+
+

सल्लाहकार भएर मनमोहन अधिकारीलाई सम्झदा

प्रधानमन्त्री पदमा हुँदा र नहुदामा मनमोहन अधिकारीको जीवनशैलीमा खासै कुनै परिवर्तन आएन/देखिएन । उस्तै सामान्य, उस्तै सरल । नेपालको कम्युनिष्ट आन्दोलनमा मनमोहन अधिकारीले स्थापित गर्नुभएका यी अत्यन्तै मूल्यवान गुणहरू हुन् ।

ईश्वर पोखरेल ईश्वर पोखरेल
२०८० वैशाख १३ गते ७:०९

नेपाली कम्युनिष्ट आन्दोलनमा क्रियाशील ‘नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी)’ र ‘नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी)’ को औपचारिक एकीकरणपछि कम्युनिस्ट आन्दोलनमा इतिहास र ऊर्जाको सम्मिलन भएको टिप्पणी राजनीतिक क्षेत्रमा गरिएको थियो । यो २०४७ पुसको कुरा थियो । त्यसबेला ‘मार्क्सवादी’ लाई मनमोहन अधिकारीले नेतृत्व गरिरहनु भएको थियो र ‘मार्क्सवादी–लेनिनवादी’ को नेतृत्वमा मदन भण्डारी हुनुहुन्थ्यो ।

त्यो एकीकरण ऐतिहासिक थियो । यसले नेपालको कम्युनिस्ट आन्दोलनलाई मूलतः एकीकृत गरेको थियो । अलग–अलग धारबाट अगाडि बढ्दै आएका दुई छुट्टाछुट्टै समूहबीचको एकताले परिवर्तन चाहने आम न्यायप्रेमी जनतामा उत्साह र आशाको किरण छरेको मात्र थिएन, आफ्नो आन्तरिक जीवनलाई साँचो अर्थमा सम्मिलन गराउने व्यावहारिक कठिनाइ पनि भोग्दै थियो ।

एकीकृत भइसकेको पार्टी जीवनमा सहजताका मुनाहरू पलाउन समय लाग्ने कुरा स्वाभाविक थियो । असहजताले नेतृत्व पंक्तिलाई केही गम्भीर बनाएको थियो र त्यसको घोचाइका दुःखाइहरू पनि सहिरहनुपरेको थियो । नेतृत्वमा रहनुभएका मनमोहन अधिकारी स्वयम् यस किसिमको अनुभव गरिरहनुभएको थियो ।

नेपालको कम्युनिष्ट आन्दोलनभित्रका पृथक् पृथक् धारालाई प्रतिनिधित्व गर्ने दुई छुट्टाछुट्टै समूहहरू आ–आफ्ना ‘स्कूलिङ’ का कारण एकीकरणको ऐतिहासिक कामलाई सहज र उपलब्धिपूर्ण बनाउने काममा जुटेका थिए । मनमोहन अधिकारी यो काममा उदाहरणीय बनेर उभिनुभएको थियो ।

पार्टी एकीकरणको लगत्तैपछि मदन भण्डारीका साथमा मनमोहन अधिकारी एकीकरणको सन्देश लिएर देशव्यापी दौडाहामा निस्किनुभयो । आफ्नो वृद्ध शरीरलाई लिएर उहाँ कयौं दिनको यात्रामा निस्कनुभएको थियो । यो यात्राबाट फर्केपछि एकदिन उहाँले कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले बुझ्दै गरेको अनुभव सुनाउनुभएको थियो ।

मनमोहन अधिकारीको स्वभाव मलाई त्यसबेला विशेष अचम्मको लाग्यो, जब उहाँ मुलुककै पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री बने लगत्तै ज्ञानेश्वरस्थित मेरो डेरामा आउनुभयो । त्यसबेला मलाई केही अचम्म र केही अस्वाभाविक पनि लाग्यो म त अत्तालिएँ पनि । उहाँले आएर मेरो हात समाउँदै आफ्नो राजनीतिक सल्लाहकार बनिदिन आग्रह गर्नुभयो । यस सम्बन्धमा नेतृत्वले भरखर निर्णय गरेको थियो ।

