+
+
ब्लग :

गोलीले ढलेका मुकेशलाई अस्पताल लगेको त्यो क्षण

देवराज केसी देवराज केसी
२०८० जेठ १ गते १७:२१

१७ वर्ष १ महिनासम्म जीवन र मृत्युबीचको उत्कर्षको स्पर्धा गोली लागेको जीर्ण शरीरले थेग्नु चानचुने कुरा होइन । १७ वर्ष लामो कठिन संघर्षलाई अन्ततः २७ वैशाख २०८० मा मुकेश कायस्थले बिट मारेका छन् ।

जनआन्दोलन २०६२/६३ मा घाइते भएका जिउँदो शहीद कायस्थको भौतिक शरीर हामीमाझ नरहे पनि हामी उनलाई बिर्सन सक्दैनौं ।

देशमा गणतन्त्र भित्र्याउन आफ्नै ज्यानको बाजी राखेर आन्दोलनमा होमिएका काभ्रे बनेपा-८ का कायस्थको १७ वर्ष अर्धचेत अवस्थामै बित्यो । यो समयावधिमा देशमा गणतन्त्र आयो, संघीय संरचना बन्यो, शान्ति कायम हुनुको साथै राज्य सञ्चालन गर्ने धेरै पात्र फेरिए।

देशमा भएका साना-ठूला परिवर्तनले मुकेशको स्वास्थ्य अवस्थामा परिवर्तन ल्याउन सकेन । स्वास्थ्य सुधारको पर्खाइमै मुकेश अस्ताए ।

बनेपा नजिकै घर भएकाले पनि बजार आसपासमा हुने हरेक गतिविधि नियाल्न सकिन्थ्यो । २०६२/६३ ताका देशमा जनआन्दोलन चर्किएको थियो। काभ्रेमा पनि हरेक दिन जनआन्दोलनका साना-तिना गतिविधि भइरहन्थे।

आन्दोलनको क्रममा पोखरामा सुरक्षाकर्मीले चलाएको गोली लागेर काभ्रेको बनेपा-४ का भीमसेन दाहालको मृत्यु भयो । दाहालको मृत्युपछि काभ्रेमा त्यसकोविरुद्ध आन्दोलन चर्कियो ।

काभ्रे मात्र होइन, जिल्ला आसपास हुने हरेक आन्दोलनमा सहभागी हुन्थ्यौं । अघिल्लो दिनै दाहालको घटनाले बनेपामा उग्र रूप लिइसकेको थियो । चैत २७ गते पोखरामा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका दाहालको शव हेलिकप्टरमार्फत धुलिखेल ल्याउने तयारी थियो । यो कुरा मलाई अघिल्लो दिनै जानकारी थियो ।

देवराज केसी

झिसमिसे उज्यालोमै बनेपा जाने तर्खरमा थिएँ । घरबाट निस्किने बेलामा आमाबुबाले सधैं भन्ने एउटै कुरा, ‘चञ्चले छस्, यस्ता आन्दोलनमा जानुहुँदैन, आन्दोलनमा जे पनि हुनसक्छ, त्यहाँ नजा बाबु !’

आमाबुबाले भनेको कुरा वास्ता नै गरिनँ । भीमसेनको शवलाई धुलिखेल ल्याइने कुराले मलाई कुनबेला त्यहाँ पुगौं भएको थियो । आमाबुबालाई छलेर बनेपातिर लागें ।

कामको सिलसिलामा पोखरा बस्दै आएका भीमसेन दाहालको घर, साबिक उग्रचण्डी गाविस, नालामा थियो। भीमसेनको मृत्युपश्चात उनका परिवार, आफन्त र स्थानीय लगायत सयौंको लर्को लागेर नालाबाट बनेपा आउँदै थियो। म भने नालाबाट आएको त्यो जनमानसलाई बनेपाको तीनदोबाटो चोकमा पर्खेर बसेको थिएँ ।

