+
+
विचार :

गगन–विश्व विद्रोह र बूढानीलकण्ठतिर तेर्सिएका प्रश्न

‘नक्कली भुटानी शरणार्थी प्रकरण’को एउटा जरो बूढानीलकण्ठतिर तेर्सिएको सन्दर्भमा कांग्रेसलाई ‘रिफर्म’ गर्ने कुरा सामान्य हिसाबले सम्भव नदेखेरै महामन्त्रीद्वयले राजीनामा गरेरै भए पनि शक्ति आर्जन गर्न कार्यकर्ता र जनतामाझ जान खोजेको अनुमान लगाउन कठिन छैन ।

सुदर्शन आचार्य सुदर्शन आचार्य
२०८० वैशाख २८ गते ७:३८

‘अब त अति भो’ भन्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले गरेको ‘ट्वीट’ले नेपाली कांग्रेसभित्रको अन्तरविरोधलाई ‘सतह’मै ल्याइदिएको छ । बेथितिको पहाडमाथि उभिन पुगेको कांग्रेसलाई त्यो पहाडबाट बाहिर निकालेर आशा संचार गर्न नसके भोलिका मितिमा जनताबाट ठूलै मूल्य चुकाउनुपर्ने ‘आभास’ पाएरै हुनुपर्दछ कांग्रेसका दुवै महामन्त्रीले एकैपटक ‘विद्रोहको संकेत’ गरेका छन् ।

राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा लोकतान्त्रिक पार्टी भनेर पत्याइएको दलका सभापतिबाटै लोकतान्त्रिक आचरण प्रस्तुत हुन नसकेको पृष्ठभूमिमा आएको ‘ट्वीट’ र अर्का महामन्त्री विश्वप्रकाश शर्माको ‘महामन्त्री पदबाटै राजीनामा दिने’ भनाइले कांग्रेसभित्र धेरै कुराको संकेत गर्दछ ।

हुन पनि लामै संक्रमण पार गरेर लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरेको पनि लामै कालखण्ड बितिसक्यो । तर पनि कांग्रेसभित्र ‘देउवा कोटरी’ ले मात्र लाभ उठाउने र परिवर्तनको आशाको संचार गर्न उद्यत गगन, विश्व, प्रदीप, बद्री र जीवन परियार जस्ता व्यक्तिहरू हरेक निर्णयमा ‘साइड’ लगाइनुले पनि सिंगै कांग्रेसको भविष्यमाथि प्रश्न उठ्न पुगेको हो ।

‘गगन–विश्व–प्रदीप’लाई अपवाद मान्ने हो भने हिजोका मितिमा ‘माओवादी र राजाको’ बन्दुकबाट नडराएको कांग्रेस आज ‘देउवा कोटरी’बाट थर्कमान देखिन्छ । किनकि स्थानीय र आम निर्वाचन सम्पन्न हुँदा पनि नेविसंघ, महिला संघ, तरुण दल जस्ता भ्रातृ संस्थाले पूर्णता पाउन सकेन ।

यति मात्रै होइन, पार्टीका दर्जनौं विभागमा देशैभरका हजारौं कार्यकर्ताले भूमिका पाउन सक्नेथिए । तर, ती विभागलाई पूर्णता दिने अभिरुचि पार्टी संस्थापनले देखाएन । मन्त्रिमण्डल चयन गरियो । तर, चयन भएका मन्त्री पनि कि त पुरानै अनुहार कि जनताबाट अनुमोदन हुनै नसक्ने खालका !

यस्तै पार्टीभित्र ‘विमर्श’को कल्चर कहिल्यै भएन ! सत्ता गुमेर ‘रनाह’मा पर्न पुग्दा तिनै महामन्त्रीद्वयलाई ‘गुहार’ गरेर बालकोटबाट सत्ता फिर्ता ल्याउन कांग्रेस सफल त भयो तर, त्यो सफलतासँगै महामन्त्रीद्वयको औचित्य नै समाप्त भएको शैलीमा भूमिकाविहीन बनाइयो । हुँदा–हुँदा पार्टीका केन्द्रीय सदस्यदेखि सरकारमा पार्टीका तर्फबाट मन्त्री को पठाइँदैछ भन्ने कुरा समेत महामन्त्रीद्वयले संचारमाध्यम कुर्नुपर्ने भयो ।