उहाँको प्रस्ताव सुनेर मलाई त त्यसबेला के बोलु के भनुँ जस्तो भएको थियो । मलाई लाग्यो मनमोहन अधिकारी नेपाली कम्युनिस्ट आन्दोलनको एउटा जीवित इतिहास, समृद्ध अनुभवका धनी, उमेर र अनुभवले मेरो पितातुल्य व्यक्ति आफ्नो राजनीतिक सल्लाहकार बनिदिन आग्रह गरिरहनुभएको छ– त्यसबेला म के भन्न सक्थें, के बोल्न सक्थें !

मनमोहन अधिकारी

मनमोहनले मेरो हात समाएर मेरा आँखामा हेर्दै भन्नुभएको थियो– ‘हेर्नुस् म बुढो मान्छे, खास केही गर्न सक्तिनँ, चलाउने तपाईंहरूजस्ता नौजवानले हो, कृपया म बुढालाई सघाइदिनुस् ।’ मैले तत्कालै त केही भन्न सकिनँ । त्यतिबेला जब मैले आफ्नो अनुहार उठाएर हेरें– मेरो दिवङ्गत पिताको धमिलो अनुहार मेरो आँखा अगाडि नाच्न थाल्यो । लाग्यो– अजङ्गको भारी बोक्दै गरेका मेरा वृद्ध पिता मसित सहयोगका लागि आग्रह गरिरहनुभएको छ । मैले त्यसबेला जवाफ दिएँ– कामको त्यो फिल्डमा मेरो खास अनुभव त छैन, तर म तपाईंलाई सघाउँछु ।

प्रधानमन्त्रीको प्रमुख सल्लाहकार भएर के गर्ने ? मलाई खास केही कुरा थाहा थिएन । २–४ दिन त मलाई के गर्ने कसो गर्ने भई नै रह्यो । अफिस जान थालेपछि प्रधानमन्त्री कार्यालयलाई व्यवस्थित बनाउन विगतमा के–के काम भएका रहेछन्– के–कस्ता योजना बनाइएका रहेछन्, अभिलेखहरू– दस्तावेजहरू के–के रहेछन् भनेर खोतलखातल गर्न झन्डै एक हप्ता जति लगाएँ ।

प्राप्त भएका ती सामग्रीहरूका आधारमा मैले एउटा लिखत तयार पारें र त्यही लिखत– योजना प्रधानमन्त्री मनमोहन अधिकारीलाई देखाए । वास्तवमा त्यो लिखत मैले सल्लाहकार भएर गर्ने कामको मोटामोटी रूपरेखा पनि थियो । प्रधानमन्त्री कार्यालय र मन्त्रिपरिषद् सचिवालयलाई व्यवस्थित बनाउने सम्बन्धमा, प्रधानमन्त्रीद्वारा दैनन्दिन गरिने कामका सम्बन्धमा, विभिन्न विषय विज्ञहरूको सहयोग जुटाउने सम्बन्धमा र प्रधानमन्त्रीले गर्नुपर्ने कामहरूको प्राथमिकीकरण निर्धारण गर्ने सम्बन्धमा केन्द्रित भएर मैले आफ्नो योजनाको लिखत तयार पारेको थिएँ ।

त्यो लिखत हेरेपछि मनमोहनले खुसी हुँदै भन्नुभएको थियो, ’मैले सोचेभन्दा पनि राम्रो योजना प्रस्तुत गर्नुभयो । धन्यवाद दिएर मात्र म चुप लाग्दिनँ, यसलाई कार्यान्वयन गर्ने काममा जुटिहाल्नुपर्छ भनेर म तपाईंलाई करकर गरिरहन्छु ।’ वास्तवमा मनमोहन अधिकारी प्रधानमन्त्री रहुन्जेल उहाँको समेत संलग्नतामा तयार पारिएको त्यो अवधारणा योजनामा रहेर उहाँले काम गरिरहनुभयो ।

