 
																			१३ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले २७ चैतमा संघीय सरकारले असहयोग गरेको १७ बुँदा सार्वजनिक गर्दा स्वास्थ्य मन्त्रालयबारे पनि एउटा बुँदा समावेश गरेका थिए ।
जसमा लेखिएको थियो, ‘सरकारी अस्पताल सरसफाइ, बीमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तला भत्काउने आदेशको पालना, राष्ट्रिय एम्बुलेन्स (१०२) को काठमाडौं उपत्यकाभरी सेवा दिनलाई बजेट व्यवस्थापन– दुई मन्त्रीसँग विभिन्न चरणमा पहल गरिएको ।’
स्वास्थ्य मन्त्रालयको भवन नक्सामा तीन तलामात्र रहेकामा एकतला थपिएको भन्दै २०५४ सालमा सोसाइटी अफ नेप्लिज आर्किटेक्सको तर्फबाट मच्छेन्द्रलाल कायस्थले सर्वोच्च अदालतमा रिट दिएका थिए ।
तत्कालिन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र न्यायाधीश अरविन्दनाथ आचार्यको संयुक्त इजलासले ९ असार २०५७ मा मन्त्रालय भवनको थपिएको संरचना हटाएर भवनलाई पहिलाकै अवस्थामा राख्न आदेश दिएको थियो । मेयर साहले २३ वर्ष पुरानो फैसलाको विषय उठाएर उक्त तला फाल्न स्वास्थ्य मन्त्रालयले अटेरी गरेको उल्लेख गरेका हुन् ।
महानगरपालिकाका प्रवक्ता नविन मानन्धर नक्सा विपरीत बनेका संरचना हटाउन नसके नक्सा प्रमाणीकरण गर्नुपर्ने बताउँछन् । तर स्वास्थ्य मन्त्रालयले नक्सा विपरीतका संरचना फाल्ने वा नक्सापास कुनै पनि प्रक्रिया अघि बढाएको छैन ।
प्रशिद्ध वास्तुविद् कानको डिजाइन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पस्दा भित्तामा बाआमाले छोराछोरी डो¥याइरहेको सानो पोष्टर र त्योसंगै शिलालेख देखिन्छ । नेपाल परिवार नियोजन तथा मातृशिशु कल्याण परियोजनाको लागि बनेको यो भवनको उद्घाटन तत्कालिन राजा वीरेन्द्रले आफ्नो ३१ औं जन्मोत्सवको अवसरमा २०३२ पुस १३ गते उद्घाटन गरेको शिलालेखले बताउँछ ।
२५ असार २०३० को आगलागीमा सिंहदरबारको पश्चिम लङबाहेक अन्य भागका भवन जलेर नष्ट भए । त्यसपछि सरकारका अधिकांश निकाय सिंहदरबार बाहिर सरे । स्वास्थ्य मन्त्रालय पनि टेकुमा रहेको राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रको पुरानो भवनमा सर्यो ।
पदमसुन्दर लावती स्वास्थ्यमन्त्री भएपछि फराकिलो कार्यालयको खोजी हुन थाल्यो । त्यही मेसोमा २०३९ सालमा सिंहदरबार र सर्वोच्च अदालतको अगाडि राम शाह पथमा रहेको नेपाल परिवार नियोजन तथा मातृ शिशु कल्याण योजनाको कार्यालयमा स्वास्थ्य मन्त्रालय सरेको थियो ।
स्वास्थ्य मन्त्रालयको भवनको डिजाइन अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त आर्किटेक्ट लुई एसाडोर कानले गरेका हुन् । तत्कालिन परिवार नियोजन तथा मातृशिशु कल्याण केन्द्रको भवन निर्माण गर्नका लागि युएसएडले नेपाल सरकारलाई सहयोग गरेको थियो ।
सो सम्झौता सम्पन्न गर्ने क्रममा युएसएडले लुई कानलाई व्यवसायिक सहयोगको अनुरोध गरेको थियो र कानले डिजाइन गरेका थिए । जुन स्वास्थ्य मन्त्रालयको भवनको रुपमा प्रयोग भइरहेको छ । आधुनिक वास्तुकलाको दृष्टिकोणले नेपालमा भएको अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त भवनको रुपमा उक्त भवनले मान्यता पाएको छ ।
नेपाल परिवार नियोजन तथा मातृशिशु कल्याण केन्द्रको तत्कालिन परियोजना प्रमुख डा. रिता थापाका अनुसार डिजाइन शुल्क मात्र ६० हजार रुपैयाँ थियो ।
‘नमुना भवनलाई बिरूप पारियो’
स्वास्थ्य मन्त्रालयको यो भवन कुनै समय आर्किटेक्ट इन्जिनियरिङका विद्यार्थीका लागि अध्ययनको नमुना थियो । यो भवन नक्साअनुसार रहँदा युरोप–अमेरिकाबाट पनि इन्जिनियरिङका विद्यार्थी अवलोकन गर्न आउने गरेको स्वास्थ्य मन्त्रालयका पूर्वकर्मचारी जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बताउँछन् ।
उनका अनुसार पहिले यो भवनको कोठाहरुलाई ठूलो वा सानो बनाउन मिल्थ्यो । ‘तीन तले यो भवनमा पिलर छैन’, डा. मरासिनी भन्छन्, ‘बलियो चाहिँ कति भने २०७२ सालको महाभूकम्पले पनि यसलाई केही असर गरेन ।’
पछि यो भवनको माथिल्लो तलाको खाली ठाउँमा छानो राखेर चौथो तला बनाइयो । डा. मरासिनी भन्छन्, ‘त्यसलाई लिएर अन्तर्राष्ट्रिय रुपमै विरोध भयो । त्यसपछि बाहिरका विद्यार्थी भवन हेर्न आउन पनि छाडे ।’
भवनमा तला थप्न नदिन स्वयं डिजाइनकर्ता लुई कान र काठमाडौं महानगरपालिकाका तत्कालिन मेयर केशव स्थापितले धेरै कोशिस गरेका थिए ।
‘मन्त्रालय धाउँदा केही नलागेपछि उनीहरुले सर्वोच्च अदालत गए, सर्वोच्चले पनि थपिएको तला भत्काई भवनलाई पुरानै डिजाइनमा ल्याउन आदेश दियो’ डा. मरासिनी भन्छन्, ‘स्वास्थ्य मन्त्रालयले भने आदेश पालना गर्नुको साटो पत्र लेख्दै अदालतलाई थामथुम गरेर बसेको छ ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4