+
+

कथाको आत्मकथा

सुरुवात भएकाहरूको अन्त्य हुनुपर्छ । तर यो कहानीको सुरुवात छैन । सुरुवात नभएकाहरूको अन्त्य हुन्छ कि हुँदैन ? कि यस्ता कहानीहरू आफ्नो भाग्य खोज्दै अल्झिरहन्छन् युगौंयुगसम्म ।

ऋतेश ऋतेश
२०८० जेठ २ गते ८:३०

कथावाचक

म कथाहरूको भारी बोकेर हिंडिरहेको भरिया हुँ । मसँग आफ्नो वास्तविक उमेर छैन । समय छैन, मानिसहरूको उमेर बगाउँदै हिंड्छु । उनीहरूको समयसँगै बग्दै हिंड्छु । मसँग संवेदना छैन । सम्बन्ध छैन । भोक छैन । प्यास छैन ।

म जीवन हुँ । तर मेरो भाग्यमा काल लेखिएको छैन । म अनन्त छु । अमर हुँ । प्रकृतिले मलाई एउटा विशाल कर्तव्य सुम्पिएको छ । बग्नु अनि बगिरहनु नै मेरो धर्म हो । मेरो भाग्य हो, मेरो जीवन हो । एकतमासले बगिरहेको मेरो जीवनलाई, फरक-फरक आँखाले फरक रङ्गको देख्छन् । कविहरू मलाई रोचक बिम्बको रूपमा प्रस्तुत गर्छन् । कथाकारहरूले मभित्र कुनै रहस्य लुकाएको गहिराइ देख्छन् । प्रेमीहरू मलाई प्रेमको प्रतीक मान्छन् । तैरिनेहरूले मलाई हलुका महसुस गर्छन् । डुब्नेहरूले मलाई गह्रुंगो सम्झिन्छन् । बगाउनेहरूले मलाई वैंसले उन्माद भएको जवानी देख्छन् । बिछोडिएका मनहरूले मलाई आँसुसँग तुलना गर्छन् । जीवन खोज्नेहरूका लागि म प्रेरणा बनिदिन्छु । मृत्यु रोज्नेहरूका लागि म काल भइदिन्छु ।

मेरो सिमाना बनी उभिएका दुई किनारका लागि म अवरोध हुँ । उनीहरूको अधुरो प्रेमको एक मात्र कारण हुँ । आकाशको धुँवा चुस्दै जीवन व्यतीत गरिरहेका दुई परजीवी घाम र जूनको लागि म ऐना हुँ, अस्थिर ऐेना ।

म धेरै थोकको साक्षी हुँ । केहीका लागि निसानी त केहीका लागि दाग हुँ । सम्झिन चाहनेहरूका लागि म मीठो याद बनिदिन्छु । बिर्सिन खोज्नेहरूका लागि कुरूप सपना भइदिन्छु । मस्तिष्कका लागि म कल्पना हुँ । मनका लागि म रहर हुँ । म अतीत हुँ । वर्तमान हुँ । कसैको भविष्य पनि हुँ ।

म अनेकौं परिभाषामा बाँधिएको छु । मलाई कयौंले आ-आफ्नो दृष्टिकोण अनुरूप परिभाषित गरेका छन् । म रंगहीन छु । तर इण्द्रेणीले अटाएको रंगहरूभन्दा ज्यादा रंगहरुमा सजिने गर्छु । मेरो रूप छैन, तर म अरूको रूपलाई प्रतिबिम्बित गर्ने गर्छु । मेरो स्वरूप छैन, तर जस्तोजुकै-जत्रै आयतनमा पनि आफूलाई आकार दिन सक्छु ।

म तिमी नै हुँ । तिम्रो प्रतिबिम्ब हुँ । तिम्रो प्रच्छाया हुँ । तिम्रो प्रतिरूप हुँ । तिम्रो परीक्षा हुँ । तिम्रो प्रतीक्षा हुँ ।

कहिलेकाहीं म आफूलाई प्रश्न गर्छु, म केही नभएर धेरै भएको हुँ अथवा धेरै भएर म आफूलाई केही पनि नमानेको हुँ ?

