+
+

एआईले गीत गाउन थालेपछि चिन्तित छ बेलायतको संगीत उद्योग

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १० गते १२:४०

काठमाडौं । युनिभर्सल म्युजिक ग्रुपले स्पटीफाई जस्ता संगीत स्ट्रिमिङ्ग सर्भिसहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बट्सबाट नयाँ गीत सिर्जना गर्ने तालिम दिने डेभलपर्सहरुको काम रोक्नका लागि आग्रह गरेको छ ।

रेकर्डेड म्युजिक उद्योगको करीब एक तिहाइ हिस्सा ओगटेको द लेबल कम्पनीले पनि आर्टिफिसियल इन्टेलिजेन्सबाट तयार गरी अनलाइनमा राखिएका गीतसंगीतहरु हटाउने सम्बन्धी उल्लेख्य संख्यामा अनुरोधहरु जारी गरिरहेको छ ।

आफ्ना गीतससंगीतलाई आर्टिफिसियल इन्टेलिजेन्सले विना अनुमति तथा लाइसेन्स प्रयोग गर्ने कार्य रोक्नका लागि संगीत उद्योगले गरिरहेको संघर्षको यो पछिल्लो उदाहरण हो । प्रतिलिपि अधिकार कार्यान्वयन गर्ने यो प्रयासको पछाडि मानिसको सिर्जनशीलता र आर्टिफिसियल इन्टेलिजेन्सको अधिकारबीच सरकारहरुले कसरी सन्तुलन मिलाउँछन् भन्ने ठूलो चिन्ता लुकेको छ ।

वास्तवमा बेलायत सरकारले प्रविधि कम्पनीहरुलाई फाइदा पुग्नेगरी प्रतिलिपि अधिकारलाई खुकुलो बनाउने चेतावनी दिइरहेको छ र यसले केवल संगीत उद्योगलाई मात्र होइन साहित्य, चलचित्र तथा फोटोग्राफी जस्ता सिर्जनात्मक व्यवसायमा पनि असर पर्नेछ । आखिर के भइरहेको हो यस्तो ?

एआई संगीत र प्रतिलिपि अधिकार

Mubert जस्ता रोयल्टीमुक्त संगीत सिर्जना गर्ने प्लाटफर्ममा अहिले पनि केवल टाइप गरेको भरमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगबाट विभिन्न गीतसंगीतका अभिलेख खोजेर संगीतको ढाँचा तयार गर्न सकिन्छ । यसमा तपाईंले fast voodoo rhythm in the style of a nursery rhyme with some pretty electronics टाइप गरेर कमान्ड दिनुभयो भने यसले सम्बन्धित गीतका भागहरु कपी गर्दछ र मिल्दो संगीत सिर्जना गर्दछ । साथै तपाईंले कुनै निश्चित कलाकारको जस्तै सुनिने संगीत सिर्जना गर्न सक्नुहुन्छ र यसरी सिर्जना गरिएका ट्रयाकहरु डाउनलोड गर्न सकिन्छ ।

मुबर्टले आफू सर्जकहरुको सशक्तीकरणको विश्व्यापी अभियानमा रहेको दाबी गर्दछ । Mubert ले आफ्ना अडियो संगीत सामग्रीहरु  वास्तविक संगीतकार तथा प्रोड्युसरबाट तयार पारिएकोमा जोड दिनेमात्र होइन कुनै पनि संगीतमा मानव सर्जकबाटै मूल्य सिर्जना हुने कुरालाई मान्यता दिएको छ । तर कुनै मानवीय सर्जकलाई उनीहरुको संगीतको रोयल्टी नतिरिकन कसरी सर्जकको सशक्तीकरण हुन्छ ? भन्ने प्रश्न टड्कारो छ ।

संगीत प्रतिलिपि अधिकारद्वारा सुरक्षित हुन्छ र कुनै पनि संगीत पुनः प्रयोग गर्न चाहनेले शुल्क तिर्नुपर्दछ । यसले प्रतिलिपि अधिकार धारक तथा सर्जकहरुले आफ्नो सिर्जनाको उपयुक्त मूल्य पाइरहेका छन् भन्ने सुनिश्चित गर्दछ । उदाहरणका लागि स्पटीफाइले आफ्नो प्लाटफर्ममा कुनै संगीत राख्नका लागि कलाकारलाई तथा धून रेकर्ड गनका लागि लाइसेन्सकर्तालाई पनि शुल्क तिरेको हुन्छ । आफ्ना ग्राहकका अरुका गीतका ट्रयाक प्रयोग गरेर बजाउने जो कोही प्रयोगकर्ताको हकमा यो लागु हुन्छ ।

यदि आर्टिफिसियल इन्टेलिजेन्स प्रोग्रामहरुले सर्जकका संगीतहरुलाई अनुमति विना नै प्रयोग गरिरहेको छ भने यसले कम्तिमा दुई तरिकाबाट सांगीतिक अधिकार हनन गरेको हुन्छ । पहिलो चाहिँ आर्टिफिसियल इन्टेलिजेन्सलाई तालिम दिनका लागि कुनै संगीतको प्रयोग गरेर र दोस्रो चाहिँ तालिमको डाटाबाट एआईले उत्पादन गरेको संगीतको कुनै भागलाई कपी गरेर ।

