+
+

बारावासीले बिर्सन नसकेको पाँच वर्षअघिको त्यो आँधी (भिडियोसहित)

विनाश निम्त्याउने बादलको भूमरी ‘टोर्नेडो’ ले पाँच बर्ष अघि बारामा ६९ घर उडाउँदा २७ जनाको ज्यान गएको थियो, ६ सय १३ जना घाइते भएका थिए । आज उनीहरु कसरी सम्झिन्छन् त्यो दिन ?

सागर चन्द शैलेन्द्र महतो सागर चन्द, शैलेन्द्र महतो
२०८० वैशाख १३ गते २०:३२

१३ वैशाख– बारा । चैत–बैशाख सुरु भएसंगै मञ्जुर आलमको मनमा चिसो पस्न थाल्छ । अहिले पनि मौसम बिग्रन थाल्यो भने उनी छरछिमेकका बलिया घरमा ओत लाग्न पुग्छन् ।

पाँच वर्ष पहिले १७ चैत (०७५) मा आएको आँधी (टोर्नेडो) ले बारा फेटा गाउँपालिका पुरैनिया– ६ का आलमको घर उजाडेको थियो । त्यो आँधी कति शक्तिशाली थियो भने त्यसले उनको घरको जग नै उखेलेर फालेको थियो ।

२७ जनाको ज्यान गएको त्यो आँधीमा आलमले दुई छोरी गुमाए । ६१३ जना घाइतेमध्ये घरको भग्नावशेषमा च्यापिएका आलम पनि एक थिए । वीरगञ्जमा हप्तादिन अस्पताल बसेपछि घर फर्किदा उनको घर आँगनमा उत्तानो परेको अवस्थामा थियो ।

‘दुई छोरी च्यापिएर मरे, म र छोरा घाइते भयौं’, आलम सम्झिन्छन्, ‘हाम्रो घर भत्कियो । सबै उडाएर लग्यो ।’

त्यो आँधीले आलमलाई कतिसम्म त्रसित बनाएको छ भने चैत वैशाखमा मौसम बिग्रियो भने डरले उनका हातगोडा काँप्न थाल्छन् । पाँच वर्ष पुरानो घटना सम्झेर अहिले पनि उनी अताल्लिन्छन् । ‘अहिले पनि हावा चल्दा घर उडाउँछ कि भन्ने डर लाग्छ’, उनी आफू बसिरहेको घर देखाउँदै भन्छन् ।

अहिले आलम बसिरहेको घर नेपाली सेनाले बनाइदिएको हो । हावाहुरी गएको चार दिनपछि २१ चैतमा सरकारले नेपाली सेनालाई आँधीमा भत्किएका घर पुनःनिर्माण गर्ने जिम्मा दियो । नेपाली सेनाले १८ असोज ०७६ मा ८ सय ६९ वटा घर बनायो, जसमध्ये एउटा घर आलमको हो ।

दुई कोठा र एउटा शौचालयसहितको यो घर आलमको परिवारका लागि साँघुरो भएको छ । ‘छोरा बुहारीसहित परिवार ठूलो छ, यसमा दुई कोठा मात्रै छन्’, आलमले ठूलो परिवार व्यवस्थापन गर्न भनेर नयाँ घर छेउमै अर्को छाप्रो पनि बनाएका छन् ।

आँधीले धेरै प्रभाव पारेका फेटाको भरवलिया, पुरैनियाबासीले सेनाले बनाईदिएको घर साँघुरो भएपछि घरसंगै जोडेर माटो र खाँबा गाडेर छाप्रो बनाएका छन् । ठूलो परिवार हुनेहरु त्यही छाप्रोमा बस्छन् भने कतिपयले छाप्रोमा वस्तुभाउ बाँध्छन् ।

‘गाई, बकरी, भैंस राख्नलाई’, सेनाले बनाएको घर अगाडि बनाइदिएको टहरा देखाउँदै स्थानीय ध्रुव मुखियाले भने ।

फेटा गाउँपालिकामा पाँच वर्ष अगाडि गएको विनाशकारी आँधीका अवशेष अझै पनि देखिन्छन् । कतिपय ठाउँमा हावाहुरीमा भत्किएका घरका पर्खाल बाँकी छन् । आँधीपछि अस्थायी बसोबासका लागि राखिएका त्रिपाल अझै सडक किनारमा छन् ।

बाराबासीले १७ चैतको त्यो साँझ भुलेका छैनन् । ध्रुव मुखिया खाना पकाउने तयारी गर्दै थिए । तर, हुरीले उनको घर मात्र होइन घरसंगै उनलाई पनि उडायो । ‘डोजरले उचाले जसरी हावाले घर उचाल्यो, भुमरी जसरी फनफनी घुमायो’, मुखिया पाँच वर्ष अगाडिको त्यो कहालीलाग्दो साँझ सम्झिन्छन् ।

आँधीमा भत्किएको पुरानो घरको अवशेष अझै सफा गरेका छैनन् हिरामन मुखियाले । ८ जनाको परिवारका लागि सेनाले बनाएको घर साँघुरो भएपछि उनले घरसंगै जोडेर सानो छाप्रो बनाएका छन् ।

दिनभर खेतमा काम गरेर थकित भएर घर फर्किएका थिए हिरामन । चैत–वैशाखमा हावाहुरी आउनु सामान्य थियो । तर, १७ चैतको हुरी सामान्य थिए । घर नै हल्लाएपछि हिरामनले केही सोच्न नपाउँदै अन्धकार भयो ।