आज म पुन: अर्को कहानीलाई बगाउँदै लिएर आउँदैछु । सायद म कहानीहरू व्यक्त गर्ने फगत माध्यम मात्रै होइन, म स्वयं पनि कहानी हुँ । आफूलाई अभिव्यक्त गर्ने तिम्रो कहानीको पात्र हुँ । म कथा-वाचक हुँ ।

कथा

कथाको पनि मुटु र मस्तिष्क हुन्छ । यो पनि मानिस जसरी धड्किन्छ, मानिसले जसरी नै सोच्छ । यसले अनेक भावना र विचारहरूलाई बोकेको हुन्छ । कैयौं वेदना र सपनाहरूलाई झेलेका हुन्छन् । कथा हुनु भनेको हृदयमा बल्झिरहेने व्यथा हुनु हो । कथा हुनु भनेको स्मृतिमा आइरहने सम्झना हुनु हो । कथा हुनु भनेको बाँच्ने सहारा हुनु हो । कथा हुनु भनेको अरूलाई सुनाउने गाथा हुनु हो । कथा हुनु भनेको आत्मा हुनु हो । आत्मा हुनु भनेको अस्तित्व हुनु हो । अस्तित्व हुनु भनेको तिमी हुनु हो । र तिमी हुनु भनेको कथा हुनु हो ।

यो कथाको हृदयपटमा ‘बर्तिका’को आवाज पोखिरहेको प्रतीत हुन्छ …

काश हाम्रो भेट केही साल अगाडि हुन्थ्यो

या काश हाम्रो भेट केही सालपछाडि हुन्थ्यो

समय सही हुन्थ्यो राजै,

मौसम बेग्लै हुन्थ्यो

तर  आज हैन

नजिक न-आऊन

नजिक नआऊ, डर लाग्दैछ आज आफ्नै भावनाहरूसँग

केहीले भन्छन्, मानिसको केन्द्रबिन्दु हृदय हो । केहीले मान्छन्, मस्तिष्क मानिसकोको मध्यबिन्दु हो । सायद बीचमा हुनु भनेको केन्द्रबिन्दु हुनु होइन रहेछ । जसले नियन्त्रित अथवा निर्देशित गर्छ त्यो नै मध्यबिन्दु हो । तर यो कथाको मध्यबिन्दु छैन । यो कथा कसैको नियन्त्रणमा छैन । यसले भाग्य बोकेर आएको छ, या दुर्भाग्य थाहा छैन ।

खोला अर्थात् यो कथाको कथावाचक, जसले किनारमा अल्झिएको यो कथालाई बगाउने साहस देखाएको छ ।

खोला-किनारमा एउटा अस्थिपञ्जर रूख छ, जसको हाँगामा एउटा काया झुन्डिरहेको छ, तुर्लुङ्ग । यस्तो लाग्छ, उक्त मृत काया त्यो रूखमा झुन्डिरहेको अन्तिम पात हो, जसलाई हावाको सानो झोंक्काले पनि सजिलैसँग झार्न सक्छ । उसको पनि कुनै परिचय थियो होला । सम्बन्ध र सम्बोधन थिए होलान् । तर अहिले ऊ मात्र चिसो मानिस भएको छ, जसलाई अघिबाट एक जोडी जमेका आँखाले हेरिरहेका छन्, अपलक । आँखा जमेपनि सायद त्यो व्यक्तिको हृदय पग्लिरहेको छ । झुण्डिरहेको काया र त्यो व्यक्तिबीच कस्तो सम्बन्ध छ, थाहा छैन ।

तर हामी दुवै कठोर हुने असफल प्रयास गरिरहन्छौं । यहाँ संवेदनाहीन भन्नेहरूले नै अक्सर संवेदनाको गहिरो इनारमा हामफालेको देखेका छौं । युगौंयुगसम्म त्यहीं भैतारिरहेको भेटेका छौं । हामीले कहिल्यै नटुट्ने प्रण लिएका अजङ्गका चट्टानहरूलाई पनि टुट्दै गरेका देखेका छौं ।

