 
																			२८ वैशाख, डोटी । ‘मोबाइलमा नेटवर्क आउनलाई घाम कुर्नुपर्छ । घाम लाग्यो भने मात्रै नेटवर्क आउँछ, बादल लागेको दिन त नेटवर्क नै आउँदैन । गाउँपालिकामा इन्टरनेटले राम्रोसँग काम गर्दैन । मन्त्रालय र अन्य निकायहरुले इमेलमार्फत पत्राचार गरेका हुन्छन्, नेटवर्क राम्रो नहुँदा समयमै त्यसको रेस्पोन्स गर्न सकिन्न ।’
डोटी जिल्ला सायल गाउँपालिकाका उपाध्यक्ष निर्मला बोहरा ओलीको भनाइ हो यो । उनले फोन गर्न घाम लाग्नु पर्ने अवस्था रहेको बताइन् । उनी भन्छिन्, ‘इमेल हेर्नु पर्यो भने कर्मचारीहरुले ल्यापटप बोकेर डाँडामा जानु पर्छ ।’ इन्टरनेट सेवा राम्रो नहुँदा गाउँपालिकाले संस्थागत स्व-मूल्याङ्कनका सूचकहरु समेत पूरा गर्न नसेको ओलीको भनाइ छ ।
नेपाल दूर सञ्चार प्राधिकरणले बुधबार जिल्ला सदरमुकाममा आयोजना गरेको ‘सार्वजनिक सेवा प्रवाहमा दूर सञ्चार एवं सूचना प्रविधिको भूमिका’ विषयक अन्त्ररक्रिया कार्यक्रमका सहभागीहरुले दूर सञ्चार सेवा गुणस्तरीय नभएको गुनासो गरेका छन् ।
‘बिहान घाम लाग्यो भने मोवाइलमा नेटवर्क आउँछ, साँझ घाम अस्ताउँदा नेटवर्क पनि अस्ताउँछ’ बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिला भन्छन्, ‘यदि दूर सञ्चार कम्पनीहरुले गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्ने हुन भने गाउँपालिकाले विद्युतीय सेवा प्रवाह गर्न समस्या छैन ।’
उनले सामान्य सूचना आदानप्रदान गर्न पनि इन्टरनेट सेवा प्रभावकारी नभएको अवस्थामा सार्वजनिक सेवा प्रवाहमा विद्युतीय माध्यम प्रयोग गर्न गाह्रो हुने बताए ।
पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले पनि इन्टरनेट सेवा गुणस्तरीय नभएको गुनासो गरे ।
दुई वर्षसम्म नि:शुल्क सेवा दिने भनेर सामुदायिक विद्यालयहरुमा जडान भएको भायोनेट सेवा दुई महिना पनि नचलेको शिक्षाको क्षेत्रमा काम गर्ने संस्था सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीले बताए । उनले भने, ‘अधिकांश विद्यालयमा जडान भएको इन्टेरनेटले काम नगर्ने अवस्था छ, कतै त विद्युत अभावका कारण सामग्री लगेर थन्काइएको छ, जडान समेत भएको छैन ।’
दूर सञ्चार कम्पनीहरु गुणस्तरीय सेवा प्रदान गर्नेभन्दा पनि आफ्नो सामान बिकाउनका लागि बढी सक्रिय रहेको दिपायल सिलगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सूचीकार बताउँछन् । ‘हाम्रो नगरपालिकामा २७ वटा विद्यालयमा इन्टरनेट जडान गर्ने भनेर सांग्रिला नामको कम्पनी आयो,’ उनले भने, ‘जडान गरेर गयो तर एउटा विद्यालयमा पनि नेट चल्दैन ।’
जिल्ला सदरमुकाम रहेको नगरपालिकामा पनि फोन र इन्टरनेट सेवा राम्रोसँग नचल्ने गरेको प्रमुख प्रशासकीय अधिकृत सूचीकार बताउँछन् ।
गाउँपालिकाका ६ वडामध्ये तीन वडामा मोवाइल नेटवर्कसमेत राम्रोसँग नचल्ने गरेको जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहरा बताउँछिन् । ‘सेवा प्रवाहमा दूर सञ्चारको भूमिकामा बहस गर्दैछौं, दूर सञ्चार सेवा आफैमा गुणस्तरीय छैन’ उपाध्यक्ष बोहराले भनिन्, ‘पहिले दूर सञ्चार सेवालाई गुणस्तरीय बनाउनु पर्यो अनि हामीलाई पनि विद्युतीय सेवा प्रवाह गर्न सजिलो हुन्छ ।’ उनले विद्युतीय सेवा प्रवाहले सेवा प्रदायक र सेवाग्राही दुवैलाई लाभ हुने बताइन् ।
दूर सञ्चार सेवा प्रदान गर्ने कम्पनीहरुलाई सेवाको गुणस्तर सुधार गर्न प्राविधरणले निर्देशन दिनु पर्ने जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंह बताउँछन् ।
‘काठमाण्डौंको अवस्था हरेर बनाइएको दूर सञ्चार नीतिले दुर्गम बस्तीहरुको समस्या समाधान गर्न सक्दैन,’ सिंहले भने, ‘त्यसैले नीतिगत तहमै सुधार हुनु जरुरी छ ।’ उनले दूर सञ्चार सेवा गुणस्तरीय नहुनुमा प्राधिकरणको लापरवाही रहेको समेत आरोप लगाए ।
कार्यक्रममा नेपाल दूर सञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेले दूरसञ्चार सेवाको गुणस्तर राम्रो नभएको स्वीकार गर्दै यसलाई सुधारका लागि आवश्यक प्रयास गरिने बताए ।
उनले प्राधिकरण आफैंमा दूर सञ्चार सेवा दिने निकाय नभएको बताउँदै भने, ‘प्राधिकरणले दूर सञ्चार कम्पनीहरुलाई नियमन गर्ने हो, हामी त्यो गछौं ।’
उनले सार्वजनिक सेवा प्रवाहमा दूर सञ्चार र सूचना प्रविधिको प्रयोगमा सबै सेवा प्रदायक निकायहरुले प्रयास गर्नु पर्ने बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4