मैले सल्लाहकार भएर नियमित रूपमा केही कामहरूमा ध्यान दिने गरेको थिएँ । खासगरी प्रधानमन्त्रीको हैसियतले दिनुपर्ने मन्तव्य–वक्तव्यहरूलाई अन्तिम रूप दिने, राजनीतिक महत्व राख्ने भेटघाटमा प्रस्तुत गर्ने विचारलाई व्यवस्थित बनाइदिने, पार्टीले गरेका निर्णय तथा ती निर्णयका आधारमा सरकारका तर्फबाट गर्नुपर्ने निर्णय तथा खेल्नुपर्ने भूमिकाबारे टुंगो गर्ने लगायतका विषय थिए ।

त्यस्तै विभिन्न मन्त्रालयहरूमा भइरहेका कामहरूको अनुगमनको योजना बनाउने तथा यी ठाउँमा देखिएका समस्याबारे छलफल गर्ने, प्रधानमन्त्री कार्यालयलाई सुदृढ र व्यवस्थित परिचालन गर्ने आदि काममा मैले आफूलाई केन्द्रित गरेको थिएँ । यिनै कामलाई केन्द्र गरी प्रधानमन्त्रीको स्वकीय तथा निजी सचिवालयलाई परिचालित गर्न मैले आफ्नो ध्यान केन्द्रित गरेको थिएँ ।

प्रधानमन्त्रीको हैसियतले पूरा गर्नुपर्ने भूमिका र पार्टीको अध्यक्षको हैसियतले खेल्नुपर्ने भूमिकाका लागि सन्तुलित र समन्वयात्मक क्रियाशीलताको आवश्यकता पर्थ्यो । मनमोहन अधिकारी यस विषयमा अत्यन्त सजग हुनुहुन्थ्यो र मलाई यस विषयमा ध्यान पु¥याउन विशेष निर्देशन दिइरहनुहुन्थ्यो ।

प्रधानमन्त्रीको हैसियतले दिइने वक्तव्यका सन्दर्भमा मनमोहनले प्रायः अन्तरविरोधी स्थिति झेल्नुपरेको कतिपय मानिसहरू ठान्थे । उहाँको मौखिक भाषण रोचक, धाराप्रवाह र सहज हुने गर्थ्यो । आम स्रोताहरूले पनि यस्तै बुझ्थे । तर प्रधानमन्त्रीले औपचारिक कार्यक्रमहरूमा बोल्दा आधिकारिक, सन्तुलित, सारगर्भित हुनुपर्ने र थोरै पनि असन्तुलित हुनै नहुने मान्यताका आधारमा उहाँले लिखित भाषण पढ्नुपर्ने बाध्यता थियो ।

मौखिक भाषणमा स्वाभाविक र सहज रूपमा खुल्नुहुने मनमोहन अधिकारी लिखित भाषण पढ्नुपर्दा भने अत्यन्त असहज र खुम्चिएको रूपमा प्रस्तुत हुन पुग्नुहुन्थ्यो । त्यसो गरिरहँदा मानिसहरू मनमोहनलाई मौलिकता गुमाएको र अप्राकृतिक रूपमा उभ्याएको व्यक्तिका रूपमा बुझ्न पुग्थे । म स्वयंलाई पनि कतिपटक त लाग्यो– उहाँलाई साह्रै कष्ट झेल्न लगाइँदै छ ।

अंग्रेजीमा गर्ने मौलिक भाषणमा त मनमोहन सांच्चै राम्ररी खुल्नुहुन्थ्यो, यो स्थितिलाई कुनै कुनै बेला त कटाक्ष गर्दै भन्नु पनि हुन्थ्यो, मनमोहन ! लिखित भाषण सकिनसकि पढीसकेर त्यसलाई थन्क्याउँदै अब ‘म आफ्नो भाषण सुरु गर्छु’ भन्न पुग्नुहुन्थ्यो– मनमोहन । स्रोताहरूसहभागीहरू उहाँको भनाइ सुनेर समर्थनमा हाँस्थे पनि ।