लगभग आधा घण्टा कुरेपछि मानिसको भीड तीनदोबाटो आइपुग्यो । अनि म पनि त्यही भीडमा मिसिएँ । सयौंको लर्को लागेर त्यो जनमानस चारदोबाटोतर्फ अघि लाग्दै गर्दा एउटा समूह बनेपा नगरपालिकामा छिर्‍यो । उनीहरू भीमसेनको हत्याविरुद्ध नगरपालिकामा प्रदर्शन गर्न पुगेका थिए । प्रदर्शनकारीले त्यहाँका सरकारी कागजात मात्र लगेनन्, नगरपालिका भवन तोडफोडका साथै आगजनी समेत गरे ।

विस्तारै त्यो घटनाले बनेपामा उग्र रूप लिंदै गयो । आन्दोलनकारीले बनेपाका कुनै सरकारी कार्यालय बाँकी राखेनन् । सबै कार्यालयमा आगजनी र तोडफोड भयो । आन्दोलनकारी धुलिखेल जाने खबरले गर्दा बनेपाका अधिकांश सुरक्षाकर्मी धुलिखेल केन्द्रित थिए ।

भीमसेनको शव लिन धुलिखेल पुगेका अर्को समूहलाई सुरक्षाकर्मीले धुलिखेल चोकबाटै धरपकड गरी बनेपा फर्काइदिए । त्यहाँ पनि धेरै आन्दोलनकारी घाइते भए । धुलिखेलबाट त्यो टोली बनेपा फर्किएपछि, बनेपा तनावग्रस्त भयो । आन्दोलन झन् चर्किंदै गएपछि सबै ठाउँको सुरक्षकर्मी बनेपा केन्द्रित भए ।

नेपाली सेनाको ट्याङ्कले आन्दोलनकारीलाई तितरवितर पार्‍यो । दमनले आन्दोलन थप उग्र बन्न थाल्यो । आन्दोलनकारीले बनेपाका गल्ली–गल्लीबाट सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्न थाले ।

घडीमा त्यस्तै ३ बजेको थियो होला । तीनदोबाटोको गौतम मिठाई भण्डार नजिकै सुरक्षाकर्मीलाई ढुंगा हान्दै थिएँ । आन्दोलनकारी र सुरक्षाकर्मी दुवैतर्फबाट दोहोरो भिडन्त भइरहेको थियो । पहिला त सुरक्षाकर्मीले अश्रुग्याँस र ढुंगामुढा मात्र हानेका थिए । पछि एक्कासी गोली चल्यो ।

सुरक्षाकर्मीले चलाएको गोली मसँगै आन्दोलनमा होमिएका बनेपा-८ का मुकेशको कञ्चटमा लाग्यो । त्यही भीडमा मुकेशसँगै विक्रम कपालीलाई पनि गोली लागेको थियो । गोली चलेपछि प्रदर्शनकारीबीच भागा-भाग मच्चियो । रोदन र चिच्याहटका आवाज सुनिन थाले, ‘मान्छे मार्‍यो, मान्छे मार्‍यो !’

मुकेशको नजिक जान सक्ने स्थिति थिएन । सुरक्षाकर्मीको गोली र ढुंगा चलिरहेकै थियो । मुकेशलाई नजिकै गएर हेरें । उनी निकै छट्पटाइरहेका थिए । मुकेश मेरो लागि नौलो अनुहार थिएन । मुकेशसँग मेरो त्यति कुराकानी नभए पनि देखभेट भने भइरहन्थ्यो । उनलाई त्यस्तो अवस्थामा छाडेर जान मेरो मानवताले दिएन । सबैले मुकेश मरिसक्यो भनिरहेका थिए ।

नजिकै गएर मुकेशलाई नियालें । उनको शरीरमा धुकधुकी थियो । श्वास चलिरहेको थियो । उनी जीवित छन् भन्ने थाहा पाएपछि चिच्याउँदै गुहार मागें, ‘मुकेशलाई अस्पताल लैजाऔं !’ एक मिटरसम्म एक्लै घिसासेर लगें । त्यसपछि ५/६ जना मानिस सहयोग गर्न आए ।