सुदर्शन आचार्य

यी र यस्ता विषय त पृष्ठभूमिका घटना मात्रै हुन् । हालै, चर्चामा रहेको ‘नक्कली भुटानी शरणार्थी प्रकरण’को एउटा जरो जब बूढानीलकण्ठतिर तेर्सिएको सन्दर्भमा कांग्रेसलाई ‘रिफर्म’ गर्ने कुरा सामान्य हिसाबले सम्भव नदेखेरै ‘महामन्त्रीद्वयले राजीनामा’ गरेरै शक्ति आर्जन गर्न कार्यकर्ता र जनतामाझ जान खोजेको अनुमान लगाउन कठिन छैन ।

सत्य के हो र असत्य के हो ? भन्ने विषय कांग्रेस सभापति शेरबहादुर देउवासामु प्रस्तुत गर्नै नसक्ने ‘देउवा गुट’कै कारण कांग्रेस विघटन उन्मुख छ । सभापति देउवासामु उभिएर ‘कांग्रेस डुब्न लाग्यो त्यो पनि तपाईंकै कारण’ भन्ने हिम्मत देउवा गुटभित्र कसैमा देखिएन ।

कांग्रेसभित्रको आजको अवस्था मुगल सम्राटको हात्तीको मृत्यु प्रकरणसँग ठ्याक्कै मेल खान्छ । मुगल सम्राट हात्तीका सौखिन थिए । अचानक एकदिन उनको प्रिय हात्ती मर्‍यो । तर, उनका हात्तीसारका कर्मचारीदेखि पशु चिकित्सकसम्म कोही कसैले पनि सम्राट सामु उभिएर तपाईंको प्रिय हात्ती मर्‍यो भन्ने आँट गर्नै सकेनन् ।

अन्त्यमा सम्राटले हात्तीको माउतेसँगै पशु चिकित्सकलाई आफ्नो प्रिय हात्तीको अवस्था बुझ्न हात्तीसार पठाए । उनीहरू फर्किएर सम्राटसामु उभिएर भने– सरकार जीवित हात्तीमा हुनुपर्ने तापक्रम तपाईंको प्रिय हात्तीमा छैन र ऊ श्वास पनि फेर्दैन ।

सम्राटले जंगिंदै भने– मेरो प्रिय हात्ती मरेकै हो त ?

माउतेको जवाफ थियो– म बबुरोले हजुरको प्रिय हात्ती मर्‍यो नै त कसरी भनौं । तर, सत्य चाहिं त्यही हो सरकार ।

कांग्रेसको आन्तरिक जीवनमा मेल खाने माथिको कथा झैं हात्तीरूपी कांग्रेस ‘मृत्यु उन्मुख छ । तर, कांग्रेस मर्नै लाग्यो’ भन्ने आँट हिजोसम्म कसैमा देखा परेन । जब महामन्त्रीद्वयले अति भो भन्दै राजीनामा दिनेसम्मको उद्घोष गरे तब, देश–दुनियाँले चाल पायो हात्तीरूपी कांग्रेसको पिल्लर कति मक्किएको रहेछ भनेर ।

आमूल परिवर्तन खोजिरहेको कांग्रेसजनका लागि त्यति ‘ट्वीट’ले पनि एक प्रकारको आशा संचार गर्न पुगेको छ भने पार्टीको संस्थापन पक्षमा ‘अब केके त्याग्नुपर्ने हो भन्ने त्रास’ देखा परेको छ । यी दुवै धारको रस्साकस्सीका बीचको सत्य के हो भने केवल ट्वीट र राजीनामाकै विषय सार्वजनिक गरेर गगन, विश्व एकातिर बस्ने र कांग्रेस विघटनको गम्भीर परिस्थिति ढोकैमा आइपुग्दा समेत देउवा धार अर्कातिर बस्दा ‘कांग्रेसकै भविष्य’ बारे भने गम्भीर प्रश्नचिह्न खडा हुँदै जाने निश्चित छ । त्यतिबेला विघटन उन्मुख कांग्रेसलाई सघाउने शक्ति समेत कांग्रेसले पाउने छैन । यहाँ उल्लेख गर्नै नपर्ला, कांग्रेस विघटन भएका दिन लोकतन्त्रको भविष्य के होला ?

