+
+

फ्लाइ दुबईको घटनामा ‘उड्डयन राजनीति’

नेपालमाथि नै प्रश्न गर्दै दुबई एभिएसनको पत्र

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० वैशाख १८ गते २२:४६

१८ वैशाख, काठमाडौं । ११ वैशाखको राति दुबईका लागि काठमाडौंबाट उडेको फ्लाइ दुबईको विमानमा आएको समस्यालाई लिएर नेपाल र दुबईको जनरल नागरिक उड्डयन प्राधिकरणबीच जुहारी चलेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईका नेपाल प्रतिनिधिमाथि विमानस्थल प्रवेशमै रोक लगाएको छ भने दुबई नागरिक उड्डयन प्राधिकरणले नेपालमाथि नै प्रश्न गरेर पत्र पठाएको छ । उड्डयन अधिकारीहरुका अनुसार विमान प्रकरणमा अब ‘उड्डयन राजनीति’ सुरु भएको छ । ठूलो कम्पनीको छवी जोडिएकाले गम्भीर घटनामा पर्याप्त अनुसन्धान नगरी नेपाललाई नै दोष थोपारेर आफू उम्किन दुबईका सरकारी अधिकारीहरु नै लागेको बुझाइ नेपाली पक्षको छ ।

११ वैशाखको राति ९ बजेर १९ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमानको पँखेटातर्फको भागमा ९ बजेर २० मिनेटमै आगोको लप्का देखिएको थियो । ठूलो आवाजसहित पड्किँदै आगो देखिएपछि विमानस्थल आसपासका क्षेत्रका मानिस त्रसित भएका थिए । विमान चालकले पनि एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग ‘मेडे’ मागेका थिए । मेडे भन्नाले विमान इमर्जेन्सी अवस्थामा पुगेको र रन–वे खाली गरिदिन अनुरोध गरेको बुझिन्छ ।

लगत्तै विमानस्थल अन्य विमानहरुका लागि बन्द भएको थियो भने सम्भावित दुर्घटनालाई मध्यनजर गरेर आकस्मिक अवस्थाका लागि सबै तयारीहरु गरिएका थिए ।
तर, फ्लाइ दुबईको विमान आकस्मिक अवतरण भएन । धादिङको धार्केमाथको आकाशमा विमान होल्ड गरेर आफ्नो इन्जिनको अवस्थाको परीक्षणहरु गर्दै ‘सबै ठीक छ, म दुबई उडानलाई निरन्तरता दिन्छु’ भन्दै गन्तब्यतर्फ लाग्यो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुका अनुसार यस्ता आकस्मिक घटनाहरुपश्चात रन–वे सुपरीवेक्षण गर्नुपर्ने उड्डयनको प्रोटोकल अनुसार जाँच भएको थियो । रन–वेको छेउमा एउटा मरेको भगेंरा भेटिएको थियो । प्रोटोकलअनुसार नै भगेंराबारे फ्लाइ दुबईका पाइलटलाई जानकारी गराइएको थियो ।

यति जानकारी लिएर नेपाली आकाश छाडेको विमान सहज अवस्थामै दुबई अवतरण गर्यो । तर, विमान दुबईमा अवतरण गर्नुअघि नै गभर्मेन्ट अफ दुबई मिडिया अफिसको आधिकारिक ट्विटर ह्यान्डलमार्फत काठमाडौंबाट टेक–अफ गर्ने बित्तिकै जहाजमा चरा ठोक्किएको र स्ट्यान्डर्ड प्रोसेड्योर फलो गर्दै जहाज दुबईतिर प्रस्थान गरेको जानकारी दिइयो ।

यो ट्विटले नेपाली उड्डयन अधिकारीहरुको दिमाग हाल्लायो । किनकी काठमाडौंबाट गएको विमान दुबईमा अवतरण भएकै थिएन, झन् प्राविधिक जाँच हुने कुरै भएन ।
अधिकारीहरुका अनुसार रन–वे सुपरीवेक्षणका क्रममा मृत चरा भेटिएको जानकारी मात्र दिइएको थियो, विमानमा आगो देखिनुको कारण चरा ठेक्किनु नै हो भन्ने पुष्टि भएको थिएन । त्यही अधुरो सूचनाकै आधारमा विमानस्थलमा उडान भर्ने क्रममा चरा ठोक्किएको हो भन्ने सूचना प्रवाह गरेपछि नेपालका प्राधिकरणका अधिकारीहरु रुष्ट बने ।