प्रधानमन्त्रीका रूपमा मनमोहन अधिकारी कहीँ निस्कँदा पनि एकजना स्वकीय सचिव र राजनीतिक सल्लाहकारका रूपमा मलाई प्रायः सधैं साथमा हिँड्न आग्रह गर्नुहुन्थ्यो । उहाँसित मैले देशभित्र र बाहिरसँगै यात्रा गर्ने अवसर पाएको छु । कार्यक्रममा प्रायः सधैं सँगै हुँदा उहाँले कार्यक्रममा बोल्ने वा प्रस्तुत गर्ने विषयका बारेमा छलफल गर्नुहुन्थ्यो– आफ्ना विचार र भनाइलाई संगठित गर्नुहुन्थ्यो, सायद ।

कुनैबेला त मलाई ती सबै विषय टिपोट गरिदिन आग्रहसमेत गर्नुहुन्थ्यो । सन् १९९५ को जनवरीमा डेनमार्कको कोपनहेगनमा नेपालका प्रधानमन्त्रीको हैसियतले प्रस्तुत गर्ने वक्तव्यमा मलाई सँगै राखेर धेरै विषयमाथि छलफल गरेर मात्र उहाँले अन्तिम रूप दिनुभएको थियो । डेनमार्क, बेलायत, फ्रान्स, चीन, मंगोलिया तथा भारतको औपचारिक/अनौपचारिक भ्रमणका समयमा प्रधानमन्त्री मनमोहन अधिकारीसित साथसाथ रहँदाका धेरै अविस्मरणीय र प्रेरणादायी संस्मरणहरू मसित सधैं सुरक्षित रहनेछन् ।

यहाँ देशभक्तिको भावना नभएका र राष्ट्रघाती काम गर्न समेत पछि नपर्नेहरू पनि छन् । विदेशीहरूको स्वार्थ अनुसार काम गर्नेहरूको पनि कमी छैन । हाम्रो देशमा यस्ता अनेक सन्धि–सम्झौताहरू भएका छन् । २०४७ सालको संविधानको धारा १२६ ले यस्ता कामप्रति प्रष्टसित रोक लगाएको छ

एउटा विशेष प्रसंगलाई म कहिल्यै पनि विर्सन सक्दिनँ । संधै झैं मनमोहन अधिकारीले एकदिन सुदूरपश्चिमको बाढीग्रस्त क्षेत्रको भ्रमणको लागि मलाई पनि साथै हिँड्न भन्नुभयो । म तयारीका साथ प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेको थिएँ । तर त्यहाँ पुगेपछि प्रधानमन्त्रीले ‘पढी प्रत्युत्तर पठाउन पर्ने’ एउटा फाइल मलाई दिँदै भन्नुभयो– यस सम्बन्धमा पर्सिसम्म हामीले आफ्नो तर्फबाट ‘रेस्पोन्स’ गरिसक्नु पर्छ । आज तपाईं मसँगै नगइ यसको अध्ययन गरी प्रत्युत्तर तयार गर्नुहोला । मसित जानु पर्दैन ।’

म उहाँले त्यति भन्नु भएपछि एयरपोर्ट नगई त्यतैबाट फर्केको थिएँ । म त्यसदिन प्रधानमन्त्रीलगायत अन्य नेताहरूसित नगइ त्यसै फर्केको थिएँ । कस्तो संयोग ! त्यही हेलिकप्टर काठमाडौं फिर्दै गर्दा दुर्घटनाग्रस्त हुन पुगेको थियो । तर चालक किशेन्द्रबहादुर शाहीको कुशलताका कारण उक्त भिषण दुर्घटनामा परी झन्डै १० हजार फिट उचाइँबाट खसेर पनि मनमोहन अधिकारीसहितको टोली सकुशल रहन सकेको थियो ।

उहाँलाई गम्भीर प्रकृतिको चोटपटक त लाग्यो, तर उहाँहरू सबै बाँच्न सफल हुनुभयो । म अहिले पनि सम्झन्छु, त्यस दिन म पनि त्यही टोलीमा भएको भए के हुन्थ्यो होला ? प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार भएर मैले नौ महिना बिताएँ । त्यो नौ महिना मेरा लागि एकैपटक धेरै कुरा थाहा पाउने, सिक्ने, बुझ्ने अवसर बन्यो ।

