+
+
एमाले नेता गुरुङको प्रस्ताव :

‘जिल्ला समन्वय समिति खारेज गरौं, मन्त्रालयको संख्या घटाऔं’

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते १७:४४

२७ वैशाख, काठमाडौं। नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संघीय प्रणालीलाई खर्चिलो हुनबाट जोगाउन जिल्ला समन्वय समिति खारेज गर्न सुझाव दिएका छन् ।

बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बुधबार प्रतिनिधिसभामा धारणा राख्दै उनले जिसस खारेज गरेमा  १५ सय कर्मचारी र १५४ वटा गाडीको खर्च घट्ने बताए ।

‘संविधान संशोधन गरेर भए पनि ७७ जिल्लामा बसेको अनावश्यक बोझ जिल्ला समन्वय समिति भंग गरेर गर्नुपर्छ’, गुरुङले भने, ‘त्यो खारेज गर्दा कमसेकम १५ सय कर्मचारी र १५४ वटा गाडीको फजुल खर्च हट्छ । तेल र कार्यालय खर्च घट्छ । त्यो सम्पत्ति प्रदेश अथवा स्थानीय सरकारले परिचालन गर्ने अवसर पाउँछ ।’

संघीयताप्रति विश्वास बढाउन खर्च कटौतीका उपाय खोज्नुपर्ने भन्दै गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री गुरुङले केही सुझावहरु पनि दिए ।

‘कमसेकम एउटा काम व्यवहारबाट सुरु गरौं’, उनले भने, ‘हामी फजुल सरकार निर्माण गर्दैनौं । फजुल खर्चलाई नियन्त्रण गर्न सकियो भने केही न केही राहत मिल्छ ।’

उपमहासचिव गुरुङले संघीय र प्रदेश सरकारका मन्त्रालय घटाउन पनि सुझाव दिए । ‘अहिले हामीले संघमा २५-२५ वटा मन्त्रालय बनाउँदै छौं। संघीय शासनमा मुलुक गइसकेपछि प्रशासन सुधार सझाव आयोगले दिएको प्रतिवेदनमा १२ देखि १५ वटा मात्रै मन्त्रालय चाहिन्छ भन्ने छ । प्रदेशमा ७ वटा चाहिन्छ ।

अहिले हामी प्रदेशमा १२/१३ वटा मन्त्रालय चलाउँदै छौं। त्यसलाई अनिवार्य ७ मा झारौं । त्यसलाई ७ भन्दा माथि जान नदिउँ, त्यो प्राथमिकतामा राखौं’, उनले भने ।

त्यस्तै संघीय सरकार अन्तर्गतका विभागको संख्या समेत कटौती गर्नुपर्ने सुझाव समेत उनको छ ।  ‘संघ सरकार अन्तर्गत जति पनि विभागहरु छन्, ती विभागहरुलाई घटाएर १५ वटामा झारौं’, गुरुङको भनाइ थियो, ‘यति भयो भने हाम्रो धेरै फजुल खर्च घट्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?