+
+
Shares

नीतिगत दरका दाँजोमा तीन गुणा घट्यो ब्याजदर

चालु आव साउनमा बैंक तथा वित्तीय संस्थाको औसत निक्षेपको ब्याजदर ५.६६ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । जेठसम्ममा यस्तो ब्याजदर १.३७ प्रतिशत बिन्दुले घटेर ४.२९ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

भुवन पौडेल भुवन पौडेल
२०८२ असार ३२ गते २१:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता विश्लेषण गरी चालु आर्थिक वर्षमा ब्याजदर करिडोरभित्रका दरहरू ०.५ प्रतिशत बिन्दुले घटाएको छ।
  • चालु आवमा बैंक तथा वित्तीय संस्थाको औसत निक्षेप ब्याजदर ५.६६ प्रतिशतबाट ४.२९ प्रतिशतमा झरेको र कर्जाको औसत ब्याजदर ९.६८ प्रतिशतबाट ७.९९ प्रतिशतमा घटेको छ।
  • आगामी आवका लागि केन्द्रीय बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमा ६.५ प्रतिशतबाट ६ प्रतिशत र तल्लो सीमा ३ प्रतिशतबाट २.७५ प्रतिशत कायम गरेको छ।

३२ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता अवस्था विश्लेषण गरेर नीतिगत रूपमा ब्याजदर चलाउँछ । यसरी केन्द्रीय बैंकले ब्याजदरलाई नीतिगत रूपमा चलाउँदा चालु आर्थिक वर्ष वित्तीय प्रणालीमा त्यसको असर तीन गुणाले परेको छ ।

चालु आव साउनमा बैंक तथा वित्तीय संस्थाको औसत निक्षेपको ब्याजदर ५.६६ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । जेठसम्ममा यस्तो ब्याजदर १.३७ प्रतिशत बिन्दुले घटेर ४.२९ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

चालु आव केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर करिडोर अन्तरगत दरहरूलाई ०.५ प्रतिशत बिन्दुले चलाएको थियो । वित्तीय प्रणालीमा अधिक तरलतासँगै कर्जा मागमा सुधार ल्याउने अपेक्षा सहित केन्द्रीय बैंकले ब्याजदर करिडोरभित्रका दर घटाएको थियो ।

चालु आव २०८१/८२ को मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दर ५.५ प्रतिशतबाट ५ प्रतिशत कायम गरेको थियो ।

त्यसैगरी ब्याजदर करिडोरको तल्लो सीमाका रूपमा रहेको ३ प्रतिशतमै राखेको थियो । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका बचतकर्तालाई ध्यानमा राख्दै कारिडोरको तल्लो सीमा यथावत राखेको थियो ।

बैंक तथा वित्तीय संस्थाले बचतकर्तालाई दिने ब्याजदर अत्यन्तै न्यून भएकाले करिडोरको तल्लो सीमा नचलाएको केन्द्रीय बैंकका अधिकारीहरू बताउँछन् ।

बचतकर्ताले न्यूनतम ३ प्रतिशत अर्थात् निक्षेप संकलनको दर बराबर ब्याज पाउन् भन्ने उद्देश्यले तल्लो सीमा यथावत राखिएको केन्द्रीय बैंकका एक अधिकारीले बताए ।

‘अधिक तरलता व्यवसथापन गर्न स्थायी निक्षेप सुविधा सुरु गरियो र यस्तो सुविधा लिन चाहने बैंकहरूको बचतको ब्याजदर ३ प्रतिशतभन्दा तल हुन नहुने व्यवस्था गरिएको हो  ।

जसले गर्दा बचतकर्ताले न्यूनतम ३ प्रतिशतसम्म ब्याजदर पाउने भए,’ उनले भने, ‘उक्त व्यवस्था गर्नुभन्दा अघि बैंकहरूले तरलता धेरै हुने बित्तिकै बचतको ब्याजदर अस्वाभाविक घटाउने गर्थे ।’

केन्द्रीय बैंकले ब्याजदर करिडोरभित्रका दर १ प्रतिशत बिन्दुले घटाउने बढाउने गरेको खण्डमा वित्तीय क्षेत्रको ब्याजदर करिब ३ प्रतिशत बढ्न वा बढ्ने चालु आवको ब्याजदर प्रवृत्तिले देखाउँछ ।

चालु आव केन्द्रीय बैंकले बैंक दर र नीतिगत दर ०.५ प्रतिशत बिन्दुले घटाउँदा जेठसम्ममा औसत १.३७ प्रतिशत बिन्दुले निक्षेपको ब्याजदर घटेको छ ।

