+
+

एनजीओले २८ वर्षसम्म सार्वजनिक जग्गा हडपेर बनाएको भौतिक संरचनामा उपमहानगरले चलायो डोजर

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १७ गते १३:४२
फोटो सौजन्य : प्रदीप गौतम

१७ वैशाख, काठमाडौं । बारामा एक गैरसरकारी संस्था (एनजीओ) ले २८ वर्षसम्म सार्वजनिक जग्गा आफ्नो कब्जामा लिएर अनधिकृत रुपमा बनाएको भौतिक संरचनामा जीतपुर–सिमरा उपमहानगरपालिकाले आइतबार डोजर चलाएको छ ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीका अनुसार करिब १५ वटा सटर र केही होटल तथा कच्ची संरचना डोजर लगाएर भत्काइएको हो । उनका अनुसार एनजीओको कब्जामा रहेको जग्गामा बनेका अनधिकृत संरचना भत्काएर सो जग्गा सरकारी स्वामित्वमा ल्याइएको छ ।

उपमहानगरपालिकाका अनुसार २०५२ सालमा ‘वीरगञ्ज जीतपुर गौशाला’ नामको एक गैसरकारी संस्था दर्ता गरेर जीतपुरको मुख्य बजारको करिब एक बिघाहा सार्वजनिक जग्गा भोगचलन हुँदै आएको थियो ।

भूमिसुधार लागु भएपछि २०२२ सालमा जीतपुरको जग्गा नापी गराएर जीतपुर गौशालाका नाममा फिल्डबुक तयार भएको थियो । सोही फिल्डबुकको आधारमा २०३६ सालमा तत्कालीन प्रधानपञ्चको कार्यालयबाट सिफारिस लिएर जीतपुर गौशालाका नाममा लालपूर्जा कायम भएको थियो ।

जीतपुर गौशालाको नाममा रहेको जग्गा हडप्ने मनासयले केही व्यक्तिहरु मिलेर २०५२ सालमा जिल्ला प्रशासन कार्यालय पर्सामा ‘जीतपुर वीरगंज गौशाला’ नामक गैरसरकारी संस्था खोली अनाधिकृत रुपमा जग्गा अतिक्रमण गरिरहेको भन्दै उपमहानगरले जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतसम्म पुगेको थियो । सर्वोच्चले २३ जेठ २०७९ मा जीतपुर वीरगञ्ज गौशाला नामको गैरसरकारी संस्था वा व्यक्ति विषेशको नहुने फैसला गरेपछि उक्त जग्गा सार्वजनिक कायम भएको थियो ।

सोही फैसलाको आधारमा उपमहानगरपालिकाले आइतबार गौशालामा रहेको अनधिकृत भौतिक संरचना भत्काइएको मेयर राजन पौडेलले जानकारी दिए । फैसलापछि जीतपुरसिमरा उपमहानगरपालिकाको सातौं नगरसभाले सार्वजनिक जग्गा अतिक्रमण हटाउने निर्णय गरेको थियो ।

उपमहानगरले गौशालामा रहेका गाइहरुको हेरचाहका लागि आइतबारबाटै २ जना दैनिक ज्यालादारीमा कर्मचारी राखेको पुरीले बताए । जग्गा हडप्ने संस्थाले सटर लगायत संरचना भाडा लगाएर रकम उठाउँदै आएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?