+
+

गण्डकीको मुख्यमन्त्री : प्रचण्डको पासमा सुरेन्द्रराज पाण्डेको गोल

अमृत सुवेदी अमृत सुवेदी
२०८० वैशाख १४ गते १९:४६
मुख्यमन्त्री नियुक्त भएपछि सुरेन्द्रराज पाण्डे । तस्वीर सौजन्य : सुदर्शन रञ्जित

१४ वैशाख, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८(२) अनुसार पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

एमाले नेतृत्वको सरकार शनिबार नै ढलेको थियो । तर माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले पहिलो पालोमा आफू मुख्यमन्त्री हुनुपर्ने अडान राखेपछि नयाँ सरकार गठनमा विलम्ब भएको थियो । तनहुँ–१ मा १० वैशाखमा उपचुनाव थियो, चुमान पनि त्यही क्षेत्रबाट प्रदेशसभा सदस्य चुनिएका थिए ।

त्यसैले मुख्यमन्त्रीमा आलोपालो गर्न कांग्रेस तयार भयो । तर पहिलो पालोमा को भन्ने विवाद नटुंगिदा बिहीबार अपरान्ह मात्र मुख्यमन्त्री नियुक्ति हुन सक्यो ।

सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिएको ३ दिनको समय सकिनै लाग्दा पनि चुमानले पहिला आफू मुख्यमन्त्री हुनुपर्ने अडान छाडेका थिएनन् । माओवादी संसदीय दलका नेता चुमानले केन्द्रको निर्देशन नआएको भन्दै कुनै छलफल र बैठकमा भाग लिएनन् ।

तर तनहुँ–१ को उपचुनावमा कांग्रेस उम्मेदवार गोविन्द भट्टराई पराजित भएपछि माओवादी गल्यो । दुई दलका शीर्ष नेताहरुको रोहबरमा काठमाडौंमा भएको छलफलमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै पहिलो पालोमा कांग्रेस नेता पाण्डे नै मुख्यमन्त्री हुने बताए ।

बालुवाटारमा गण्डकी प्रदेशका नेताहरुसहित सत्ता गठबन्धनका शीर्ष नेताहरु ।

अहिले आफ्नो दलले कति मन्त्री पाउने र मुख्यमन्त्री कहिले फेरिने स्पष्ट हुनुपर्ने भन्दै चुमान काठमाडौं पुगे । शीर्ष नेताको छलफलबाट निर्णय दिने वचन पाएको भन्दै पोखरा फर्किएका चुमानले बिहीबारसम्म पनि सजिलै छाडेनन् । कति समयपछि मुख्यमन्त्री छोड्ने लिखित रुपमै सहमति हुनुपर्ने उनको अडान छ ।

प्रदेश प्रमुखले दिएको समय सकिने बेला चुमानले बल्ल मुख्यमन्त्री दाबीका लागि माओवादीले समर्थन दियो ।

संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनमा माओवादीले खोंचे थाप्न सक्ने कांग्रेसको अनुमान थियो । तर प्रदेश प्रमुखले १६८ (२) बमोजिम नै आह्वान गरे, कांग्रेसले अनुमान गरेजस्तै माओवादीले अड्डी लियो ।

शीर्ष नेताहरुको हस्तक्षेपपछि कांग्रेस संसदीय दलका नेता सुरेन्द्र मुख्यमन्त्री नियुक्त भए । कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेको भनिएका राजीव गुरुङ (दीपक मनाङे) सहित ३५ सांसदको समर्थनमा सुरेन्द्रराज मुख्यमन्त्री बनेका छन् । अब गण्डकीमा २२ सदस्य जितेको एमाले र २ सांसद रहेको राप्रपा प्रतिपक्षमा रहने छ ।

४ मंसिरको चुनावमा कांग्रेस, माओवादीसहित ५ दलले गठबन्धन बनाएर चुनाव लडेका थिए । राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता भइसकेका सुरेन्द्रराज पाण्डे गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यकै चुनाव लड्न चाहन्थे । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन छाडेर गोरखा २ आएपछि उनी प्रदेशमा झरे ।

प्रदेशसभा निर्वाचन क्षेत्र २(२) मा गठबन्धनको साझा उम्मेदवार बनेका पाण्डेलाई पार्टी सभापति शेरबहादुर देउवा मात्र होइन, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि गण्डकी प्रदेशको मुख्यमन्त्री बनाउने आश्वासन दिएका थिए ।

६० सदस्यीय प्रदेशसभामा कांग्रेसको एक्लै २७ सिट आयो भने माओवादीको ८ सिट । गठबन्धनको सहज बहुमत भएकाले मुख्यमन्त्री हुनेमा पाण्डे ढुक्क थिए । मुख्यमन्त्री हुने योजनाका साथ प्रदेशसभा झरेका एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी भने प्रतिपक्षी दलको नेता मात्र बन्ने अवस्था बन्यो ।

