२२ वैशाख, काठमाडौं । शुक्रबार संखुवासभामा सिम्रिक एयरको ‘९एन-एजेजेड’ हेलिकप्टर दुर्घटनामा पर्यो । भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । हाइड्रोपावरको सामान ओसार्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
१ वैशाख २०७६ मा लुक्लामा मनाङ एयरको होलिकप्टर दुर्घटनामा परेपछि लामो समयसम्म हलिकोप्टर दुर्घटनामा परेको थिएन ।
तर, पछिल्लो एक महिनाको अवधिमा मात्रै तीनवटा हेलिकप्टर दुर्घटनामा परिसकेका छन् । गत २५ चैत, २०७९मा काठमाडौंको ह्याम्स अस्पतालमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको थियो । अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टरको पछाडिको पुच्छरको पंखा खुस्किएएर दुर्घटनामा परेको थियो ।
त्यसको भोलिपल्ट २६ चैतमा धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो । कार्गो लिएर गएको हेलिकप्टर दुर्घटनामा मानवीय क्षति भने हुन पाएन ।
लगातारको दुर्घटनाले हेलिकप्टर उडानको सुरक्षामा प्रश्न उठाएको छ । पटक–पटक हुने यस्ता दुर्घटनाले युरोपियन युनियनको हवाई सुरक्षा चासोको सूचीबाट हट्न प्रयासरत नेपाललाई झनै अप्ठेरो पर्ने देखिएको छ ।
उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला भने हवाई सुरक्षाका लागि सबै उपायहरु अपनाउँदा पनि पछिल्लो महिनामा प्राविधिक कारणबस केही दुर्घटना हुन पुगेको बताउँछन् । ‘दुर्घटनामा प्राविधिक कारण छन्, तर हामी यस्ता दुर्घटनाहरु हुन नदिन गम्भीर भएर लागेका छौं,’ उनले भने ।
पछिल्लो १० वर्षमा मात्रै नेपालमा १५ वटा हेलिकप्टर दुर्घटना भएका छन् । उड्डयन प्राधिकरणले सन् २०२२ सम्मको तथ्यांक संकलन गरी तयार पारेको रिपोर्टअनुसार सन् २०१८ मा सबभन्दा धेरै तीनवटा हेलिकप्टर दुर्घटनामा परेका थिए । त्यसपछि यसैवर्ष सन् २०२३ मा नै ३ वटा दुर्घटना भएका छन् । प्रतिवेदनअनुसार २०१५, २०१६ र २०१९ मा भने दुई–दुई वटा हेलिकप्टर दुर्घटनामा परेका थिए ।
कुल ४० दुर्घटनामा ९७ जनाको मृत्यु
तथ्यांकअनुसार नेपालको हवाई इतिहासमा ४० वटा हेलिकप्टर दुर्घटना भइसकेका छन् । यस्ता हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको संख्या ९७ पुगिसकेको छ ।
नेपाल नागरिक उयन प्राधिकरणका अनुसार नेपालमा पहिलो हेलिकप्टर दुर्घटना सन् १९७९ मा लाङटाङमा भएको थियो । यो समय भीभीआईपी हेलिकप्टोर दुर्घटनामा ६ जनाले ज्यान गुमाएका थिए ।
सन् १९९७ मा थुप्तेन छोलिङमा १ जनाको ज्यान जाने गरी कर्णाली एयरको हेलिकप्टर दुर्घटना भयो । सन् १९९८मा मूलखर्कमा भएको अर्को दुर्घटनामा ३ जनाको ज्यान गयो ।
सन् २००३ मा रारा तालमा फिस्टेलको हेलिकप्टर खस्यो, जसमा ४ जनाको निधन भयो । सन् २००२ मा एसियन एयरको हेलिकप्टरमा सवार ११ जनाले सोलुखुम्बुमा मृत्युवरण गरे ।
सन् २००३ मै सिम्रिक एयरको हेलिकप्टर सगरमाथा बेस क्याम्पमा दुर्घटनामा पर्दा २ जनाको ज्यान गयो । २००५मा रामेछापको ठोसेमा हेलि हान्सको हेलिकप्टर दुर्घटना हुँदा ३ जनाले ज्यान गुमाउनुप¥यो ।
सन् २००६मा सबैभन्दा ठूलो हेलिकप्टेर दुर्घटना भयो । वन राज्यमन्त्री गोपाल राईसहित संरक्षणविद् हर्क गुरुङ लगायत सवार श्री एयरलाइन्सको हेलिकप्टर ताप्लेजुङको घुन्सामा दुर्घटनामा पर्दा २४ जनाको एकै चिहान भए । जुन दिनलाई संरक्षणकर्मीले कालो दिनमा रुपमा मनाउने गरेका छन् ।
२०१०मा फिस्टेल एयरको हेलिकप्टर अम्दाब्लम हिमालमा दुर्घटनामा पर्दा २ जनाले ज्यान गुमाए । सन् २०१३ र २०१४मा क्रमशः सिमिकोट र सिन्धुपाल्चोकमा भएको हेलिकप्टर दुर्घटनामा १÷१ जनाको निधन भयो । २०१५मा माउन्टेन हेलीको हेलिकप्टर सिन्धुपाल्चोककको यमुना डाँडामा खस्यो, जसमा ४ जनाको ज्यान गयो ।
यस्तै २०१५मा भूकम्प प्रभावितको उद्धारका लागि गएको अमेरिकी सेनाको हेलिकप्टरमा दोलखाको घोर्थलीमा दुर्घनामा हुँदा अमेरिकी सैनिकसहित १३ जनाले ज्यान गुमाए ।
फेरि २०१६ मा नुवाकोटको बेतिनीमा फिस्टेलको हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भयो ।
२०१८मा हिल्सामा मनाङ एयरको होलिकोप्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भयो । सोही वर्ष अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटको मैलुङमा खस्दा ६ जनाको घटनास्थलमै ज्यान गएको थियो ।
सन् २०१९मा पर्यटन क्षेत्रका विभागीय मन्त्री रवीन्द्र अधिकारीले नै हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनुप¥यो । जसमा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ र निर्देशक ध्रुब भोछिभया तथा पर्यटन व्यवसायी आङछिरिङ शेर्पासहित ७ जनाको निधन भएको थियो । ४४ वर्षका बीचमा भएका अन्य हेलिकप्टर दुर्घटनामा कैयौं घाइते पनि भएका छन् ।
हेलिकप्टर दुर्घटनापछि गठन भएका अधिकांश छानबिन आयोगले नेपालको कठिन भौगोलिक अवस्थिति, छिनछिनमा परिवर्तन हुने मौसम र मौसम तथा भूगोलको परवाह नगरी उडान गर्ने पाइलटको प्रवृत्तिलाई मुख्य कारण ठह¥याउने गरेका छन् ।
किन बढ्यो दुर्घटना ?