गगन, विश्व र प्रदीपहरू पार्टीभित्रको बेथितिका विरुद्ध त लड्न तयार भएको छनक देखिंदैछ तर, उनीहरूले पनि ‘देउवा’सँग मात्रै लडेर बेथिति पार लाग्ने छनक देखिंदैन । मन्त्रिमण्डल चयन हेर्दा पार्टीका संस्थापन इतरका नेता डा. शेखर कोइरालाले पनि तत्कालीन कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूलाई ‘देउवामा समर्पित’ गरेर सजिलो बाटोबाट ‘राष्ट्रपति पद’ हत्याए झैं भोलिको कांग्रेस सभापति र सम्भावित प्रधानमन्त्रीका लागि कोइरालाले पनि लगभग सोही बाटो रोजिसकेको अनुमान लगाउन कठिन छैन ।

तसर्थ, अब अर्काे पक्षका भनिएका देउवा र आफ्नै पक्षका भनिएका कोइराला दुवैसँगको एकसाथको लडाइँमा ‘गगन, विश्व’ कति टिक्लान् र पार्टीलाई सच्याउन उनीहरूलाई ‘नेता कार्यकर्ताको पंक्तिले कति साथ देला’ त्यो हेरेर मात्रै बाँकी कुरा भन्न सकिन्छ । अहिलेलाई कांग्रेसभित्रको बेथिति विरुद्धको आवाजको बीजारोपण मात्र भएको मान्न सकिन्छ- ‘ट्वीट’ प्रकरण ।

विकल्पको अबको बाटो

नेता बन्न समस्या औंल्याइदिएर मात्रै पुग्दैन । नेपाली राजनीतिको बेथितिको पहाडको फेहरिस्त त नेपाली प्रेसले सार्वजनिक गरेकै छ । नेताको काम बेथिति र विसंगति चिरेर समाजमा आशाको संचार गर्ने हो । कांग्रेसले विगतमा लिएको नीति र विगतका सरकारले आ–आफ्नो कालखण्डमा लिएका नीतिहरूको निर्मम समीक्षा जरूरी छ । अनि वर्तमान अवस्थाको विश्लेषण र भविष्यको खाकाको संकल्प सार्वजनिक गरेर भोलिको नेपालको चित्र नेपाली जनतालाई देखाइदिए मात्र आजको ‘ट्वीट’मा कार्यकर्ता र जनताको तहबाट साथ प्राप्त हुन सक्छ ।

अन्यथा पेचिला प्रश्नहरूको जवाफ पनि अनुत्तरित नै रहनेछ । अब खुद्रे योजना र हल्का स्टन्ट मात्र गरेर बस्ने हो भने हाम्रो पुस्ताले सारा सम्भावना गुमाउने छ । तसर्थ, उहाँहरूको ट्वीट र राजीनामाको विषयलाई अलिकति आशाको दृष्टिले हेर्ने हो भने कम्तीमा पछिल्ला बेथितिहरूमा उहाँहरू निर्मम बन्नै पर्दछ ।

आजका मितिमा कांग्रेसको संस्थापन पक्ष बेथितिको ‘हेडक्वाटर’ नै बन्न पुगेको छ । राजनीतिमा चासो राख्ने युवाको आकर्षण पार्टीमा देखिन छाडेको छ ।

निर्मम हुने विषय भनेको पार्टीभित्रको आन्तरिक सवालमा मन्त्रीहरू पूरै फिर्ता बोलाएर ‘टेष्टेड नभएका’ लाई मात्र सरकारमा पठाउने, भ्रातृ तथा शुभेच्छुक संस्था सम्पूर्णलाई विघटन गरेर पार्टी संयन्त्रले नै निश्चित समय सीमामा राष्ट्रिय महाधिवेशन सम्पन्न गराउन उपयुक्त हुन्छ ।

योग्यता र क्षमताका आधारमा विभागको जिम्मेवारीका साथै संसद चलेको अवधि बाहेक सांसदलाई उपत्यका प्रवेशमा पार्टीले रोक नै लगाउनुपर्दछ । विकासका नाममा स्थानीय तहका प्रतिनिधि समेत सिंहदरबार धाउनुपर्ने अवस्थाको गम्भीर समीक्षा गरिनुपर्दछ ।

त्यतिले मात्रै पुग्दैन, भ्रष्टाचारमा नाम जोडिएकाहरूको ‘बचाव’मा समय खेर फाल्दा कांग्रेस, एमाले, माओवादी जस्ता पार्टी विघटन उन्मुख हुँदै गएकाले पार्टीको आडमा गरिएको भ्रष्टाचारको भारी सिंगै पार्टीले बोक्ने ‘बेइज्जतपूर्ण’ अवस्थाबाट पार्टी पछाडि हट्नुपर्दछ । यतिबेला पार्टी भ्रष्टाचार प्रकरणमा पछि हट्ने मात्र नभई ‘भ्रष्टलाई कारबाही गर्न’ अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायलाई बलियो बनाउन साथ दिनुपर्दछ ।

