+
+

घट्न थाल्यो बैंकहरुको बेसरेट, कुन बैंकमा पाइन्छ सस्तो कर्जा ?

विजय पराजुली विजय पराजुली
२०८० वैशाख १२ गते १२:५५

१२ चैत, काठमाडौं । बैंकहरुको ब्याजदर घट्दो क्रममा देखिए पनि एकल अंकमा आउन भने समय लाग्ने देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरुको आधार दर (बेस रेट) घट्दो क्रममा देखिए पनि दोहोरो अंकमा नै देखिएको छ ।

नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदरलाई आधार दरसँग आवद्ध गराएको छ । राष्ट्र बैंकले बैंकहरुलाई हरेक त्रैमासको औसत आधार दरको आधारमा कर्जाको ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ । बैंकहरुको आधार दर बढ्दा कर्जाको ब्याजदर पनि बढ्ने गर्छ भने घट्दा घट्ने गर्छ ।

त्रैमासको औसत आधार दरमा कर्जाको जोखिम अनुसार बैंकहरुले प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने गर्छ । ‘कर्जा तथा सापटको ब्याजदर निर्धारण गर्दा ‘आधार दर’ सँग आवद्ध गर्नु पर्नेछ,’ नेपाल राष्ट्र बैंक्ले बैंकहरुलाई जारी गरेको एकीकृत निर्देशनमा भनिएको छ ।

यस्तै पुनर्तालिकीकरण वा पुनर्संरचना गरिने कर्जाको ब्याजदर समेत आधार दरलाई आधार मानी निर्धारण गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

कुनै व्यक्ति वा फर्मलाई प्रदान गरिने कर्जा तथा सापटको ब्याजदर निर्धारण गर्दा आधार दरमा थप गरिने प्रिमियम दर स्पष्ट रुपमा उल्लेख गर्नुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ । यसले पनि कर्जाको ब्याजदर आधार दरले निर्देशित गर्ने स्पस्ट हुन्छ । कर्जाको ब्याजदर घटबढ हुने भएपनि आधार दरमा बैंकहरुले लिने प्रिमियम भने बैंकहरुले आफै बढाउन सक्दैन ।

तर, कर्जाको ब्याजदर घटाउन प्रिमियम घटाउन भने सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । आधार दर बढ्यो भने आफैं कर्जाको ब्याजदर बढ्ने र घट्दा घट्ने गरी ब्याजदर निर्धारण हुने गर्दछ ।

‘एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्तावपत्रमा उल्लेख गरी कर्जा स्वीकृत गरे पश्चात् प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागु गर्न पाइने छैन,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।

तर, ऋणीले जुन उद्देश्यका लागि कर्जा लिएको हो, सो उद्देश्यमा कर्जा प्रयोग नगरेको र धितो सम्पत्तिमा हानी नोक्सानी पुर्‍याउने कार्य गरेको पाइएमा निर्देशन अनुसारको हर्जना दर थप भने सकिने राष्ट्र बैंकले जनाएको छ ।

बैंकहरुले आधार दर गणना गर्दा निक्षेप लागत वा कोष लागत सबैभन्दा महत्वपूर्ण हुन्छ । यसबाहेक संस्था सञ्चालनका लागि गर्नुपर्ने सञ्चालन खर्च वापतको लागत, शून्य प्रतिफलमा अनिवार्य नगद अनुपात कायम गर्दा परेको लागत, निक्षेप लागत भन्दा कम प्रतिफल प्राप्त हुने गरी बैधानिक तरलता अनुपात कायम गर्दाको लागत र संस्थाका लगानीकर्ताहरुको पूँजीगत लगानीको लागि प्रदान गर्नुपर्ने सामान्य प्रतिफल कर्जाको आधार दर गणनामा समावेश हुने गर्छ ।

बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा आधार दरलाई सन्दर्भदरको रुपमा लिई ग्राहक/क्षेत्र विशेष जोखिम तथा कर्जाको अवधि विशेष प्रिमियम समावेश गरी त्यस्तो ब्याजदर निर्धारण गर्ने गरिन्छ ।

आधार दरकै आधारमा कर्जाको ब्याजदर निर्धारण हुने भएकोले आधार दर घट्दा कर्जाको ब्याजदर घट्ने र बढ्दा बढ्ने हुन्छ ।

चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा बैंकहरुको आधार दर घट्दो क्रममा देखिएको हो । यसले पनि कर्जाको ब्याजदर घट्दै जाने देखिन्छ ।

सञ्चालनमा रहेको २१ वाणिज्य बैंकमध्ये १७ वटा वाणिज्य बैंकहरुको बेस रेट चालु आबको दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा घटेको छ । बैंकहरुले १२.१३३ प्रतिशत रहको मुद्दती निक्षेपको ब्याजदर गत माघबाट ११ प्रतिशतमा झरेको थिए । पुस मसान्तमा दोस्रो त्रैमास सकिएसँगै १ माघबाट निक्षेपको ब्याजदर घटाउन निर्णय गर्दा बैंकहरुको आधार दर तेस्रो त्रैमासमा घटेको हो ।

जसले गर्दा १ वैशाखदेखि लागु हुने कर्जाको ब्याजदर पनि बेस रेट घटेको अनुपातमा स्वतः घट्नेछ । तर गत पुसको तुलनामा चैतमा नेपाल बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक र माछापुच्छ्रे बैंकको बेसरेट भने बढेको बैंकहरुको अपरिस्कृत वित्तीय विवरणले देखाउँछ । अन्य १९ वटा बैंकको बेसरेट भने बढेको छ ।

सबैभन्दा सस्तो ऋण कुन बैंकमा पाइन्छ ?

वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघले आधार दरमा अधिकतम ५ प्रतिशतसम्म मात्रै प्रिमियम जोडेर कर्जाको ब्याजदर तय गर्ने निर्णय गरेका छन् । राष्ट्र बैंकले कर्जाको प्रकार तथा भुक्तानी अवधिका आधारमा छुट्टाछट्टै प्रिमियम दर तय गरी मासिक रुपमा कर्जा तथा सापटको ब्याजदर निर्धारण तथा प्रकाशन गर्नु पर्ने व्यवस्था गरेको छ ।

यस्तै आगामी महिनाको लागि कर्जा तथा सापटमा लागु हुने ब्याजदर सम्बन्धी सूचना नेपाली महिना सुरु हुनु पूर्व प्रकाशित गरिसक्नुपर्ने छ । कर्जा लगानी गर्दौ बैंकहरुले लिने प्रिमियम दर कर्जाको जोखिम र राष्ट्र बैंकले उक्त कर्जाको निर्धारण गरेको जोखिम भारलाई समेत ध्यान दिनुपर्ने हुन्छ ।

बैंकर्स संघले आधार दरमा जोड्न प्रिमियम अधिकतम ५ प्रतिशतम्म लिने निर्णय गरेकोले आधार दर कम हुने बैंकमा ब्याजदर र बढी हुने बैंकमा तुलनात्मक रुपमा बढी ब्याजदर पर्ने गर्दछ ।

बैंकहरुको २०७९ चैत मसान्तको विवरणअनुसार सबैभन्दा कम आधार दर राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । बैंकको आधार दर चैत मसान्तमा ८.६ प्रतिशत रहँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकको ९.२७ प्रतिशत रहेको छ । यस्तै एकल अंकमा आधार दर रहेका बैंकमा नेपाल बैंक, एभरेष्ट बैंक र नबिल बैंकक रहेको छ । नेपाल बैंकको आधार दर ९.९२ प्रतिशत, एभरेष्टको ९.९४ प्रतिशत र नबिल बैंकको ९.९९ प्रतिशत छ ।

यस्तै चैतमा सबैभन्दा धेरै बेसरेट भएको बैंक भने सनराइज हो, बैंकको बेसरेट ११.३४ प्रतिशत रहेको छ । माछापुच्छ्रे बैंकको बेसरेट ११.३१ प्रतिशत र सिटिजन्स बैंकको ११.१४ प्रतिशत बेसरेट रहेको छ । राष्ट्र बैंकले बैंकहरुले निक्षेपमा लिने ब्याजर र कर्जा दिने औसत ब्याजदरको अन्तर घटाउँदै लगेको छ ।

उक्त अन्तर ४.४ प्रतिशत रहेकोमा चैतमा ४.२ प्रतिशत र आगामी असार मसान्तमा ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ । यसलाई समायोजन गर्न पनि बैंकहरुले कर्जाको प्रिमियम घटाउर कर्जाको ब्याजदर घटाउँदै लैजानुपर्ने अवस्था छ ।

यसले बैंकहरुको बेसरेटलाई असर नगरेपनि बेस रेटमा जोड्ना प्रिमियम भने घटाउँदैन लैजानुपर्ने हुन्छ । जसले पनि कर्जाको ब्याजदर घट्दै जानेछ । यस्तै बैंकहरुले १ वैशाखदेखि लागु हुने गरी निक्षेपको ब्याजदर पुनः घटाएका छन् ।

व्यक्तिगत मुद्दती निक्षेपमा ११ प्रतिशत र संस्थागतमा ९ प्रतिशत रहेको ब्याजदर १ वैशाखदेखि क्रमशः ९.९९ प्रतिशत र ७.९९ प्रतिशत कायम भएको छ । यस्तै बचतमा ६ देखि ८ प्रतिशत रहेको ब्याजदर ५.४ देखि ७.४ प्रतिशत कायम गरेका छन् । यसले पनि निक्षेप लागत घट्दा कोष लागत घटेर आधार दर पनि घट्छ ।

यस्तै माघ अगाडि १२.१३३ प्रतिशतमा लिएको मुद्दती निक्षेपको अवधि सकिएर नवीकरण गर्नुपर्दा अब निक्षेपको ब्याजदर घटेकोले नवीकरण हुने मुद्दती निक्षेपको पनि ब्याजदर घट्दै जाने भएकोले आगामी आसारमा बेसरेट देखिने गरी घट्ने र साउनबाट कर्जाको ब्याजदर थप तल आउने बैंकर्स बताउँछन् ।

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?