+
+
केकी अधिकारीसँग करिअर र सम्बन्ध संवाद :

‘करिअरमा टीनएज टेकें, नयाँ उत्साह छ’

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १० गते १८:१४

काठमाडौं । अभिनेत्री केकी अधिकारीको फिल्म करिअरले १२ वर्ष पूरा गरेको छ । २०६८ सालमा रिलिज भएको ‘स्वर’बाट डेब्यु गरेकी उनको पछिल्लो फिल्म ‘प्रसाद २’ वैशाख १५ गते रिलिज हुँदैछ । यसबीचमा उनले ३२ फिल्ममा काम गरिन् । डिस्कोग्राफीको सूची पनि लामै छ ।

‘स्वर’ उनको जीवनको यस्तो ‘युटर्न’ थियो, जुन बिन्दुदेखि उनको जीवनमा सबथोक बदलियो । डाक्टर बनेर बिरामी स्याहार्ने सपना देखेकी केकी एकाएक हिरोइन बनिन् । एमबीबीएस तयारी कक्षा चल्दै गर्दा उनी फिल्मतिर सोझिएकी थिइन् । ‘मेरो खुसी र लगाव यता छ । मानव अंगभन्दा कलालाई बढी बुझ्छु भनेर म यतातिर लागें,’ अनलाइनखबरसँग उनी गफिइन्, ‘कुनै पश्चातापबिना मैले छनोट गरेको यो करिअरप्रति म खुसी छु । नेपाली कलाजगतका लागि सानो योगदान दिएँ भनेर खुसी लाग्छ ।’

उनी आफूलाई फिल्म करिअरको किशोरी ठान्छिन् । ‘म भर्खर टीनएजमा लागें । नयाँ उत्साह, उमंग, सिकाइ सुरु भएको छ । नयाँ व्यक्ति र कथामा काम गर्ने, काममा इन्जोय गर्ने र एडल्टहुडमा टेकें भर्खरजस्तो लाग्छ,’ केकी भन्छिन् ।

केकीको विवाहको निर्णय धेरैका लागि सरप्राइज थियो । उनी निकट साथीभाइदेखि परिवारकै आफन्त समेतले यसबारे ढिलोगरी थाहा पाए । ‘मलाई सरप्राइजहरु मन पर्छ । जीवन भनेकै सरप्राइजको प्याकेज पनि हो,’ विवाहबारे उनी खुलिन्, ‘परिस्थितिले पनि त्यो वातावरण निम्त्यायो । सोचेको भन्दा धेरै छिटो समयमा विवाह भयो । चिनाजस्ता कुराले छिट्टै निर्णय गर्नुपर्ने भयो । पारिवारिक सदस्यलाई पनि छोटो सूचना भयो । धेरै साथीहरु मिस भए ।’ ‘प्राइभेसी’ कायम राख्ने बानीले पनि यस्तो भएको हुन सक्ने उनको ठम्याइ छ ।

केकीको शीर्ष भूमिका रहेको फिल्म ‘प्रसाद २’ आगामी साता रिलिज हुँदैछ । जहाँ उनले नारायणी नामक महिला चरित्र निर्वाह गरेकी छन् । बाबुराम नामक दलित समुदायको पात्रसँग भागेर अन्तरजातीय विवाह गरेकी नारायणीको संघर्षको कथावस्तु यसमा समेटिएको छ । अघिल्लो भागमा यो भूमिका नम्रता श्रेष्ठले गरेकी थिइन् ।

‘प्रसाद २’ ले सामाजिक बेथितिलाई कसरी राजनीतिले गाँजेको छ भनेर देखाउँछ । अघिल्लोभन्दा गहिराइ र बृहत क्यानभासमा कथा भनिएको छ । देखेर पनि नदेखेको जस्तो गर्ने समाजमा भइरहेका यी बेथितिविरुद्धको विद्रोह मेरो पात्रले गरे । मेरो पात्रले विद्रोहमा भूमिका खेलेको छ,’ फिल्मबारे उनले भनिन् ।