आजका मितिसम्म भए/गरेका बेथितिबाट शिक्षा लिंदै नयाँ लक्ष्य, विश्वास र दृष्टिकोणका आधारमा आगामी बाटो तय गरिनुपर्दछ । यी र यस्ता विषयमा खासगरी नेपाली कांग्रेस सचेत बन्न सक्दा मात्र पनि मुलुकका आधा बेथितिको अन्त्य सम्भव छ ।

आजका मितिमा कांग्रेसको संस्थापन पक्ष बेथितिको ‘हेडक्वाटर’ नै बन्न पुगेको छ । राजनीतिमा चासो राख्ने युवाको आकर्षण पार्टीमा देखिन छाडेको छ । जीवनको उर्वर समय पार्टीमा खर्चिंदा पनि भूमिका दिन तयार नहुने ‘जबरजस्त’ नेताको हातमा आज पार्टी छ । ‘सके कमाएर नसके ठगेर’ नेतालाई आर्थिक सहयोग बुझाउन सक्दा मात्र भूमिका पाइने रोगबाट कांग्रेस ग्रस्त छ । यो रोगबाट कांग्रेस पार्टीलाई बाहिर निकाल्ने मुख्य दायित्व नै युवा नेताहरूको हो ।

सवाल कांग्रेसको मात्र रहेन । शीर्ष तहका नेताहरूको भेटघाट बाक्लिएको छ ! ‘राजनीतिक स्थिरता र सुशासन कायम गर्ने विषयमै उहाँहरूको लामो छलफल भएको रहेछ नै भने पनि जनता अब उहाँहरूको भेटघाटको ‘मक्सद’ त्यो मान्न तयार छैनन् ।

भुटानी शरणार्थी प्रकरणकै सन्दर्भमा पनि सम्भवतः अमेरिकी संस्था फ्रेडरल व्यूरो अफ इन्भेष्टिगेशन (एफबीआई)ले समेत चासो दिइरहेको यस प्रकरणमा नेपालभित्र उन्मुक्तिका लागि राष्ट्रिय सहमति खोजियो भने उनीहरू त राजनीतिक हिसाबले समाप्त हुन्छन् नै, सँगै उनीहरूको कदमले मुलुकको ‘सिस्टम’ समेतमा गम्भीर प्रश्न उठ्नेछ ।

तसर्थ, भ्रष्टको पार्टी हुँदैन, पार्टीको आडमा गरिने भ्रष्टाचारले पार्टीसँगै सिस्टममा समेत आघात पर्ने भएकाले ‘भ्रष्ट जोगाऊ’ अभियानमा नेतृत्व नलागेकै राम्रो । दोस्रो कुरा एकपछि अर्काे ‘हाइप्रोफाइल’का व्यक्तिको गिरफ्तारीले अब जोगाउने भन्दा पनि निष्पक्ष छानबिनको कुरा उठाएर नेता ‘तर्किन’ थालिसके ।

अर्को कुरा शीर्ष तहका नेतालाई पटक–पटक जनताले शासनसत्तामा हेरिसकेकाले अब मूलधारका दलहरूले जनविश्वास जित्ने नै हो भने ‘गगन, विश्व, प्रदीप, योगेश र माधव सापकोटा’ जस्ता युवा नेतालाई समग्र विषयवस्तुको नेतृत्वको जिम्मेवारी हस्तान्तरण गर्दै जाँदा मात्र जनतामा एक प्रकारको आशाको संचार सम्भव छ ।

अन्यथा, राजनीतिक दल र समग्र प्रणालीमाथिको ‘वितृष्णा र आक्रोश’ चुलिंदै जाँदा जनताले व्यवस्थाकै विकल्प खोज्ने छन् । त्यतिबेलाको चुनौतीपूर्ण राजनीतिक घटनाक्रमलाई हाम्रो विद्यमान नेतृत्वले ‘सकुशल अवतरण’ गराउन सक्ने छैनन् ।

तसर्थ, विकल्पको बाटो भनेको कांग्रेस लगायत राजनीतिक दलका नेतृत्वले आफूलाई नेतृत्वबाट बाहिर निकालेर भिजन सहितका नेतालाई नेतृत्व सुम्पने र भ्रष्टाचारकै कारण जनतामा व्यवस्थाप्रतिको वितृष्णा चुलिएकाले सत्तारुढहरूको सम्पत्ति छानबिन गर्न सक्दा मात्र पार्टी र व्यवस्था दुवैको यात्रा ‘सुगम’ हुनेछ । अन्यथा, आसन्न आँधीबेहरीले कुन रूप लेला आजै पूर्वानुमान लगाउन कठिन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?