विकट तथा कठिन भौगोलिक क्षेत्रमा प्राकृतिक विपत पर्दा र स्थानीय तथा पर्यटकहरु बिरामी पर्दा उद्धारका हेलिकप्टर प्रभावकारी यातायात साधन बनेको छ ।
दुर्गम क्षेत्रमा ढुवानी मात्र होइन, हिमाली भेगमा पर्यटकहरु ओसारपसारमा हेलिकप्टर प्रयोग बढ्दो छ । पर्यटकीय सिजनमा खुम्बु, अन्नपूर्ण र हुम्लाको सिमकोट क्षेत्रमा अधिक हेलिकप्टर उडान हुने गरेको छ । सहासिक पर्यटनदेखि वृत्तचित्र तथा चलचित्र निर्माणका क्रममा पनि हेलिकप्टरको प्रयोग बढेको छ । मेला महोत्सवमा हेलिकप्टर राखेर सःशुल्क उडानको मज्जा दिने क्रम बढेको छ ।
प्रयोग बढिरहँदा पनि नेपालमा जमिन नजिक उड्ने एयरक्राफ्टलाई मौसम र भूगोलको अवस्थितिबारे यकिन जानकारी दिने प्रणाली विकास भएको छैन । काठमाडौंबाट पोखरा उडेको हेलिकप्टरलाई दुई विमानस्थलको मौसमबारे जानकारी हुने, तर इनरुटको मौसमबारे थाहा नहुने अवस्था छ । हवाईजहाजहरु निकै उचाइमा उड्ने हुँदा इनरुटका डाँडाकाँडामा ठोक्किने सम्भावना कम भएपनि हेलिकप्टर भने पाइलटले आँखाले देखेको भूगोलकै आधारमा उड्नुपर्ने हुन्छ ।
हेलिकप्टरले धेरै अवस्थामा हेलिप्याड नभएको स्थानमा ल्याण्ड गर्नुपर्ने बाध्यता समेत हुन्छ । भएका हेलिप्याडहरुमा सुधार गरेर दुर्घटना न्युन गर्न सकिने भएपनि त्यसतर्फ कसैले ध्यान दिएको छैन । हेलिकप्टर उडानमा पाइलट र त्यसको चेकजाँचका कम्पनीका कमजोरीका घटना पनि देएिका छन् ।
एयर ट्राफिक कन्ट्रोलको निर्देशन नमान्ने, कुहिरोभित्र नछिर्ने लगायतका तोकिएका मापदण्ड पालना नगर्ने, जमिनकै नजिक हेलिकप्टर उडाएर हवाई गतिविधि गर्ने र तोकिएको भन्दाबढी लोड बोक्ने गतिविधिमा हेलिकप्टर संलग्न भएका छन् ।
उड्डडन प्राधिकरणले कतिपय पाइलटलाई कारवाही पनि गर्दै आएको छ । २३ मार्चमा उडान सुरक्षा मापदण्ड मिचेपछि फिस्टेल हेलिकप्टर, एयर डाइनेस्टी र अन्नपूर्ण हेलिकप्टरका पाइलट कारवाहीमा परे । २७ अप्रिलमा अल्टिच्यड एयरका वरिष्ठ क्याप्टेन र मर्मत प्रबन्धकलाई अनिश्चितकालीन निलम्बन गरेको थियो । हेलिकप्टर उडानअघि र पछि नियमित चेकजाँच नगरेपछि उनीहरु कारबाहीमा परेका हुन् ।
उड्डन प्राधिकरणका प्रवक्ता निरौला हवाई सुरक्षा कायम गर्न आफूहरु प्रतिबद्ध भएर लागेको बताउँछन् । ‘हामी सुरक्षालाई प्राथमिकतामा राखेर विभिन्न प्रयास गरिरहेका छौं,’ उनले भने, ‘पछिल्ला घटनाहरुलाई बाहिरबाट हेर्दा जेजस्तो देखिएपनि प्राविधिक विषय हुन्, हामी हवाई सुरक्षा सुनिश्चित गर्न प्रयासरत छौं ।’
प्रतिक्रिया 4