+
+
Shares

रिलायन्स स्पिनिङ मिल्सको नाफा करिब २७ करोड, प्रतिसेयर नेटवर्थ ५ सय नजिक

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते ११:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रिलायन्स स्पिनिङ मिल्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा २६ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
  • कम्पनीको तेस्रो त्रैमाससम्म कुल आम्दानी ७ अर्ब ४६ करोड ४ लाख रुपैयाँ पुगेको छ।
  • रिलायन्सले नेपालमा धागो उत्पादन गरी भारत र टर्कीमा वार्षिक ५ करोड अमेरिकी डलर बराबर निर्यात गर्दै आएको छ।

२३ वैशाख, काठमाडौं । गत फागुनमा नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचीकरण भएको रिलायन्स स्पिनिङ मिल्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले यस अवधिमा २६ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

नेप्सेमा सूचीकरण हुनुभन्दा पहिले दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा १३ करोड ७४ लाख ३५ हजार ४१४ रुपैयाँ थियो । उक्त अवधिमा कम्पनीको सञ्चालन नाफा ५३ करोड ४९ लाख ८७ हजार ९२८ रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म कुल आम्दानी ७ अर्ब ४६ करोड ४ लाख रुपैयाँ रहेको छ ।

सञ्चालन नाफा ३२ करोड ९८ लाख ४८ हजार ३४५ रुपैयाँ र कुल आम्दानी ४ अर्ब ७९ करोड २ लाख ९१ हजार १६३ रुपैयाँ रहेको थियो ।

प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ पनि बढेको छ । तेस्रो त्रैमासमा प्रतिसेयर आम्दानी २०.४२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ४९७.३७ रुपैयाँ पुगेको छ । दोस्रो त्रैमासमा प्रतिसेयर आम्दानी १६.०८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ४९०.५४ रुपैयाँ थियो ।

सूचीकरण हुँदा नेप्सेले अधिकतम ३ सय रुपैयाँ ओपनिङ रेन्ज तोकेको रिलायन्सको सेयर मूल्य कारोबारका क्रममा अधिकतम ५ हजार ४९ रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ ।

३४ कारोबार दिनमा ८ लाख १५ हजार ४४७ कित्ता सेयर कारोबार भएको छ । रिलायन्सको सेयर कारोबारमा देखिएको सकारात्मक सूचकले कम्पनीमा आवद्ध करिब २२ हजार लगानीकर्ता उत्साही छन् ।

बुक बिल्डिङ विधिमार्फत प्रतिकित्ता ८२०.८० रुपैयाँका दरले कम्पनीले आईपीओ निष्कासन गरेको थियो । न्यूनतम ५० कित्ताका दरले लगानीकर्ताले रिलायन्सको आईपीओमा ४१ हजार ४० रुपैयाँ हालेका थिए । सेयरको मूल्य अधिकतम ५ हजार ४९ रुपैयाँ पुग्दा एक जना लगानीकर्ताले लगानी कटाएर २ लाख ११ हजार ४१० रुपैयाँसम्म कमाउन सफल भएका छन् ।

रिलायन्सले नेपालमा धागो उत्पादन गरी निर्यात समेत गर्दै आएको कम्पनी हो । कम्पनीको सेयर पूँजी १ अर्ब ९० करोड रुपैयाँ रहेको छ । कम्पनीमा २१ हजार ८०७ जना सेयरधनी रहेका छन् । कम्पनीमा ४ हजारभन्दा बढी जनशक्ति कार्यरत रहेका छन् । मजदुरमैत्री पहिचान बनाएको रिलायन्समा करिब १ हजार ३ सय महिला छन् ।

तीन दसकअघि स्थापित रिलायन्स स्पिनिङ मिल्सले सुनसरीको दुहबी र खनारमा रहेका उद्योगमार्फत कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्सचर्ड यार्न उत्पादन गर्दै आएको छ । उद्योगका उत्पादनहरु नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुने गरेका छन् । वार्षिक ५ करोड अमेरिकी डलर बराबरको निर्यात हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?