीं हातमा पनि पर्थ्यो। त्यसले घाउ पनि बनाउँथ्यो। होटल साहु आचार्य सरसँग यी सम्झना पनि बाँडें।

अघि चिया खुवाउने शेर्पा युवती आचार्य सरको श्रीमती रहिछन्। उनले मलाई यो बेला अफसिजन भएको र अगाडिको यात्रामा दुःख पाइने कुरा सुनाइन्। उनले भनिन्, ‘अहिले फर्कनुस् १ हप्तापछि आउनुस्।’

मैले उनको कुरामा ध्यानै दिइनँ। बरु आचार्य सरसँग राजनीतिक कुराकानी गरें। देश बनाउने सवाल छाड्न त कहाँ मिल्यो र !

तेस्रो दिन (२०७९ फागुन ९)

बिहान उठ्दा गौरीशंकर राम्रोसँग खुलेको थियो। मैले केही फोटोहरू खिचें। होटलमा कामदारहरूलाई बिहानै खाजा खुवाउने तयारी थियो। मैले उनीहरूसँगै चिउरा र तरकारी खाएँ।

झोलामा केही खानेकुरा थिएन। पसलमा चिउरा थोरै रहेछ। त्यो आफैंलाई चाहिने भनेपछि मैले केही बिस्कुट किनें। अन्तिम हिसाब गर्ने बेलामा फेरि साहुनीले भनिन्, ‘सर यो अफसिजन हो दुःख पाउनुहोला। अस्ति भक्तपुरतिरका मानिसहरूले बस्ने ठाउँ नपाएर ओडारमा सुत्नु परेछ।’

उनले भनेको कुरा अविश्वसनीय थिएन। हिजो मलाई बाटोमा फर्काउनेले पनि त्यही कुरा गरेका थिए। मलाई लाग्यो हिंडेको मानिस फर्कनुहुन्न।

बिहानको ८ बजेतिर म होटल छाडेर अगाडि लागें। त्यो दिन मलाई बेदिङ पुग्नु थियो। बाटोमा रहेको सूचनाअनुसार सुर्मुचेबाट बेदिङ पुग्न झण्डै १५ किलोमिटर यात्रा गर्नुपर्ने थियो। त्यो ठाउँ सुर्मुचेबाट ८ घण्टाको दूरीमा थियो। सुर्मुचेभन्दा म करिब १३०० मिटर उचाइमा पुग्नुपर्ने थियो।

अगाडिको बाटोमा बाक्लो जंगल थियो। च्छो रोल्पासम्म खनिएको बाटोको लागत ३ करोड जति रहेको मलाई आचार्यले बताएका थिए। उनका अनुसार केन्द्रीय प्रसारण लाइन बेदिङसम्मै पुर्याकइएको थियो। हिउँ पर्दा भने हाँगा भाँचिएर विद्युत बेला बेला अवरुद्ध हुने गर्दछ।

सवा ८ बजेतिर म केटाङ खोलामा पुगेँ। खोलामा झोलुङ्गे पुल थियो। खोलामा पानी धेरै थिएन। यो सुख्खा समय भएको हुनाले खोला सानो हुनु स्वाभाविक थियो। यस वर्ष त फागुनको पहिलो हप्तासम्म पानी नै परेको थिएन। वर्षामा यो खोलाले कति सुन्दर झरनाको रूप लिन्छ होला। माथिबाट झरेको पानी पटकपटक बीचमा ठोकिएर फेरि झर्दा त्यसमा कति सुन्दरता भरिन्छ होला ?

पारिपट्टि एकदमै ठाडो भीर र त्यसको अन्तमा रोल्वालिङ खोला। मलाई पुग्नुपर्ने यही खोला सुरु हुने च्छोरोल्पा ताल। त्यसको छेउछाउका हिमालमा बिहानको घाम पर्न लागेको थियो। मैले अलिक अगाडि एउटा चौरजस्तो ठाउँमा एउटा घरको नजिकमा उभिएर हिमालको तस्विर खिचें। छेउमा लोक्ता फुल्न लागेका थिए। यसकै बोक्राबाट नेपाली कागज बनाइन्छ। दोलखामा केही वर्षअगाडि एक गाउँ एक उत्पादन अन्तर्गत लोक्ताको कार्यक्रम चलाइएको थियो। कार्यक्रम सकियो। लोक्ताबाटै जिल्लाले छलाङ मार्ने गफ पनि सकियो।