घटनास्थलबाट धेरै टाढा थिएन, करुणा फर्मा । सबै मिलेर मुकेशलाई त्यहाँ लग्यौं । १५ मिनेटसम्म त्यहाँका स्वास्थ्यकर्मीले मुकेशको उपचारमा जोडबल लगाए । तर, उनको अवस्था निकै नाजुक थियो । त्यहाँ उनको उपचार सम्भव भएन । अन्य अस्पताल लैजाने तयारीमा जुट्यौं।

सुरक्षाकर्मीले चलाएको गोली मसँगै आन्दोलनमा होमिएका बनेपा-८ का मुकेशको कञ्चटमा लाग्यो । त्यही भीडमा मुकेशसँगै विक्रम कपालीलाई पनि गोली लागेको थियो । गोली चलेपछि प्रदर्शनकारीबीच भागा-भाग मच्चियो । रोदन र चिच्याहटका आवाज सुनिन थाले, ‘मान्छे मार्‍यो, मान्छे मार्‍यो !’

बनेपामा आन्दोलन चर्किएकाले भन्ने बित्तिकै एम्बुलेन्स आउन सक्ने स्थिति थिएन । आन्दोलन छिचोल्दै केही बेरमा एम्बुलेन्स आइपुग्यो । थप उपचारका लागि मुकेशलाई शिर मेमोरियल अस्पताल लैजाने निधो भयो । मुकेशलाई एम्बुलेन्समा राख्यौं । मसँगै एम्बुलेन्समा अरू दुई जना पनि थिए । शिर मेमोरियलतर्फ जाँदै गर्दा चाँदनीचोक नपुग्दै चालकले झ्याप्प ब्रेक लगाए ।

आन्दोलनकारीले एम्बुलेन्सलाई रोक्ने प्रयास गरिरहेका थए । उनीहरूले एम्बुलेन्स रोक्नुको कारण त्यहाँ अर्को घाइतेलाई पनि अस्पताल पुर्‍याउनु रहेछ भन्ने कुरा पछि थाहा भयो। चालकले बलजफ्ती गर्दै अस्पतालतर्फ एम्बुलेन्सलाई अघि बढाए। एम्बुलेन्स अघि बढ्दै थियो, पछि पछि आन्दोलनकारीले ढुंगा हान्दै थिए । आन्दोलनकारीले हानेको ढुंगा लागेर एम्बुलेन्सको देब्रेपट्टिको झ्यालको सिसा फुट्यो ।

झ्याल नजिकै बसेकाले सिसा फुटेर मेरो टाउको पछाडि चोट लाग्यो । रगत बगिरहेको थियो । त्यतिबेला मलाई मेरोभन्दा पनि मुकेशको चिन्ता थियो । उनलाई जसरी पनि चाँडोभन्दा चाँडो अस्पताल पुर्‍याउनुथियो ।

निकै संघर्षका साथ एम्बुलेन्स अस्पताल पुग्यो। उनलाई हतार-हतार शिर मेमोरियल अस्पतालको इमर्जेन्सी कक्षमा पुर्‍याइयो। डाक्टरले सुरुमा मुकेशको धड्कनको चेकजाँच गरे । उनको अवस्था नियालेपछि डाक्टरले शिरमा उपचार सम्भव नहुने बताए । तत्काल काठमाडौं रिफर गरे ।

केही समय अस्पताल बाहिर निस्किएँ । घोकेचौरको ओरालोमा ठूलो भीडका बीचमा ५/६ जना मानिसले सुकुलमा बेरेर केही ल्याएको जस्तो देखें । त्यो भीड अस्पताल सामुन्ने आइपुगेपछि, अस्पतालका गार्डले गेट बन्द गरिदिए ।