यसैगरी राज्य संचालनको केन्द्र भागमा रहेर थाहा पाउनुपर्ने केही कुराहरू मैले थाहा पाएको थिएँ– आफू भित्रका कमजोरी तथा आफ्ना सीमाहरूलाई बुझ्ने मौका पनि मिलेको थियो त्यसबेला । पार्टीगत रूपमा नीति निर्माण गर्ने तथा निर्णय गर्ने विषय जति सहज र सरल हुन्छ– राज्य संचालनमा जाँदा थप जटिलताको सामना गर्नुपर्ने हुन्छ ।

पार्टीले गरेको निर्णयलाई सरकारको तर्फबाट कार्यान्वयन गर्ने विषयमा देखापर्ने जटिलता र अन्तरविरोधलाई थोरै भए पनि देख्ने मौका प्राप्त भएको थियो, त्यसबेला । वास्तवमा यी सबै कुरा मनमोहन अधिकारीले मलाई आदरणीय गुरु तथा अभिभावक भएर सिकाउनु भएको थियो ।

मनमोहन अधिकारी प्रधानमन्त्रीको पदमा रहँदा कस्तो अभावको जीवन धानिरहनु भएको थियो– अहिलेका प्राय सबै नेता, मन्त्री तथा प्रधानमन्त्रीलाई पत्यार नलाग्न सक्छ । एकदिन म उहाँकै ‘बेड रुम’मै पुगेको थिएँ । उहाँलाई केही विसञ्चो भएको थियो र उहाँले मलाई त्यहीं बोलाउनु भएको थियो । त्यहाँ मित्रको स्थिति देखेर मलाई अत्यन्त टीठ लागेर आयो ।

मैले त्यहाँ ग्रामीण क्षेत्रमा सामान्य स्कूलमा शिक्षण पेशामा रही दुःखजिलो गरेर बसेको शिक्षकको कोठामा पुगेको जस्तो लाग्यो । अत्यन्तै सामान्य ओछ्यान पलङ्गसित नमिल्ने पुरानो झुल, पुराना खालका सरसामान अगाडि देखेर एकछिन त मलाई अचम्म पनि लाग्यो । कोठामा पुगेपछि मलाई मनमोहनले भन्नुभयो– ‘प्रधानमन्त्रीको तलब सुविधाले यहाँ आउने–जाने मानिसलाई खान दिन पनि नसक्ने भैयो । के गर्ने घरकै मान्छेहरू समेत कच–कच् गर्लान् जस्तो भयो ।’

उहाँका यस्ता कुरा सुनेपछि तत्कालै त मैले केही भनिहालिनँ । खाली ‘हामी सल्लाह गरेर मिलाउँला’ भन्ने जवाफ दिएको थिएँ । पछि सचिवालयका साथीहरूसित सल्लाह गरी केही व्यवस्था मिलाइएको थियो । हामीले अर्थमन्त्री भरतमोहन अधिकारी तथा परराष्ट्र मन्त्रालय अन्तर्गत अतिथि सत्कार विभागका पदाधिकारीहरूसित कुरा गरी प्रधानमन्त्री निवासमा देखिएको त्यो दयनीय अवस्थामा केही सुधार गर्ने प्रयास गरेका थियौं ।

पछि प्रधानमन्त्री पदबाट हटिसकेपछि एकदिन जब म काठमाडौंको खड्का भद्रकालीस्थित उहाँको निवास पुगेको थिएँ, त्यसबेला उहाँ एक्लै हुनुहुन्थ्यो । त्यो दिन पनि म उहाँको बेडरूममै पुगेको थिए । निजी निवासको उहाँको ‘बेड रूम’ र प्रधानमन्त्री निवासको उहाँको ‘बेड रुममा खासै कुनै भिन्नता थिएन ।