यदि स्ट्रिमिङ प्लाटफर्महरुले त्यस्ता गैरकानूनी गतिविधिहरुलाई सहजीकरण गर्ने हो भने  ती प्लाटफर्महरु समेत प्रतिलिपि अधिकारको उल्लंघनमा दोस्रो तहमा दोषी ठहर हुन्छन् । यसलाई पाइरेट बे जस्ता गैरकानूनी डाउनलोडिङ प्लाटफर्मसँग तुलना गर्न सकिन्छ ।

तर दुर्भाग्यवस बेलायत सरकारले भने प्रविधि कम्पनीहरुलाई नै फाइदा पुग्नेगरी प्रतिलिपि अधिकार सम्बन्धी नियममा परिवर्तन गर्ने प्रस्ताव ल्याएर पानी धमिल्याउने काम गरिरहेको छ । केही महिनाअघि सरकारले ट्रेनिङ डाटाको रुपमा म्युजिक क्याटालगलाई प्रयोग गर्न सकिने खालको अवधारणा सार्वजनिक गरेको थियो, जुन माथि उल्लेख भएको पहिलो प्रकारको प्रतिलिपि अधिकार उल्लंघन हो ।

हुनत बेलायतमा आलोचना, समीक्षा तथा कुनै भनाइहरुलाई पुनः प्रयोग गर्नका लागि अनुमति लिनु नपर्ने व्यवस्था छ र त्यो प्रतिलिपि अधिकार सम्बन्धी विश्वव्यापी व्यवस्थाभन्दा अपवाद हो । तर सरकारले यदि थप नयाँ अपवाद सिर्जना गर्न चाहन्छ भने प्रतिलिपि अधिकार सम्बन्धी बर्न महासन्धिको पालना गर्नुपर्दछ ।

विश्वका सरकार तथा विश्व बौद्धिक सम्पत्ति अधिकार संगठन जस्ता अन्तराष्ट्रिय संस्थाहरुले सम्बन्धित कानूनहरुलाई कसरी आर्टिफिसियल इन्टेलिजेन्ससँग अनुकूलित हुनेगरी मिलाउने भन्ने विषयमा मन्थन गरिरहेको बेला बेलायतमा सरकारले पछिल्लो विवादित कदम अगाडि सारेको हो । हुनत जापान र सिंगापुरले यसअघि नै बेलायतले अघि सारेको जस्तै एआई सम्बद्ध कपिराइट अपवादको विषयलाई कानूनमा समेटिसकेका छन् । यो विषय सिर्जनात्मक उद्योगका लागि सर्वाधिक चासो र चिन्ताको विषय बनेको छ ।

उता अमेरिका र युरोपेली युनियनमा भने प्रतिलिपि अधिकारमा अपवादका प्रावधान थप्ने कुनै प्रस्ताव ल्याइएको छैन । अमेरिकामा फोटोग्राफी कम्पनी गेटी इमेजले आफ्ना तस्वीहरु बिगारेर पुनः उत्पादन गरेको भन्दै आर्टिफिसियल इन्टेलिजेन्स अपरेटर कम्पनी स्टाबिलिटी डिफ्युजन विरुद्ध प्रतिलिपि अधिकार कानून अन्तरगत मुद्दा हालेको छ ।

यी सबै घटनाक्रमहरुले हामीहरु मेसिनको सिर्जनात्मकताभन्दा मानवीय सिर्जनात्मकलाई बढी संरक्षण दिनुपर्दछ भन्ने कुरामा विश्वास गर्दछौँ कि छैनौँ भन्ने प्रश्न खडा गरेको छ । प्रविधि उद्योगहरुलाई आकर्षित गर्नु र प्रवर्द्धन गर्नु बेलायतका लागि राम्रो रणनीति हुनसक्दछ तर बेलायती अर्थतन्त्रमा सिर्जनात्मक उद्योगहरुले निकै ठूलो योगदान गरिरहेका छन् जुन सन् २०२१ मा कूल गाह्रस्थ उत्पादनको ६ प्रतिशत अर्थात् १ खर्ब ९ अर्ब पाउण्ड थियो ।

साथै संगीतको मूल्य भनेको कुनै कोरा अर्थशास्त्र भन्दा निकै माथि छ र यसले संवेगात्मक आनन्द, स्वास्थ्य लाभका साथै सामाजिक, राजनीतिक र आर्थिक परिवर्तनका लागि उत्प्रेरित पनि गर्दछ । यसका लागि सर्जकहरुलाई पुरस्कृत गर्नुपर्दछ चाहे उनीहरुले प्रत्यक्ष रुपमा संगीत संयोजन गरेका हुन् वा उनीहरुको सिर्जनालाई पुनरुत्पादन गर्नका लागि एआईले प्रयोग गरेको किन नहोस् । प्रतिलिपि अधिकार कानूनले कुनैपनि सर्जकहरुले आफ्नो कार्यको पर्याप्त भुक्तानी पाउनुपर्दछ भन्ने सुनिश्चितता प्रदान गर्नुपर्छ । जब यसले यस्तो मूल्यलाई विश्वव्यापी बनाउँछ तब यसको संरक्षण गर्नका लागि समेत यो बलियो तर्क बन्दछ ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?