९ बज्दा म बहुला खोलामा पुगेको थिएँ। बहुला खोलामा १ थोपा पनि पानी थिएन। वर्षायाममा अनुमानै गर्न नसकिने गरेर खोलामा बाढी आउने भएका कारण यसको नाम बहुला राखिएको होला। यो पुल तर्नका लागि अलिकति ओरालो ओर्लनुपरेको थियो। खोलाबाट २० मिनेटको यात्रामा म क्याल्चे पुगें। बाटामा धेरै ठाउँमा पानीका मूलहरू थिए। चिसो हुनाले पानी खाइहाल्न आँट गरिनँ।

क्याल्चेमा मैले सूर्यको दर्शन पाएको थिएँ। म डिलमा बसेर आँखा चिम्लेर घाम ताप्न लागेँ। रिगु गाउँ निकै पर देखिन्थ्यो। त्यहाँबाट मानिस त्यहाँ मात्रै छन् भन्ने आभास दिन्थ्यो।

म आँखा चिम्लेकै बेलामा २ जना कुरा गर्दै अगाडि गए। घामको न्यानोमा मलाई आँखा खोल्न जाँगर चलेन। सुर्मुचेबाट यो ठाउँ ३४० मिटर अग्लो ठाउँमा रहेको बाटो छेउको बोर्डमा देखिएको थियो। अब अर्को मानिस भएको ठाउँ डोगाङ पुग्न डेढ किलोमिटरभन्दा बढी यात्रा गर्नुपर्ने थियो।

यहाँसम्म मोबाइलको टावर रहेछ। घाम ताप्दै गर्दा फोन आएको थियो। मैले उठाउन जाँगर गरिनँ। पछि हेर्दा मिस्ड कलमा रिताजी देखियो। श्रीमतीजीको फोन फर्काएँ। त्यसैबेला हिजो भेट्नेहरूले गलत कुरा गरेछन् जस्तो लाग्यो। उनीहरूले भनेका थिए क्याल्चेदेखि उता फोन र बत्ती नभएको कम्तीमा १० दिन भो।

क्याल्चेमा एउटा ताला लागेको होटल थियो। होटलकै छेउमा टुटी नभएको धारा थियो। मैले बोत्तलमा पानी भरें।

क्याल्चेबाट अगाडि बढेपछि मैले गुराँस फुलेको भेटें। गुरास एक थुँगा टिपेर खाएँ। मेरो घरमुनि पनि गुराँसको ठूलै रुख थियो। पछि गाउँमा सडक आउँदा त्यो बाटैमा परेर उखेलियो। त्यो गुराँस खाइदिन्छु भनेर म र कुमार काँडा ल्याएर बोट बार्थ्यौं। यही गुराँस खाइदिएका निहुँमा बाल्यकालका धेरै साथीहरूसँग झगडा नै परेको थियो। त्यो गुराँस त अति नै मिठो थियो। यो भने त्यति मिठो लागेन। बालापन मिठो थियो कि गुराँस ?

अलिक अगाडि बाटोभरि बरफ थियो। हिउँ त परेको थिएन। तलतिर पानी नपरी लेकमा हिउँ पर्दैन। यसो माथितिर हेर्दा माथिबाट खसेको पानी खस्दाखस्दै जमेको रहेछ।
डोगाङ रोल्वालिङ खोलाको किनारैमा थियो। क्याल्चे डाँडामा। क्याल्चेबाट यो ठाउँ २० मिटर गहिराइमा थियो। त्यसै त्यहाँ पुग्न तेर्सै तेर्सो हिंडेर ओरालो लाग्नुपर्ने थियो। क्याल्चेबाट मोबाइलमा टावर हरायो। अब मोबाइल क्यामेरा मात्रै बन्यो।

डोगाङ नपुग्दै अर्को झरना भेटियो। यो पनि यस बेला त्यत्ति गज्जब देखिएको थिएन। वर्षामा यो कस्तो देखिएला। मैले गज्जबको अनुमान गरें। यो झरना हेर्दै गर्दा २ जना मानिस भेटिए। उनीहरू बेदिङ पुगेर फर्किएका रहेछन्, विद्यालयको सामान पुर्यािएर। उनीहरूसँग कुरा हुँदा बेदिङमा बास पाइन्छ भन्नेमा विश्वास भो। ‘जुन घरमा धुवाँ आउँछ त्यही घरमा गएर बास माग्नु बास पाइन्छ’, उनीहरूले भने।

डोगाङमा एउटा हावाको दिशा पहिल्याउने यन्त्र घुमिरहेको थियो। घाम लागेको हुनाले मैले बोत्तल घाममा राखें। त्यो पानी एकैछिन भए पनि तात्ला भन्ने आश थियो। त्यतिन्जेल मैले प्रजातन्त्र दिवसमा कान्तिपुरले प्रकाशन गरेको विशेषाङ्कका केही कथाहरू पढेँ।