केहीबेरमा एक झुण्ड मानिस आउँछन् र लासलाई रूखबाट झार्छन् ।

त्यो व्यक्ति हरेक दिन खोला-किनार आउँछ र त्यही रूखको काखमा बसिरहन्छ । सायद ऊ कसैको प्रतीक्षा गर्दैछ । रूखलाई ऊ एकतमासले हेरिरहन्छ, मानौं रूखमा उसको आत्मा अल्झिएको छ । उसको निमित्त न समय रोकिन्छ न त खोलाको पानी । तर ऊ सधैं त्यही रूखमा आएर रोकिन्छ अथवा उसलाई कसैले रोकिदिन्छ ।

सायद यो प्रतीक्षाको कथा हो, जसमा दुईजनाले फरक-फरक भूमिका निभाइरहेका छन् । एउटाले बाटो हेरिरहन्छ तर अर्कोले भने त्यो बाटोलाई बिर्सिसकेको छ ।

पात्रहरू

हामी यो कथाका पात्रहरू हौं । हाम्रो न देखाउने कडा आवरण हुन्छ, न त लुकाउने कलिलो गुदी । हामी आफूभित्र आफैंलाई थाहा नभएको रहस्य लुकाएर कथालाई रोचक बनाउने पात्रहरू हौं । वास्तवमा हामी पात्रहरू पत्रहरू हौं । हामीलाई कठपुतली भन्दा वा मान्दा पनि हुन्छ । किनभने हामीलाई अरू नै केही वा कोहीले नियन्त्रित तथा निर्देशित गरिरहेका छन् ।

पात्रहरूका आ-आफ्नै भूमिका हुन्छन् । उनीहरूका भाग्य पहिले नै तय भइसकेका हुन्छन् । सबै थाहा पाएर पनि केही थाहा नपाएको जसरी हामी अभिनय गर्छौं । अथवा वास्तवमै हामी अनभिज्ञ छौं ।

हाम्रो अस्पष्ट र अधुरो सम्बन्धको छायालाई कथा-वाचकले बगाइरहेको छ । सायद छाया भनेको हाम्रो आत्मा हो । हाम्रो आयु हो । हाम्रो अस्तित्व हो । सायद त्यो छाया हामीबाट जन्मिएको सुन्दर काया हो, जसले शीतले बोकेर ल्याएको आयुभन्दा पनि छोटो आयु आफ्नो भाग्यमा लिएर आएको छ । किनभने हामी एकअर्काको गन्तव्य होइनौं । हामी फरक-फरक बाटो हिंडेर आएका हौं । हामीले एकअर्कालाई बाटोछेउमा वर्षौंदेखि थकानहरूको प्रतीक्षा गरिरहेको बुढो चौतारीमा भेटाएका हौं ।

कहीं-कतै मोडमा पुगेपछि हामी छुटिन्छौं । छुटिनुपर्छ ।

तिमी भन्ने गर्थ्यौ, ‘मलाई पात औधी मन पर्छ । पात भएर बाँच्न मन पर्छ । म हावाको संगीतमा तालमा ताल मिलाएर हांगामा अडिएर नाच्न मन पराउँछु । हांगाको हातबाट छुटे पनि हावाको हात समाएर विभिन्न भूगोलमा पुग्न सक्छु । अथवा भुईंमा सुतेर शीतका लागि सिरानी बनिदिन्छु । नभए पैतालाहरूका लागि हत्केला भइदिन्छु । आफू कोही नभए पनि कसैका लागि केही भइदिने गर्छु ।’

म तिमीलाई बुझ्नै सक्दिनँ । आफैंलाई राम्रोसँग नबुझ्ने मानिस सायद कसैलाई पनि बुझ्न नसक्दो रहेछ अथवा बुझ्न नचाहँदो रहेछ । तर मलाई तिम्रो मस्तिष्कले लेखेको कहानी मन पर्छ ।

तिमी आशावादी छौ । म निराश छु तर निराशावादी भने चाहिं छैन ।

सायद म त्यही रूखको जरा हुँ, जुन रूखको हाँगामा तिमी पात भएर झुन्डिन चाहन्छौ । म अल्झिएकी छु । अडिएकी छु । तिमीले टेक्ने माटोमुनि म फैलिरहेको हुनेछु तर तिमीले मलाई देख्ने छैनौ । म यहीं ठीक छु ।