तर १० पुसमा प्रचण्डले कांग्रेस छाडेर एमालेसँग गठबन्धन गरेपछि प्रदेशमा पनि उलटफेर भयो । एमाले संसदीय दलका नेता अधिकारी, माओवादी र राप्रपाको समर्थनमा मुख्यमन्त्री बने भने कांग्रेस संसदीय दलका नेता पाण्डे प्रतिपक्षी दलको नेता भए ।

मुख्यमन्त्री नियुक्त भएको ४ दिनमै पुस २९ गते अधिकारीले प्रदेशसभामा विश्वासको मत लिए ।

त्यो बेला राप्रपाबाट मन्त्री बनेका पञ्चराम तमुले खगराजलाई विश्वासको मत माग्दै भनेका थिए, ‘यदि नेशनल खेलाडी गाउँको क्लबमा आएर खेल्छ भने एउटै खेलाडीका कारणले पनि गाउँको क्लबले विजय प्राप्त गर्न सक्छ । मुख्यमन्त्री राजनीतिमा नेशनल खेलाडी हो ।’

मुख्यमन्त्री हुने सपनामा एकाएक ट्वीस्ट आएपछि प्रमुख प्रतिपक्षी दलको नेतामा सीमित भएका कांग्रेसका पाण्डेले पनि जवाफ दिए, ‘सत्ता पक्षमा राष्ट्रिय खेलाडी आउनुभएको छ । यति पनि याद गर्नुस्, डिफेन्डर पनि देशको खेलाडी नै छ ।’

५ दलीय गठबन्धनबाट चुनाव जितेर एमाले लगायतको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड कांग्रेससँग सम्पर्कमा रहेको सभापति देउवाका विश्वासपात्र पाण्डेले थाहा पाइसकेका थिए । केन्द्रमा सत्ता समीकरण परिवर्तन हुने बुझेका उनले २१ माघमा भनेका थिए, ‘यसअघि २५ मिनेटमै अर्कैले सत्ताको गोल गर्‍यो, अब हामी फर्काउँदैछौं ।’

प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको नियुक्तिपत्र बुझ्दै सुरेन्द्रराज पाण्डे ।

प्रधानमन्त्री प्रचण्डले १२ फागुनमा गठबन्धन फेरेर रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन गरेपछि गण्डकी प्रदेशमा पनि पाण्डेलाई मुख्यमन्त्री बन्ने ढोका खुलेको थियो ।

जिल्लामा बस्ने र संगठन बनाउनेमा मिहिनेत नगरेको आरोप खेप्दै आएका सुरेन्द्रले पार्टी सभापति देउवा दाहिना हुँदा राजनीतिक छलाङ मारेको गोरखाका कांग्रेसीजन बताउँछन् ।

विद्यार्थी आन्दोलनबाट राजनीति थालेका पाण्डे २०४५ सालमा त्रिचन्द्र क्याम्पसमा स्ववियु सभापति बनेका थिए । २०४९ मा नेविसंघको केन्द्रीय सदस्य भएका पाण्डे २०५९ मा नेपाल तरुण दलको महामन्त्री बने ।

‘उनी सुरुमा प्रकाशमानसँग नजिक थिए । पछि देउवासँग नजिक भए’, कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘१२ औं महाधिवेशनमा देउवा समूहबाटै केन्द्रीय सदस्य जिते ।’

२०७४ देखि दुई वर्ष राष्ट्रिय सभा सदस्य रहेका उनी कांग्रेस संसदीय दलको नेता समेत भएका थिए । प्रदेशमा झरेपछि पहिलो पटक जनताबाट प्रत्यक्ष चुनिने अवसर पाए ।

१३ पुसमा भएको संसदीय दलको चुनावमा शेखर कोइराला–गगन थापा समूहबाट उम्मेदवार बनेका स्याङ्जाका भोजराज अर्याललाई हराउँदै दल नेता चुनिए ।

करिब ४ महिना प्रतिपक्ष दलको नेता बनेका पाण्डेले शिष्ट राजनीतिक संस्कार देखाएका थिए । अहिले प्रचण्डले राजनीतिक बल पास गरिदिएपछि मुख्यमन्त्री बनेका पाण्डेसामू कांग्रेसका मन्त्रीका आकांक्षीहरुको व्यवस्थापनदेखि माओवादी केन्द्रसँग समन्वय गरेर कसरी कसरी काम गर्छन्, त्यो हेर्न बाँकी छ ।

पाण्डेले भने प्रदेशलाई आत्मनिर्भर बनाउने गरी काम गर्ने र पर्यटन, जलविद्युत र कृषिमार्फत समृद्धि हासिल गर्ने बताएका छन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?