+
+

जिनले मान्छेको गुण निश्चित गर्छ ?

डा. विनोद ढकाल डा. विनोद ढकाल
२०८० वैशाख २२ गते १४:०५

मानव शरीरमा २५ हजारभन्दा बढी जिन हुन्छन् । जिन डीएनए अणुको सानो भाग हो, जसले शरीरमा प्रोटिन बनाउन निर्देशन दिन्छ । प्रत्येक क्रोमोजोममा हजारौंको संख्यामा जिन हुन्छन् । जिन एक प्रकारको रसायनबाट बनेका हुन्छन् । कुनै पनि जीवमा हुने डीएनएलाई त्यस जीवको जिन पनि भनिन्छ ।

जिनले नै मान्छेको गुण निश्चित गर्छ । यसबाट बच्चाको पैतृक वा वंशाणुगत गुण, छालाको रंग, उचाइ, कपालको रंग र प्रकार, स्वास्थ्य, वृद्धि, व्यक्तित्व आदि निर्धारण हुन्छ । प्रत्येक लक्षण र चिन्हका लागि अलग अलग जिन हुन्छन् ।

जिन शक्तिशाली र कमजोर गरी दुई प्रकारका हुन्छन् । कुनै बच्चामा प्रत्येक लक्षणको लागि एउटा जिन आमाबाट र एउटा बाबुबाट आउँछ । शुक्रकीट वा अण्डाभित्र पनि जिन आफैं बन्दैन । उनीहरूले पनि आफ्ना आमाबाबुबाट जिनहरू पाएका हुन्छन् ।

वंशाणुगत रूपमा प्राप्त जिन नै हरेक आमाबाबुले आफ्नो सन्तानलाई दिन्छन् । आफ्ना आमाबाबुबाट प्राप्त भिन्नाभिन्नै एक एक जिन जुन बच्चामा आउँछन्, त्यसबारे दुवै जिन प्रभावशाली आउँछन् या कमजोर आउँछन् भन्न सकिंदैन ।

वंशाणुगत गुणमा फरक आउने कारण जिनमा भएको प्रोटिनको मात्राको फरक हो । तर पनि यो मान्छे आमाबाबु जस्तै मोटो, दुब्लो, रिसाहा, शान्त, गम्भीर, कस्तो होला भनी अन्दाज गर्न सकिन्छ ।

जिनमा परिवर्तन गरेर मानिसको वंशाणुगत गुण कसरी बदलिन सकिन्छ भनेर विभिन्न वैज्ञानिक खोजहरु भइरहेका छन् ।

जिनका कारण देखापर्ने स्वास्थ्य समस्या

धेरै रोग दूषित वातावरण र परिस्थितिबाट उत्पन्न हुन्छन्, तर केही रोग भने जन्मसँगै आमाबाबुबाट प्राप्त जिनका कारण हुन्छन् । त्यसलाई आनुवंशिक विकार भनिन्छ । क्यान्सर, थ्यालेसेमिया, हेमोफिलिया, मधुमेह, उच्च कोलेस्टेरोल, मोटोपन, मुटुसम्बन्धी रोग वंशाणुगत कारणले पनि हुन्छन् ।

जिनबाट हुने समस्या कसरी न्यून गर्ने ?

वंशाणुगत रोग लागेपछि त्यसको उपचार गर्न गाह्रो हुन्छ । बच्चा जन्मिनुअघि नै केही उपाय अपनाउन सकिन्छ, जसले वंशाणुत रोग बच्चामा नसरोस् । आईभीएफमार्फत एकै पटक धेरै भ्रूण बनाइन्छ । यस्तो अवस्थामा बायोप्सी वा अन्य तरिकाले भ्रूण परीक्षण गरेर रोगबारे थाहा पाउन सकिन्छ । यस अवस्थामा खराब जिन भएको भ्रूणको स्थानमा स्वस्थ भ्रूण प्रत्यारोपण गर्न सकिन्छ ।

बच्चाको योजना बनाउनुअघि डाक्टरको सल्लाह लिइयो, पारिवारिक रोगबारेमा डाक्टरलाई बताएर स्वास्थ्य जाँच गराइयो भने पनि जेनेटिक रोगबाट बच्चालाई बचाउन सकिन्छ । गर्भ रहनुअघि जेनेटिक जाँचबाट भविष्यमा हुन सक्ने जोखिमलाई टार्न सकिन्छ ।

जेनेटिक परीक्षण 

जेनेटिक टेस्ट सामान्यतः कुनै व्यक्तिको डीएनए वा क्रोमोजोम जाँच्नका लागि गरिन्छ । जेनेटिक टेस्टिङको सहयोगले जिनमा कुनै विकार छ वा छैन भन्ने कुरा पत्ता लगाउन सकिन्छ ।

यो परीक्षणबाट जेनेटिक विकारको पहिचान गर्न रगत वा शरीरको कुनै भागको सानो नमुना लिएर त्यसको विश्लेषण गरिन्छ । त्यसबाट जिनको गुण र प्रोटिनको संरचना परिवर्तनबारे थाहा पाउन सकिन्छ । परिवारमा जेनेटिक रोग छ भने यो परीक्षण आउने पुस्तामा रोगको अवस्था पत्ता लगाउन लाभदायक हुन्छ ।

(डा. ढकाल धुलिखेल अस्पतालका प्याथोलोजिस्ट हुन् । उनीसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?