कुनै कलाकारसँग दर्शक ‘कनेक्ट’ भइसकेको पात्रलाई गर्दा कत्तिको जोखिम हुन्छ ? केकीलाई लाग्छ नारायणीको पात्रमा आन्तरिक विशेषता उस्तै भएपनि अनुहार मात्र फरक हो । अरु सबै पक्ष दुरुस्तै छन् । फिल्ममा जतिसक्दो नारायणी पात्रको निकट रहेर न्याय दिने प्रयास गरेको उनी बताउँछिन् । ‘यो प्रोजेक्ट गर्नुपर्छ भनेर एक सातामा निर्णय गरेकी हुँ,’ केकी भन्छिन् ।

केकीलाई लाग्छ, हरेक फिल्मले आफ्नो भाग्य आफैं बोकेर ल्याएको हुन्छ । उनको बुझाइमा ‘प्रसाद २’ ले पनि आफ्नो भाग्य आफैं बोकेर ल्याएको थियो । हुन सक्छ, यही कारण छायांकन सुरु हुनुअघिदेखि रिलिजसम्म यसले उतारचढाव व्यहोर्नुपर्‍यो । फिल्म छाड्ने र अर्कोले गर्ने प्रक्रिया करिअरमा सामान्य भएको केकी बताउँछिन् ।

‘नाम नलिऊँ तर परीक्षा र कामको व्यस्तताले मैले छाडेका धेरै फिल्म हिट छन्,’ उनी भन्छिन्, ‘मैले नारायणीलाई रिप्लेस गर्नुभन्दा पनि यो पात्र आइकोनिक होस् भनेर हो । नारायणी पात्र अहिले पनि मभित्र जीवित नै छ ।’

पहिलोपटक अभिनेता विपिन कार्कीसँग केकीले स्क्रिन सेयर गरिन् । विपिनसँग स्क्रिन सेयर गर्दाका उनका रमाइला अनुभव छन् । ‘प्रसाद २ लाई मैले अपनाउने एउटा कारणमा पनि विपिनजी हुनुहुन्छ । उहाँले कसरी चरित्र निर्माण गर्नुहुन्छ र प्रत्येक पटक उहाँ कसरी नयाँ देखिनुहुन्छ भन्ने जान्न पनि मलाई त्यो अपर्चुनिटी मिस गर्न मन थिएन । उहाँको प्रोसेस जान्न पनि,’ उनी भन्छिन् । फिल्ममा विपिनले बाबुराम पात्रको भूमिका गरेका छन्, जो नारायणीको पति हुन्छ ।

‘मैले सुटिङ सेटमा वास्तविक विपिन कार्कीलाई कहिल्यै पनि भेटिनँ । सधैं बाबुरामलाई भेटें । पात्रको इमोसन निर्माणमा मद्दत पुग्यो । पात्रबीचका अथाह प्रेम छ । कुनै पनि किसिमको सामाजिक दायरालाई नाघेर दुईवटा पात्रले प्रेम गरेका छन्,’ केकी भन्छिन्, ‘माया भन्दा ठूलो के नै छ र भन्ने ट्यागलाइन चरितार्थ भएको छ ।’

यी त भए फिल्मका कुरा । केकीका श्रीमान रोहित तिवारी श्रीमतीलाई सघाउँछन् । यी कुरा गरिरहेको दिन वैशाख ८ गते शुक्रबार केकी र रोहितले पहिलो वर्षगाँठ मनाउँदै थिए । ‘उहाँ कलालाई सम्मान गर्ने र महत्व बुझेको व्यक्ति हुनुहुन्छ । मेरो करिअरलाई सपोर्ट गर्नुभएको छ,’ उनी भन्छिन् । विश्वास, साथ र कम्युनिकेसन भएमा सम्बन्धलाई बलियो बनाउन सकिने सुझाव केकीको छ । ‘कम्युनिकेट गर्न सकियो भने संसारमा ठूला युद्धहरु पनि टेबलटकबाट समाधान हुन्छन्,’ उनको बुझाइ छ ।

केकीले एमबीएको पढाइ सकिन् । पीचएडी गर्छु भन्दाभन्दै विवाह भयो । यसबारे एउटा गसिप पनि चलेको थियो । पीएचडीपछि मात्र बेबीप्लान गर्ने गसिपबारे केकीलाई सोधियो । उनले यो गसिप मात्र भएको बताइन् । तर कसलाई के थाहा ? केकी सरप्राइज प्रेमी पनि हुन् भनेर । ‘कुनै दिन त्यो सरप्राइज पनि आउन सक्छ,’ कुराको बिट मार्दै केकीले भनिन् ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?