
२५ वैशाख, काठमाडौं । धितोपत्रको भित्री कारोबार धितोपत्र कारोबारमा जालसाजी गरेको आरोपमा ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानविरुद्ध रिट दायर भएको छ । सरकारी वकिलको कार्यालयले प्रधानलाई धितोपत्र ऐनको दफा ९८ को बजारमा जालसाजी युक्त कारोबार गरेको देखिएको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
धितोपत्र सम्बन्धी ऐनको दफा ९८ मा कसैले कसैसँग धितोपत्र खरिद बिक्री वा विनिमय गर्ने उद्देश्य लिई कसैलाई झुक्याउन कुनै प्रविधि, योजना वा काम गरेमा, कसैलाई झुक्याएर कुनै काम गराएमा वा काममा लगाएमा जालसाजी गरेको मानिने उल्लेख छ ।
नेपाल हाइड्रो डेलपर्स कम्पनीको अध्यक्षबाट बाहिरिएको एक वर्ष नपुग्दै उनले धितोपत्र लगायतका कानुनमा रहेको छिद्र प्रयोग गरी श्रीमती, छोरा र छोरीको नाममा घरायसी नामसारीको परिपञ्च गरी सोही सेयर बिक्री गरेको अवस्था देखिएकोले सरकारी वकिलको कार्यालयले उनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।
नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले र रिडी हाइड्रोपावरको तत्कालीन अध्यक्ष गुरु न्यौपानेले अनाधिकृत सेयर कारोबार गरेको ठहर गर्दै नेपाल धितोपत्र बोर्डले २४ मंसिरमा दुवै जनालाई कारबाही गर्ने निर्णय गरेको थियो । दुवै जनाविरुद्ध भित्री कारोबार अनुसन्धान गर्न तहकीकात अधिकृत नियुक्त गरेको थियो । तहकीकात अधिकृतको प्रतिवेदनको आधारमा प्रधानले जालसाजी गरेको देखिएकोले उनीविरुद्ध सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको हो । उनले संस्थागत गतिविधि भन्दापनि बजार मूल्यबाट लाभ लिने गरी कारोबार गरेको भन्दै मुद्दा दर्ता भएको छ ।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) विपरीत प्रधानले आफू अध्यक्ष हुँदाकै बखत र सो पदबाट हटेको एक वर्ष पुरा नहुँदै श्रीमतीको नाममा सेयर हस्तान्तरण गरी दोस्रो बजारमा सेयर बिक्री गर्ने गरेको नेप्से, सीडीएससी तथा धितोपत्र दलाल व्यवसायीले पेश गरेको विवरणमा उल्लेख रहेको स्रोतले बताएको छ । उनी आफैंले सेयर नबेचे पनि परिवारको सहयोग लिई सेयर बिक्री गर्ने कार्य सफा मनसायले गरेको नदेखिएको रिट निवेदनमा उल्लेख छ ।
‘धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९८ को खण्ड–क मा कसैले कसैसँग धितोपत्र खरिद बिक्री वा विनिमय गर्ने उद्देश्य लिई कसैलाई झुक्याउन कुनै प्रविधि, योजना वा काम गरेमा जालसाजी गरेको मानिनेछ भन्ने व्यवस्था बमोजिम ज्ञानेन्द्रलाल प्रधानले नियमन निकाय नेपाल धितोपत्र बोर्ड, धितोपत्र बजार लगायत अन्य सरोकारवालालाई झुक्याउने योजना वा काम गरेको प्रष्ट देखिन आयो’ रिट निवेदनमा भनिएको छ ।
प्रधानलाई अदालतले कसुर ठहर गरेमा धितोपत्र सम्बन्धी ऐनको दफा १०१ को उपदफा ३ अनुसार एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । यदि त्यस्तो कारोबारबाट कसैलाई हानि नोक्सानी भएको रहेछ भने त्यस्तो हानि नोक्सानी समेत भराउनुपर्ने व्यवस्था सोही दफामा छ ।
यसअघि ८ चैतमा रिडी हाइड्रोपावरको तत्कालप्न अध्यक्ष गुरु नयौपानेले कम्पनीको सञ्चालक समितिमा रहँदा सेयर खरिद र बिक्री गरेको र त्यसमो कम्पनीको भित्री सूचनाको आधारमा लाभ लिएको देखिएकोले भित्री कारोबारको आरोपमा रिट दर्ता भएको थियो ।
प्रतिक्रिया 4