मलाई आकाश हेर्नुछैन । मलाई मेरो धरातल थाहा छ । आकाश देखाउने सपना मलाई नदेखाऊ । थाहा छ, तिमीले मभित्र रहरको वीजारोपण गरेका छैनौ तर कहिलेकाही डर लाग्छ, कतै तिमीले मेरो शरीरमा पखेंटा रोपिदियौ भने ? म पनि तिमी जस्तै तिमीसँगै उड्न थाले भने ?

हामीलाई कुनै प्रकारको सम्झौता गर्नु छैन । सम्बन्धमा बाँधिनु पनि छैन । तर हामी बाँधिएका छौ । थाहा छैन, हामीलाई कुन चाहिं तत्वले बाँधिरहेको छ ? सम्बन्ध भनेको बन्धन हो । बन्धन हुनु भनेको बन्द हुनु हो । हामी बन्द हुन चाहन्नौं, कम्तीमा एकअर्काको परिधिभित्र । हामी चाहन्नौं, हामीबाट जन्मिएको सम्बन्धको छाया यो बन्धनले गर्दा निसास्सिएर मरोस् । हामीलाई जोड लगाएर यो बन्धनलाई टुटाउनु पनि छैन । हामी चाहन्छौं, यो बन्धन आफैं फुस्कियोस्, बिस्तारै-बिस्तारै ।

हामी बाँच्न वा एकअर्कालाई बचाउन एउटै बाटोमा हिंड्नु हुँदैन । हामी छुटिनुपर्छ ।

मैले तिमीलाई भनेकी थिएँ, ‘तिमी धुवाँ हौ र म खरानी । तिमी आकाशमा उड्छौ, म जमिनमा खस्छु । सायद म खस्न रुचाउँछु र तिमी उड्न । तिमीसँग रहरका पखेंटा छन्, मसँग बाध्यताका खुट्टा ।’

तिमी भन्ने गर्थ्यौ, ‘शरीरसँग दु:ख हुन्छ । दुखाइ हुन्छ । आत्मासँग शून्यता हुन्छ । निस्सार शून्यता । शून्यताभित्र पनि आफ्नै रफ्तारमा पग्लिरहने समय हुन्छ । हामी त्यही समयको गतिमा पोखिन सक्छौं । हामीले एकअर्कालाई शून्य पायौं । शून्यतामा भेट्यौं । यो भन्दा सुन्दर भेट अरू कुनै हुनै सक्दैन । तर हाम्रो भेट गलत समयमा भयो । हाम्रो भेट चौतारीमा होइन बाटोमा हुनुपर्थ्यो । त्यो समयमा हुनुपर्थ्यो, जुन समयमा हामीभित्र सचेतना होइन पागलपन हुनुपर्थ्यो । डर होइन साहस हुनुपर्थ्यो । वेदना होइन भावना हुनुपर्थ्यो । अन्धकार हुनुपर्थ्यो । हाम्रो भेट समय जमिरहेको अन्धकारमा हुनुपर्थ्यो ।’

तिमीले मेरो तर्कलाई यसरी काटेका थियौ, ‘धुवाँ चिसिएर थाकेपछि जमिनमै खस्छ । बरू हावाको खुड्किला चढेर खरानी आकाशमा छरिन सक्छ ।’

सायद हामीलाई एकै समयमा फरक-फरक ठाँउमा एकअर्काबाट धेरै टाढा जानु छ । तर दुवैलाई थाहा छैन, कहाँ पुग्नु छ । थाहा छैन, बाटाहरूले हाम्रा पैतालाहरूलाई कहाँसम्म साथ दिन्छन् ?

मैले तिमीलाई प्रश्न गरेकी थिएँ, ‘हामी के हौं ?

