+
+

अन्तिम समयमा रोकियो आईजीपी कुँवरको अमेरिका भ्रमण

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २५ गते २०:५६
अमेरिका जाने प्रहरी टोलीलाई विदाइ गरिँदै ।

२५ वैशाख, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले अन्तिम समयमा अमेरिका भ्रमण स्थगित गरेका छन् ।

लिडरसिप एक्सचेन्ज कार्यक्रममा सहभागी हुँदा आईजीपी कुँवर नेतृत्वको ६ सदस्यीय टोलीलाई अमेरिका भ्रमणमा जान सरकारले स्वीकृति दिएको थियो । तर, अन्तिम समयमा कुँवरले अमेरिका भ्रमण स्थगित गरेका हुन् ।

स्रोतका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा हाई–प्रोफाइलहरुमाथि आरोप लागिरहेका बेला तत्काललाई भ्रमण स्थगित गर्न कुँवरलाई गृह मन्त्रालयले आग्रह गरेको थियो । ‘अहिलेको परिस्थिति जटिल छ, त्यसैले पनि अहिलेलाई भ्रमण रोक्न भनिएको हो’, मन्त्रालयका एक उच्च अधिकारीले भने ।

कुँवर अमेरिका नजाने भएपछि नेपाल प्रहरीको प्रतिनिधित्व केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा ५ सदस्यीय टोली सोमबार अमेरिका प्रस्थान गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यसँगै कार्यक्रममा सहभागी हुने टोलीका अन्य सदस्यहरूमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुदिप गिरी, प्रहरी नायब महानिरीक्षक (डीआईजी) रामदत्त जोशी, प्रहरी वरिष्ठ उपरीक्षक ए.एम. चन्द्र बहादुर धामी र प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्का छन् ।

उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी नायब महानिरीक्षक लगायत प्रहरी अधिकृतहरूले विदाइ गरेका थिए । वैशाख २७ देखि २९ गतेसम्म संयुक्त राज्य अमेरिकाको वासिङ्टन डि.सी. र न्यूयोर्कमा संचालन हुने कार्यक्रममा भाविष्यमा हुने सुरक्षा चुनौती र आतंकवाद, डिजिटल अपराध, क्रिप्टोकरेन्सी कारोबार लगायतका वित्तीय अपराध अनुसन्धान तथा नियन्त्रण र यस सम्बन्धी ज्ञान तथा अनुभव आदान प्रदान हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कार्यक्रमबाट नेपाल र मित्रराष्ट्र अमेरिकाका सुरक्षा निकायहरूबीचको सम्बन्ध सुमधुर हुने अपेक्षा गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?