सँगसँगै मैले ‘म मकरध्वज’का केही पानाहरू पढें। पानी अलिकति तातेपछि पिएँ र पुनः पानी बोत्तलभरी बनाएँ। त्यहाँ बाहिर बनाइएको काठको कुर्सीमा बसें। यही होटलका सञ्चालकहरू मैले हिजो सुर्मुचेमा भेटेको थिएँ। नत्र म यहाँ हिजै बास बस्न आइपुग्ने थिएँ।

बाटोमा हिंड्दै गर्दा पानी तताउन मैले उपाय निकालेको थिएँ। झोला र ढाडको बीचमा पानीको बोत्तल राख्ने। हिंड्दै गर्दा त्यो धेरैथोरै तातो हुन्थ्यो।

डोगाङमा ह्विल ब्यारोहरूमा काठका थप पाङ्ग्रा जोडिएका थिए। रबरको पाङ्ग्रा लामो समयसम्म टिकाउनका लागि यसो गरिएको हुनुपर्छ। रमाइलो लाग्यो र फोटो लिएँ।
जंगलको बाटो हिंड्नु मेरो दैनिकी थियो। घरहरू देखिनु भनेको आक्कलझुक्कल मात्रै देखिन्थे। जंगल प्रकृति हो। प्रकृति अनेकन् रहस्यले भरिएको छ। एउटा रुखको फेद बसेको जनावर जस्तै देखियो। मैले फोटो खिचें। त्योभन्दा अगाडि बिजुलीको तार लत्रिएको पाएँ। तार नाघेर अलिकति अगाडि पुगेपछि रुखहरू ढलिरहेको भेटें। यिनै रुखहरूले तार बिगारिदिएका कारण डोगाङ र क्याल्चेमा बिजुली नभएको हो। बेदिङमा पनि बिजुली छैन भन्ने मैले हिजै जानकारी पाएको थिएँ।

तिनछाँगे खोलामा पुग्दा साढे ११ बजेको थियो। त्यहाँ तीनभन्दा धेरै छाँगा थिए। कुनै समय यहाँ तीनवटै छाँगा थिए होलान्। दोलखा छाडेपछि स्वीस सरकारले यो बाटो बनाइदिएको रहेछ। खोलामा बनाइएको पुल ३ वर्षअघि झण्डै २५ लाखमा निर्माण गरिएको रहेछ। यो सूचना भएको बोर्ड भने च्यातिन च्यातिन लागेको थियो।

अलिकति अगाडि एउटा ओडार देखियो। ओडारमा आगो पनि बालेको देखेपछि कोही छ कि भनेर हेर्न गएँ। मानिसहरू सोत्तर ओछ्याएर सुतेको जस्तो देखिन्थ्यो। डोगाङमा घर नहुँदा सायद मानिसहरू यतै बस्थे होलान्। बेदिङ लैजाने लाइन टाँग्ने काम हुँदा पनि मानिस सायद यतै बसे होलान्। वा मजस्तै एक्लै हिंडेकाहरू पनि रात पर्दा यतै रात काट्थे कि !

पारिपट्टि पहराहरूमा पानी बगेको दाग मात्रै देखिन्थ्यो। वर्षातको समयमा यी पक्कै सुन्दर झरनाहरूको रूपमा देखिंदा हुन्। ती कत्ति त कैद भएका होलान्।

ठेमलुङमा पुग्दा १२ बजेको थियो। म हिंडेको ४ घण्टा। यहाँ निर्माण गरिएको झोलुङ्गे पुल कामै नलाग्ने गरी भत्किएको थियो। यहाँको उचाइ ३ हजार ७० मिटर रहेको भत्किएको पुलको मुखैमा राखेको सूचनापार्टीमा उल्लेख थियो। सायद यो सडकको छेउमा भएको भए समयमै पुनर्निर्माण भएको हुन सक्थ्यो। अथवा यसमा प्रयोग भएका धातुजन्य सामग्री बिक्रीवितरण भइसकेका हुनेथिए। यो मात्रै कहाँ प्लाष्टिक कोटेड गरिएको बाटाका छेउका असरल्ल तारहरू पनि यसै के भेटिन्थ्यो होला र !

रोल्वालिङ खोला ओरालो लागिरहेथ्यो। म उकालो। कहिले नजिक, कहिले टाढा। तैपनि हिजोदेखि म सँगसँगै थिएँ। फेदमा खोला बगे पनि डाँडाहरू उराठलाग्दा थिए, सबै स्रोत र साधन भएर पनि हरितन्नम भएको देशजस्तै !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?