‘पहिलो कुरा त राति भगेंरा त्यति माथिसम्म उड्दैन, त्यो भगेंरा पनि सुकेको अवस्था थियो, कम्तिमा ३ दिनअघि नै मरेको जस्तो देखिन्थ्यो,’ प्राधिकरण स्रोत भन्छ, ‘त्यही भगेंरालाई देखाएर नेपाली आकाशलाई असुरक्षित रहेको सन्देश दिने काम भयो, त्यो पनि प्रेटोकालअनुसार विमानको अवतरणपछि विमानको प्राविधिक जाँच नसकिँदै ।’ विमान कम्पनीले आफ्नो सुरक्षा पक्ष कमजोर नहरेको सन्देश दिन पनि यस्तो गरेको आशंका नेपाली पक्षलाई छ ।

यसैपनि नेपाली आकाशमा विमानको सुरक्षामाथि प्रश्न उठ्ने गरेको छ । यूरोपेली युनियनको सुरक्षा चासोको सूचीमा रहेको नेपाली आकाशमा भएको यो घटनामा दुबईको उड्डयन प्राधिकरणमार्फत अनुसन्धान नै पूरा नगरी विवरण सार्वजनिक गर्नु अन्तर्राष्टिय हवाई उड्डयनको नियम विपरीत भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको ठहर गरको थिए । त्यसकै प्रतिक्रिया स्वरुप प्राधिकरणले भोलिपल्टै फ्लाइ दुबईका नेपाल हेर्ने प्रबन्धक र त्रिभुवन विमानस्थल हेर्ने प्रबन्धकलाई विमानस्थल प्रवेशमा रोक लगाइ दिएको थियो । साथै गम्भीर आपत्ति जनाउँदै दुबई नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार समेत गर्यो ।

दुबई नागरिक उड्डयन प्राधिकरणले पनि त्यसको जवाफी पत्र पठाएको छ, जसमा नेपाली पक्षमाथि पनि प्रश्न उठाएको छ । उसले विमानको राइट इन्जिनमा समस्या देखिएको स्वीकार गरेको छ । वरिष्ठ क्याबिन क्रुले भनेपछि मात्रै आगोको लप्का देखेको जानकारी पाइलटले गराएको र नेपालको एयर ट्राफिक कन्ट्रोलरले रन–वेको छेउमा प्वाँख भेटिएको जानकारी दिएको पनि उल्लेख गरेको छ ।

तर, अवतरणपछि चेकजाँच गर्दा चरा ठोक्किएको कुनै संकेत नभेटिएको भन्दै उसले नेपाली एयर ट्राफिक कन्ट्रोलरले के आधारमा रन–वेमा प्वाँख भेटिएको निर्दिष्ट गरे भनेर नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सोधेको छ । साथै घटनाबारे नेपाली सञ्चार माध्यमहरुलाई आधिकारिक रुपमा प्राधिकरणले के जानकारी दिएको दिएको थियो ? र, यो घटनामा नेपाल नागरिक उध्ययन प्रधिकरणको मनशाय के थियो भनेर प्रश्न पनि गरेको छ ।

घटनाका अनुसन्धानका क्रममा दुबईले सोधेका प्रश्नहरुले नेपाली उड्डयन अधिकारीहरु चकित परेका छन् । बोइङ कम्पनीको विमान भएकाले देखिएका यस्ता घटनालाई अन्यत्र मोड्न जोडबल लगाइरहेको नेपाली पक्षको आशंका छ ।

‘हामीजस्ता मुलुकलाई सकेसम्म यस्ता घटनामा कमजोर पार्ने प्रयास हुन्छ,’ प्राधिकरण एक अधिकारीले भने, ‘चरा नठोक्किएको र विमानको दायाँतर्फको इन्जिन ‘स्टल’ भएको भन्ने उल्लेख भएको दुबईको उड्डयन प्राधिकरणको पत्रले पनि घटना विमानकै समस्यामा आधारित थियो भन्ने पुष्टि हुन्छ ।’

प्राधिकरण सूचना अधिकारी ज्ञानेन्द्र भुल भने अहिलेसम्म दुबईबाट घटनाको विस्तृत अनुसन्धान भएर प्रतिवेदन आइनसकेको बताउँछन् । पाइटलले त्यहाँको प्राधिकरणलाई दिएको रिपोर्ट पाएको र त्यसले विमानस्थलमा उडानका क्रममा चरा नठोक्किएको पुष्टि हुने उनले बताए ।

‘विमानसम्बद्ध कुनै पनि घटनाको अनुसन्धान प्रतिवेदन उडान हुने र गन्तब्य मुलुक बीचको साझा सहमतिमा फाइनल हुन्छ,’ भुलले भने, ‘दुुबईले घटनाबारे प्रतिवेदन दिएपछि हामी त्यसमा आफ्नो प्रतिक्रिया पठाउँछौं, हामी प्रतिवेदनको पर्खाईमा छौं ।’

यदि विमान कम्पनीको लापर्वाही देखिए कारवाहीका लागि नागरिक उड्डयन प्राधिकरणले दुबईको उड्डयन प्राधिकरणलाई लेखेर पठाउने समेत उनले बताए ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?