
१४ वैशाख, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आमरण अनशन बसेका नुवाकोटका किसान श्रीराम घिमिरेको जीवन रक्षा गर्न माग गरेको छ ।
कृषक परिचय पत्रको व्यवस्था गर्न, न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउन, मल, बीउ, विषादी कृषियन्त्रहरु पूर्णरुपमा अनुदान उपलब्ध गराउन माग गर्दै किसान घिमिरे ५ वैशाखदेखि काठमाडौंको भूगोलपार्कमा आमरण अनशनमा बसेका छन् ।
मानव अधिकार आयोगले बिहीबार विज्ञप्ति जारी गरी घिमिरेको स्वास्थ्य अवस्थाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । आयोगको टोलीले अनशनस्थल पुगेर अनुगमन गर्नुका साथै, अनशनरत घिमिरेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ । घिमिरेको शरीरमा ग्लुकोज र अक्सिजनको मात्रा कम भई स्वास्थ्य अवस्था जटिल बन्दै गएको पाइएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले बताएका छन् ।
आयोगले अनशनरत घिमिरेको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई जीवनको अधिकारको रक्षा गर्न, सार्थक वार्ताको माध्यमबाट तत्काल समस्याको समाधान गर्न, किसानको अधिकारका सम्बन्धमा आयोगबाट विगतमा गरिएका सिफारिसहरुको कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ ।
प्रतिक्रिया 4