उस्तै सामान्य स्थिति, उस्तै सरल । प्रधानमन्त्री पदमा हुँदा र नहुँदामा मनमोहन अधिकारीको जीवनशैलीमा खासै कुनै परिवर्तन आएन/देखिएन । सरलता र शालीनता नेपालको कम्युनिष्ट आन्दोलनमा मनमोहन अधिकारीले स्थापित गर्नुभएका अत्यन्तै मूल्यवान गुणहरू हुन् । यी मनमोहन अधिकारीका विशेषता पनि थिए ।

कहिलेकाहीँ मनमोहन अधिकारीले मलाई आफ्नो निवासमा बोलाउनु हुन्थ्यो र राजनीतिक विषयमा छलफल गर्नुहुन्थ्यो । राजा, कांग्रेस, भारत, अरू राजनीतिक पार्टीहरू, हाम्रो आफ्नै पार्टी तथा प्रगतिशील–वामपन्थी तथा देशभक्तहरूले खेल्नु पर्ने भूमिका आदि विषयमा छलफल केन्द्रित हुने गर्थ्यो ।

कहिलेकाहीँ आफ्नै पार्टीका केही नेता तथा मन्त्रीहरूद्वारा भइरहेका कामका सम्बन्धमा उहाँको टिप्पणी हुने गर्थ्यो । बाहिर आएका अनियमितता र भ्रष्टाचारका कुरामा उहाँ विशेष चासो राख्नुहुन्थ्यो र तिनका बारेमा विशेषै सोधिखोजी गर्नु हुन्थ्यो । मलाई अप्ठ्यारै लागे पनि उहाँ पटक–पटक प्रधानमन्त्री कार्यालयको तर्फबाट चर्चामा आएका अनियमितता बारे बुझ्न र ‘स्टेप लिन’ निर्देशन दिइरहनु हुन्थ्यो । मप्रतिको उहाँको विश्वासलाई अहिले पनि म अत्यन्तै आदरभावका साथ सम्झना गर्दछु ।

कुरैकुरामा एकदिन प्रधानमन्त्री मनमोहन अधिकारीले २०४७ सालको संविधान सम्बन्धमा कुरा गर्नुभएको थियो । उहाँले भन्नुभएको थियो– ‘यो संविधानमा धेरै किसिमका कमजोरीहरू भए पनि दुईवटा कुराहरू विशेष महत्वका छन् । एउटा सन्धि–सम्झौताका लागि सांसदको दुई तिहाइ बहुमत चाहिने व्यवस्था र अर्को नागरिकताको विषय ।

यहाँ देशभक्तिको भावना नभएका र राष्ट्रघाती काम गर्न समेत पछि नपर्नेहरू पनि छन् । विदेशीहरूको स्वार्थ अनुसार काम गर्नेहरूको पनि कमी छैन । हाम्रो देशमा यस्ता अनेक सन्धि–सम्झौताहरू भएका छन् । २०४७ सालको संविधानको धारा १२६ ले यस्ता कामप्रति प्रष्टसित रोक लगाएको छ ।

हाम्रो जस्तो मुलुकका लागि यो धेरै मूल्यवान र विशेष महत्वको छ । हाम्रो देशको स्रोतमाथि गिद्धे नजर लगाएर बसेका विदेशीहरू संविधानको यो व्यवस्था मन पराइरहेका छैनन् । यसलाई बदल्न चाहन्छन् ।

त्यस्तै, हाम्रो जस्तो मुलुकले नागरिकता प्रदान गर्ने विषयमा हामी त्यति उदार बन्न सक्दैनौं । संसारका कुनै पनि मुलुकले यस्तो गरेका छैनन् । नागरिकता प्रदान गर्ने कुरालाई ‘ओपन’ गर्नैहुन्न, ‘नियमित’ बनाउनै पर्छ आदि । २०४७ को संविधानका सम्बन्धमा मनमोहन अधिकारीले मलाई भन्नु भएका यी दुइटा महत्वपूर्ण विषयलाई म कहिल्यै विर्सन्नँ ।

(पोखरेल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?