+
+

‘बहिनीलाई खायो, उसका छोराछोरी बाघबाट कसरी जोगाउने भन्ने चिन्ता छ मलाई’

सरकारले वनजंगल किनाराका बस्तीहरुलाई जंगल नगइ कुनै काम गरेर आम्दानी हुने, घर खर्च चलाउने सक्ने वातावरण मिलाइ दिनुपर्‍यो । नत्र, हामीलाई बाघले सिध्याउँछ ।

पबित्रा थारु, मृतककी दिदी पबित्रा थारु, मृतककी दिदी
२०८० वैशाख २२ गते २०:३८

२४ पुस २०७९ मा घास काटन गएको बेला बहिनी चाँदनी थारुको बाघको आक्रमणमा परेर मृत्यु भएको हो । बाँके जिल्लाको राप्तीसोनारी-६ फत्तेपुरमा जंगलसँगै जोडिएको गाउँमा बहिनीको कच्ची घर छ ।

उनका दुई नाबालक छोरा छोरी छन् । छोरा १० र छोरी ६ कक्षामा पढ्छन । उनीहरुको आफ्नो नाममा जग्गा जमिन छैन । ऐलानी जग्गामा बस्दै आएका छन् । ज्याला मजदुरी गरेरै उनीहरुले परिवार चलाउँदै आएका थिए ।

उनीहरुका तीन दाजुभाइ छन् । दाजुभाइ छुट्टाबन्डा भएको तीन/चार महिनामै बहिनीको बाघको आक्रमणमा परेर ज्यान गयो । उनीहरु घरमा बुवासँगै बस्दै आएका थिए । तर, आमा नहुँदा बहिनीका नाबालक छोरा छोरीको विचल्ली भएको छ ।

बच्चाहरुले आफूलाई लागेको कुरा आमालाई जस्तो सहजै बुवालाई भन्न सक्दैनन । बहिनीको छोरा आजै मेरो घरमा आएको थियो । स्कुल गयौ बाबु भनेर सोधेको गइन भन्यो, किन नगएको भनेर सोधेको झोला नभएर भन्यो । उसको कुरा सुन्दा मन खिन्न भयो । मलाई उनीहरुको पढाइ लेखाइ पालनपोषण कसरी होला भन्ने चिन्ता छ ।

मेरो आर्थिक अवस्था पनि कमजोर नै छ । मैले चाहेर पनि उनीहरुलाई सहयोग गर्न सक्ने अवस्था छैन । मैले सकेको सहयोग गर्दै आएकी छु । उनीहरुलाई मामाघरकी हजुरआमाले पनि सहयोग गर्दै आउनुभएको छ । आफ्नै बुवाले पनि सक्दो गरिरहनु भएको होला ।

कहिले काँही उनीहरुको घरमा जान्छु घर फोहरै फोहर हुन्छ । लिपपोत गरिदिन्छु । मिठो मसिनो पाक्दा बोलाएर खान दिन्छु । तर त्यतिले मात्रै उनीहरुको आवश्यकता पूरा हुँदैन ।

बाघले मारेर ज्यान गएपछि सरकारले १० लाख राहत दिएको छ । त्यो रकमले तत्कालका लागि केही राहत भएको छ । तर, सरकारले उनीहरुको पढाइ लेखाइ र रोजगारीका लागि विशेष व्यवस्था गरिदिनु पर्छ ।

त्यो राहत रकम बहिनीज्वाइँ सतिशरणले बैंकको मुद्दती खातामा राख्नुभएको छ । अहिले पनि ज्याला मजदुरी गरेर बहिनीज्वाइँ सतिशरणले बच्चाहरु हुर्काइरहनु भएको छ । अर्काे बिहे पनि गर्नु भएको छैन । तर उहाँलाई ती नाबालक बच्चाहरुलाई राम्रोसँग लेखपढ गराएर हुर्काउन धेरै गाह्रो छ ।

उनीहरुको राम्रोसँग पढाइ लेखाइ भयो र कतै जागिर पाए भने बहिनी जस्तै उनका छोरा छोरीलाई वन जंगलमा निर्भर हुनु पर्दैन । उनीहरुलाई वन जंगल जान नपरोस भन्ने मेरो कामना छ ।

हामी गरीब तथा विपन्न परिवार वन जंगलमा धेरै आश्रित छौं । गाई बाख्रा चराउन, घाँस दाउरा लिन, पात टिप्न जंगल नगइ हुँदैन । बाघको आक्रमणबाट मेरी बहिनी चाँदनीसहित हाम्रै क्षेत्रका तीन/चार जनाको मृत्यु भएपछि मलाई त जंगल जान पनि धेरै डर लाग्छ ।

गाउँमा दर्जनबढी पशु चौपायामाथि पनि बाघ र चितुवाले आक्रमण गरेका छन् । बहिनीलाई मार्ने बाघलाई निकुञ्जका कर्मचारीहरुले समातेर लगेपछि डर केही कम भएको छ । सरकारले जंगल किनाराका बस्तीहरुमा जंगल नगइ अन्य कुनै काम गरेर आम्दानी हुने, घर खर्च चलाउने सक्ने वातावरण मिलाइ दिनुपर्‍यो । नत्र हामीलाई बाघले सिध्याउँछ ।

बाघको आक्रमणको घटना पछि वन, निकुञ्ज कार्यालयका कर्मचारी सिडियो एसपी, नेताहरु, पत्रकारहरु घरमा आएर हामीलाई सान्त्वना दिनुभयो । घटना पुरानो हुँदै गएपछि कोही फर्किएर आएका छैनन । आफूलाई परेको समस्या र मनमा लागेको कुरा पनि हामीले कसलाई भन्ने । हाम्रो समस्या हेरेर, हाम्रो कुरा सुनेर सहयोग र सान्त्वना दिने कोही भइदिओस् भन्ने लाग्छ ।

बहिनी कै जस्तो हाम्रो परिवार र छिमेकीहरुको बाघको आक्रमणमा परेर ज्यान जाने अवस्था नहोस भन्ने मेरो चाहाना छ ।

(२४ पुस २०७९ मा घाँस काट्न जाँदा बाँकेको राप्तीसोनारी-६ फत्तेपुरको जंगलमा बाघको आक्रमणमा परेर मारिएकी चाँदनी थारुकी दिदी पबित्रा थारुसँग पत्रकार कृष्ण अधिकारीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?