+
+

काठमाडौंको बजेटको आकार नघट्ने, खाल्डामुक्त शहर र उज्यालो नगर प्राथमिकतामा 

अमृत चिमरिया अमृत चिमरिया
२०८० वैशाख ३१ गते १७:२३
फाइल तस्वीर

३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटको आकार नघटाउने भएको छ । संघीय सरकारले पठाउने अनुदान कटौती हुने भएपनि बजेटको आकार भने नघटाउने तयारी महानगरले गरेको छ ।

महानगरपालिकाले आगामी आवमा करिब २५ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ । ‘हाम्रो राजस्व बढेकोले बजेटमा खासै थपघट हुँदैन । अघिल्लो वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेका छौं’ बजेट निर्माणमा संग्लन एक कर्मचारीले भने ।

महानगरका प्रवक्ता नवीन मानन्धरले चालु आवको फ्रिज बजेट धेरै हुने र राजस्व संकलन पनि लक्ष्य भन्दा धेरै भएकोले बजेट घटाउन आवश्यक नभएको बताए । ‘यो पटक हाम्रो बजेटमा घटबढ हुँदैन, केही नयाँ योजना र धेरैजसो पुराना योजनाहरु नै निरन्तरता गर्ने भन्ने तयारी छ,’ मानन्धरले भने, ‘संघीय सरकारले अनुदान कटौती गर्दा पनि महानगरले आफ्नै स्रोत बलियो बनाएको कारण बजेटमा धेरै हेरफेर हुँदैन ।’

महानगर गौरवको आयोजना

काठमाडौं महानगरपालिकाले यो पटक नगर गौरवको आयोजना निर्माण गर्ने भएको छ । महानगरको बजेट निर्माण सहभागी एक कर्मचारीका अनुसार काठमाडौले ‘काठमाडौं शहर, उज्यालो नगर’ र ‘खाल्डामुक्त शहर, हाम्रो रहर’ जस्ता योजनालाई महानगर गौरवको आयोजनाको रुपमा अगाडि बढाउने तयारी गरेको छ ।

‘केही गौरवका योजनाको रुपमा प्रस्ताव आएका छन्, तर यही नै बजेटमा उल्लेख गर्ने भन्ने निर्क्यौल भइसकेको छैन’ ती कर्मचारीले भने । काठमाडौंले यो वर्षदेखि आवधिक योजना बनाएर काम गर्न थालेको छ । ‘यो भन्दा अघि काठमाडौंमा आवधिक योजना बनाएर काम भएको थिएन, अब आउने आर्थिक वर्षबाट आवधिक योजना अनुसार बजेट निर्माण र कार्यान्वयन गरिने छ,’ महानगरका योजना आयोगका उपाध्यक्ष तपेन्द्र खड्काले भने । उनले आवधिक योजना बनाएर काम गर्दा ५ वर्षमा महानगरले के गर्दै छ भन्ने मार्गचित्र देखाउने बताए ।

बजेटमा टुकुचालाई प्राथमिकता

मेयर साह निकट एक कर्मचारीका अनुसार काठमाडौं महानगरपालिकाले अब ल्याउने बजेटमा टुकुचा खोलाको संरक्षणको विषय पनि समावेश हुने भएको छ । ‘टुकुचालाई सार्वजनिक बनाएर संरक्षण गर्न कसरी सकिन्छ त्यसतर्फ पनि बजेटले स्थान दिन्छ’ उनले भने । ती कर्मचारीका अनुसार अदालतको फैसला कार्यान्वयन हुनेगरी महानगरले बजेटमा टुकुचाको स्वामित्व लिनेगरी कार्यक्रम समेट्न आन्तरिक रुपमा मेयर साहले कर्मचारीहरुलाई निर्देशन दिइसकेका छन् ।

‘टुकुचालाई आफ्नो कार्यकालमै खाली गराउने मेयर सा’बको उद्देश्य छ । त्यही अनुसार बजेटको निर्माण गर्न कर्मचारीहरलाई भनेका छन् । यो विषयमा कार्यपालिका बैठकमा समेत छलफल गर्ने उहाँको तयारी छ’ ती कर्मचारीले भने ।

योजना छनोट वडादेखि अनलाइनसम्म

काठमाडौं महानगरपालिकाले आगामी वर्ष बन्ने नीति कार्यक्रम र बजेटमा टोलस्तरीय भेलादेखि अनलाइनबाट पनि सुझाव संकलन गर्न थालेको छ । महानगरले अहिले राजस्व परामर्श समिति, योजना छनोट समिति मार्फत महानगरको योजना आयोगलाई टिपोट पठाइरहेको छ । योजना आयोगका अनुसार वडागत रुपमा योजना छान्न टोलस्तरीय छलफल समेत थालेको हो ।

‘जनप्रतिनिधि मात्रै नभई वडाका सर्वसाधारणहरुले पनि कस्ता योजनाहरु छान्ने भनेर वडाको विभिन्न टोलहरुबाट सुझाव, योजना संकलन भइरहेको छ’ योजना आयोगकी उपनिर्देशक कुमारी राईले भनिन् । उनले टिपोट भएका सबै योजनाहरुलाई सूची बनाएर छलफल गरेर बजेट निर्माण प्रक्रिया पठाउने बताइन् ।

महानगरले अनलाइन मार्फत बजेटबारे सुझाव पठाउन सकिने व्यवस्था पनि गरेको छ । काठमाडौंले सामाजिक सञ्जाल मार्फत क्यूआर कोर्ड सार्वजनिक गरेर महानगरको विकास, सुविधा वितरण, सेवा प्रवाह तथा समृद्धिका लागि कुन–कुन क्षेत्रमा कस्ता नीति बनाउनु पर्ला ? कस्ता कार्यक्रम राख्नु पर्ला ? बजेटको कस्तो व्यवस्था गर्नुपर्ला ? जस्ता प्रश्नहरुको उत्तर खोजेको छ ।

महानगरले बनाउने योजनामा २३ वटा शीर्षकमा सुझाव पठाउन सकिने छ । सुझाव दिने व्यक्तिले कति वटा सुझाव प्राप्त गरे भन्ने विवरण पनि हेर्न सकिने महानगरले जनाएको छ ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?