त्यो समय मेरो मस्तिष्कपटमा कहिल्यै नमेटिनेगरी छापिएको छ । आकाशबाट चन्द्रमाले हामीलाई लजाउँदै हेरिरहेको थियो । बगिरहेको हावाले हामीलाई काउकुती लगाइरहेको थियो । तिम्रो साथले मलाई आराम दिइरहेको थियो । हाम्रा औंलाहरू एकापसमा जेलिएका थिए । पैतालाहरू एकअर्कासँग कानेखुसी गर्दै थिए ।

तिमीले आफ्नो ओठ मेरो ओठमा छुवाउँदै भनेका थियौ, ‘हामी हाम्रा प्रतिरूपहरू हौं ।’

मैले पुन: तिमीलाई सोधेकी थिएँ, ‘प्रतिरूपको आयु कति हुन्छ ?’

तिम्रो जवाफ थियो, ‘तिमी जतिबेलासम्म ऐना अगाडि उभिन्छौ, त्यतिबेलासम्म मात्रै आफ्नो प्रतिबिम्ब देख्न सक्छौ । यत्ति बुझ, प्रतिबिम्ब भनेको प्रतिरूप हो ।’

म जिज्ञासु भएकी थिएँ, ‘के हामी एकअर्काको ऐेना हौं ?’

तिमीले त्यसको कुनै जवाफ फर्काएनौ वा फर्काउन चाहेनौ । हामी एकअर्कालाई चुम्न थाल्यौं । सायद मैले आफैंले गरेको प्रश्नमा जवाफ पाइसकेकी थिएँ । त्यसको अर्थ र आशय बुझिसकेकी थिएँ ।

कहिलेकाहीं यस्तो लाग्छ, हामीले एकअर्काको संवाद बोलिरहेका छौं । म तिमी र तिमी म हुँदै गइरहेका छौं । एकअर्काको भूमिका निर्वाह गरिरहेका छौं । हामी आफ्नो चरित्रभन्दा बाहिरको क्यानभासमा आफ्नै चित्र कोर्न प्रयास गर्दैछौं । सायद हामी एकअर्काभित्र प्रविष्ट गर्दैछौं ।

हामीले एकअर्कालाई भनेका थियौं, ‘हामी मानिसहरू हरेक परिस्थितिमा डराउँछौं । सपना देख्नेहरू डराउनुपर्छ । हामीभित्र डर हुनु‍पर्छ । एकप्रकारले डर भनेको प्रश्न हो । हामीभित्र जिज्ञासा हुनुपर्छ । प्रश्न गर्ने वा जिज्ञासा राख्ने हामीसँग सामर्थ्य हुनुपर्छ । मानिसहरू आफूलाई कठोर संवेदनाहीन ठहर्‍याउन किन खोज्छन् ? मानिस हुनु भनेको त संवेदना हुनु हो । मानिसको अस्तित्व नै संवेदनाहरूको गुजुल्टोमा अल्झिएको हुन्छ । मानिसको अस्तित्व शरीरसँग मात्र जोडिएको हुँदैन ।

तर हामी दुवै कठोर हुने असफल प्रयास गरिरहन्छौं । यहाँ संवेदनाहीन भन्नेहरूले नै अक्सर संवेदनाको गहिरो इनारमा हामफालेको देखेका छौं । युगौंयुगसम्म त्यहीं भैतारिरहेको भेटेका छौं । हामीले कहिल्यै नटुट्ने प्रण लिएका अजङ्गका चट्टानहरूलाई पनि टुट्दै गरेका देखेका छौं ।

तिमीसँग नजिकिनु मेरो उद्देश्य कहिल्यै थिएन । तिमीबाट टाढिनु मेरो उद्देश्य होइन । उद्देश्यका स-साना भुसुनाहरू घरिघरि मेरो पैतालामा आएर टाँसिन्छन् । तर हरबखत लागिरहन्छ, म उद्देश्यविहीन प्राणी हुँ ।

मैले तिमीलाई पत्र लेख्न आफू पोखिएर थुप्रैपटक खाली पन्नाहरूलाई भरेकी छु । तर ती पत्रहरू तिमीलाई दिन सक्ने हिम्मत कहिल्यै भएन । सायद म कहिल्यै दिनेछैन, चाहन्न पनि । मलाई लाग्छ, लेनदेनले सम्बन्धको आयु घटाउँछ । तर तिमीले मेरो लागि कथा लेख्यौ । मलाई लेख्यौ । उपहार साटासाटले सम्बन्धको उमेर घट्छ म भन्थें तर तिमीले हामीलाई कथामा लेखर हाम्रो सम्बन्धलाई अजर बनाइदियौ ।