त्यसैगरी कर्जाको ब्याज पनि १.६९ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार चालु आव बैंक तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर औसत ९.६८ प्रतिशत थियो ।

चालु आव जेठसम्म आइपुग्दा कर्जाको औसत ब्याजदर १.६९ प्रतिशत बिन्दुले घटेर ७.९९ प्रतिशत कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।

वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर मात्र हेर्दा पनि चालु आव साउन महिना औसत ६.७३ प्रतिशत कायम थियो । चालु आव असारमा आउँदा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ५.९०२ प्रतिशत कायम भएको छ ।

त्यसैगरी आगामी आव अर्थात् २०८२ साउनका लागि बैंकहरूले तोकेको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ५.६८७ प्रतिशत कायम भएको छ ।

वाणिज्य बैंकहरूको मुद्दती निक्षेपको ब्याजदर हेर्दा पनि साउनदेखि असारसम्म औसत ०.८२८ प्रतिशत बिन्दुले घटेको हो । बैंकहरूले २०८२ साउनका लागि तोकेको ब्याजदर हेर्दा १.०४३ प्रतिशत बिन्दुले घटेको हो ।

केन्द्रीय बैंकले नीतिगत दरहरूमा गरेको परिवर्तन बैंक तथा वित्तीय संस्थाको ब्याजदर ‘पास अन’ हुन कहिलेकाहीँ समय लाग्ने योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले बताए ।

‘केन्द्रीय बैंकले करिडोरका दरहरू चलाउन भनेको बजारको ब्याजदरलाई निर्देशित गर्दै घटाउने बढाउने निर्णय गर्ने हो,’ श्रेष्ठले भने, ‘चालु आव करिडोरमा घटाएको दरको तीन गुणासम्म निक्षेप कर्जाको ब्याजदर घटेको भए पनि आगामी आवमा पनि त्यसैगरी घट्छ भन्ने हुँदैन ।’

केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा दरको ब्याजदर भन्दा तल निक्षेपको ब्याजदर आउन नदिने व्यवस्था गरेको बताउँदै उनले भने, ‘आगामी आर्थिक वर्षमा पनि सोही अनुपातमा नघट्न पनि सक्छ, किनभने ब्याजदर धेरै घट्ने स्पेस देखिँदैन, अहिले पनि स्थायी निक्षेप सुविधाका कारण बचत निश्चित बिन्दुभन्दा तल नगएको हो ।’

चालु आवभरि बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको समस्या रह्यो । नियार्तमा सुधार, रेमिट्यान्स प्रवाह उच्च, कर्जाको न्यून मागका कारण अधिक तरलताको समस्या वर्षभरि नै रह्यो । त्यसले गर्दा वित्तीय क्षेत्रको ब्याजदर घटाउन दबाब दियो ।

त्यसका साथै केन्द्रीय बैंकले पनि करिडोरभित्रका दरहरू घटाएर ब्याजदर घटाउने संकेत गर्‍यो । त्यसपछि बैंकहरूले निक्षेपको लागत कम गर्न ब्याजदर घटाउँदै आएका हुन् ।

आगामी आवका लागि पनि केन्द्रीय बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाका रूपमा रहेको बैंकदर ६.५ प्रतिशतबाट घटाइ ६ प्रतिशत र ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दर ३ प्रतिशतबाट घटाइ २.७५ प्रतिशत कायम गरेको छ ।

नीतिगत दर ५ प्रतिशतबाट घटाइ ४.५ प्रतिशत कायम गरिएको छ । केन्द्रीय बैंकले घटाएको करिडोरको तल्लो सीमा ०.२५ प्रतिशत बैंक तथा वित्तीय संस्थाले आव सुरुवातदेखि नै लागु हुने गरी समायोजन गरिसकेका छन् ।

बैंकहरूले लागत कम गर्न निक्षेपको ब्याजदर घटेको नीतिगत दरसँग समायोजना गरिसकेका छन् । आगामी आव ब्याजदर कुन तहसम्म पुग्छ भन्ने सन्दर्भमा कर्जाको माग तथा तरलताको अवस्थाले निर्धारण गर्ने श्रेष्ठको भनाइ छ ।

साथै, उनले आगामी आवका लागि ब्याजदर घटाउनै पर्ने अवस्था आए पनि चालु आवको तुलनामा कम हुन सक्ने बताए ।

लेखक
भुवन पौडेल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत पौडेल बैंक, वित्तीय तथा नेपाल धितोपत्र बजारमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?