‘खाँदै थिए घरसहित उडाएर हामीलाई बाँसको झ्याङमा पु¥यायो’, उनी सम्झेर हाँस्छन्, ‘बहुत तकलिफ भयो, लुगाकपडा समेत उडाएर लग्यो ।’ उनका भनाइमा, आकाशमा धुलो मडारियो । घरहरु गल्र्यामगुर्लुम भए । कोकोहोलो मच्चियो । क्षणभरमै खुसी हरायो । साँझ घरमा जम्मा भएका परिवारका सदस्यहरु छुटे ।

हिरामन जस्तै धेरैसंग सम्पत्तिको नाममा जीउको लुगा मात्र बाँकी रह्यो । आँधीमा सबै जायजेथा गुमाएपछि हिरामनको परिवार चार महिनासम्म त्रिपालमा बस्यो । राहतमा आएको खानाले उनको परिवारको गुजारा चल्यो ।

सरकारले बनाइदिएको घर साँघुरो भएपनि बलियो र नयाँ पक्की घर पाएकोमा आँधी प्रभावित खुसी नै छन् । ‘घर त अहिलेको राम्रो हो, ब्लक लगाएको छ, जस्ता लगाएको छ । खुटा (खाँबो) लगाउनुपर्दैन,’ ध्रुव मुखिया सुनाउँछन् । आँधीमा उनका तीन बाख्रा मरेका थिए भने उनी घाइते भएका थिए ।

सरकारले बनाइदिएको यो घरको अर्को समस्या पनि छ । जस्तापाताले छाएका कारण ठूलो पानी पर्दा चर्को आवाज आउँछ । त्यसैले स्थानीय जानकीदेवीलाई घर चित्त बुझेपनि पानी पर्दा आउने आवाजले भने दिक्कै बनाउँछ । ‘बारिस आएको बेला टपटप हुन्छ । धुपमा पनि टकटक आवाज आउँछ’, उनी गुनासो गर्छिन्, ‘जस्तो भएपनि पुरानो घरभन्दा त ठीक छ ।’

सरकारी विवरण अनुसार, हावाहुरीका कारण नेपालमा यति ठूलो क्षति यसअघि कहिल्यै भएको थिएन । जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनुसार यो नै नेपालको पहिलो ‘टोर्नेडो’ हो ।

जल तथा मौसम विज्ञान विभाग, इसिमोड र द स्मल अर्थले गरेको अध्ययन अनुसार यो ‘टोर्नेडो’ चितवन राष्ट्रिय निकुञ्जमा सुरु भएको थियो ।

बारा पुग्दासम्म यो ‘टोर्नेडो’को औसत गति ३४ किलोमिटर प्रतिघण्टा थियो । पर्साको सखुवामा सुरु भएको यो टोर्नेडोले बाराको बैरियासम्म पुग्दा ४४ किलोमिटर यात्रा तय गर्‍यो । यो यात्रामा टोर्नेडो २ सय देखि करिब ७ सय मिटरसम्म चौडाइमा फैलियो । आफ्नो बाटोमा पर्ने हरेक चिज उडायो ‘टोर्नेडो’ले ।

विभागका प्रवक्ता सुमनकुमार रेग्मीका अनुसार यो ‘टोर्नेडो’को त्यतिखेर अनुमान गर्न सकिएको थिएन । तर अहिले भने विभागले ‘टोर्नेडो’ नै आउने भनेर अनुमान गर्न नसकेपनि हावाहुरी चल्नसक्ने भने अनुमान गरिरहेको छ । रेग्मी भन्छन्, ‘त्यतिखेर हामीसंग वेदर स्टेशन थोरै थिए । अहिले हामीले ८८ वटा नयाँ वेदर स्टेशन थपेका छौं । ती स्टेशनबाट प्राप्त तथ्यांकका आधारमा हामी हावाहुरी चल्नसक्ने अनुमान गर्छौं ।’

सोली आकारको बादलको भुमरीलाई टोर्नेडो भनिन्छ । यो बादलको भुमरीले जमिन छोएमा यसले आफ्नो बाटोमा पर्ने सबैचिज सोहोरेर उडाउँछ । यसरी विनाश निम्त्याउने बादलको भुमरी नै ‘टोर्नेडो’ हो ।

आँधी आएको पछिल्लो दिन १८ चैत (०७५) मा भरवलिया, पुरैनिया गाउँमा यत्रतत्र घरका भग्नावशेष छरिएका थिए । कति रुख भाँचिएका थिए भने कति जरैदेखि उखेलिएका थिए ।

मुश्किलले देखिन्थे सग्ला घर । पाँच वर्ष अगाडि शोकाकुल भएको फेटाको पुरैनिया, भरवलिया बस्ती अहिले भने हसिलो देखिन्छ । सिमेन्ट बल्कले बनाइएका घरमा सेतो रंग पोतिएको । छानामा निलो जस्ता राखिएको छ ।

सानो चिटिक्कको घर पाएपछि ‘टोर्नेडो’ कहर सहेका धेरैले आफ्नो पीडा भुल्ने प्रयास गरिरहेका छन् । परिवार, आफन्तजन र श्रीसम्पत्ति गुमाएका आँधी पीडित पाँच वर्ष अगाडिजस्तो आँधी फेरि नआओस् भन्ने कामना गर्छन् । ‘अब त्यस्तो विपत्ति नआओस्,’ जनक बैठा कामना गर्छन, ‘फेरि हामी त्यस्तो विपत्ती भोग्न सक्दैनौं ।’

लेखकको बारेमा
सागर चन्द

शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?