कहिलेकाहीं त यस्तो लाग्छ, तिमी भ्रम हौ । देखिन्छौ, तर वास्तवमा तिमी छैनौ । मैले मात्र तिमीलाई आफ्नो मस्तिष्कको क्यानभासमा कोर्दै कल्पिरहेकी हुँ । मैले केही पटक कामना पनि गरेकी थिएँ, तिमी साँच्चैमा मीठो सपना भइदिए । म ब्युँझिंदा सबै टुटोस् क्षणभंगुर बाँचेर ।

म मृत्युको धुँवा उडाइरहन्छु तर तिमी त्यही मृत्यु बोकेको धुवाँमा जिन्दगी खोजिरहन्छौं । म तिमीलाई बुझ्नै सक्दिनँ । यदि बुझ्न सकेको भए सायद म तिमीलाई प्रेम गर्ने थिइनँ ।

तिमी उज्यालोमा छौ र म अन्धकारमा । तिमीलाई अन्धकारमा आउनु छैन र मलाई उज्यालोमा । तर तिमीलाई अन्धकारको कालो रंग मन पर्छ अनि मलाई तिमी ।

अन्त्य

सुरुवात भएकाहरूको अन्त्य हुनुपर्छ । तर यो कहानीको सुरुवात छैन । सुरुवात नभएकाहरूको अन्त्य हुन्छ कि हुँदैन ? कि यस्ता कहानीहरू आफ्नो भाग्य खोज्दै अल्झिरहन्छन् युगौंयुगसम्म ।

सायद अल्झिरहनेहरू अमर हुन्छन् । अल्झिनेहरू गहिराइमा डुबिरहेका हुँदैनन् । उचाइमा झुन्डिरहेका हुँदैनन् । उनीहरू सतहमा हिंडिरहेका हुन्छन् । दौडिरहेका हुन्छन् । बाँचिरहेका हुन्छन्, आफूले बनाएका सम्झनाहरूमा ।

तर म अन्त्य हुँ । मैले आफ्नो धर्म निभाउनुपर्छ । कहिलेकाहीं पैताला पढेर मानिसको मनोदशा पढ्न सकिन्छ । एक जोडी उदास पैताला खोला किनारमा हिंडिरहेका छन्, एकोहोरो एकसुरमा । ती पैतालाहरू हतारिएका छैनन् । सुस्ताएका छैनन् । उनीहरूका आफ्नै गति छन् । ती पैतालाहरू आफ्नो अस्तित्वको डोब छाड्दै हिंडिरहेका प्रतीत हुन्छन् । सायद कसैलाई छाडेर आएका छन् वा कसैसँग भेट्न जाँदैछन् ।

हातले कुनै अनाम किताबलाई बोकेको छ । सायद कुनै जादुयी यथार्थ किताब हुनुपर्छ ।

एक्कासि हावाको झोक्का आउँछ र वर्षौंदेखि कसैको प्रतीक्षामा बसिरहेको झैं लाग्ने रूखको हांगाबाट एउटा हरियो पात अल्पकालीन आयु बाँचेर आफ्नै रफ्तारमा हिंडिरहेका पैतालाहरू अगाडि झर्छ ।

पैतालाहरू टक्क रोकिन्छन् । लाग्छ, ती पैतालाहरूले आफ्नो गन्तव्य भेटे । एउटा हातले भर्खरै झरेको त्यो हरियो पात उठाउँछ । सायद त्यो पातले सम्झनाहरू बोकेका छन् । त्यो पात फगत पात मात्रै होइन, कसैको आत्मा च्याँपेर बाँचिरहेको जीवन हो । सायद त्यो पात कथा हो ।

त्यो हातले पातलाई किताबका पन्नाहरू बीचमा राख्छ र पुन: हिंड्न थाल्छन्, पैतालाहरू चुपचाप-चुपचाप ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?