एक्कासी त्यो भीडले गेटमा तोडफोड गर्न थाल्यो । त्यहाँका स्थानीयले त्यो भीडलाई नियन्त्रण गर्‍यो । पछि बुझ्दा, उनीहरूले सुकुलमा बेरेर ल्याएको मान्छे चाँदनीचोकमा गोली लागेर मृत्यु भएका शिवहरि कुँवरको रहेछ । एम्बुलेन्सले कुँवरलाई नलगेको भन्दै अस्पतालमा आक्रोश पोखेका रहेछन् । अस्पताल पुगिसक्दा कुँवरको मृत्यु भइसकेको रहेछ ।

यता, अस्पतालले मुकेशलाई काठमाडौं पठाउने चाँजोपाँजो मिलाउन थाल्यो । मुकेशको त्यो घटनाको खबर परिवारसम्म पुगिसकेको रहेछ । रुँदै कराउँदै मुकेशको परिवार अस्पताल आए ।

करिब ४ बजेतिर मुकेशलाई उनको परिवारले थप उपचारका लागि काठमाडौंको वीर अस्पताल लगे । मुकेशलाई परिवारले काठमाडौं लगेपछि मन अलि शान्त भयो । घर फर्किने तरखर गरें।

उक्त घटनापश्चात् बनेपामा कर्फ्यू लागिसकेको रहेछ। कर्फ्यूका कारण अरनिको राजमार्ग हुँदै घरसम्म पुग्ने स्थिति थिएन। मगर गाउँहुँदै पुलबजार पुगें। घर त्यहाँबाट त्यति टाढा त होइन, तर पनि जान मन लागेन । पुलबजारमा जारी आन्दोलनमा पुनः होमिएँ। त्यहाँको अवस्था पनि तनावग्रस्त थियो । सडकमा टायर बालेर आन्दोलन चर्काइएको थियो।

१७ वर्षसम्म जिउँदो शहीद भएर जीवन र मृत्युसँग लडेका मुकेशको पार्थिव शरीर हामीमाझ नभए पनि उनले देशको लागि पुर्‍याएको योगदान सधैं अमर रहिरहेछ ।

बनेपाको टेलिकममा भएको आगजनी नियन्त्रण गर्न गएको दमकललाई बीच बाटोमै रोकियो। साँझपखको समय थियो, आन्दोलनकारीको टोलीसँगै बनेपातर्फ लागें।

बनेपा पुग्दा त्यहाँ कुनै सुरक्षाकर्मी देखिएनन्।कर्फ्यूका बावजुद पनि हामीले बनेपामा रहेको इलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालयमा तोडफोड र आगजनी गर्‍यौं।

यो घटना घटेको १७ वर्ष भइसकेछ। तर पनि त्यो कालो दिन अझै पनि मनमस्तिष्कमा ताजा नै छ। झन् मुकेशको निधनको खबरले थप झस्कायो। मुकेशलाई गोली लागेको घटना अझै पनि मानसपटलमा ताजै छ ।

घाइते मुकेशलाई अस्पताल पुर्‍याएको याद उत्तिकै ताजा छन् । त्यो दिनलाई सम्झिंदा आँखाहरू रसाउन थाल्छन्। मन भारी हुन्छ । आक्रोश बढ्छ ।

१७ वर्षसम्म जिउँदो शहीद भएर जीवन र मृत्युसँग लडेका मुकेशको पार्थिव शरीर हामीमाझ नभए पनि उनले देशको लागि पुर्‍याएको योगदान सधैं अमर रहिरहेछ ।

२०६२/६३ को जनआन्दोलनको क्रममा मुलुकभर सहादत प्राप्त गरेका २६ जनालाई शहीद घोषणा गरियो । जनआन्दोलनको समयमा गणतन्त्र स्थापना गर्न मुकेशले पुर्‍याएको योगदानलाई कदर गर्दै नेपाल सरकारले शहीद घोषणा गर्नुपर्छ । शहीदहरूको बलिदानबाट देशमा गणतन्त्र आएको छ । शहीदहरूको योगदानलाई कदर नगरिएमा उनीहरूले देशप्रति दिएको बलिदान खेर जान्छ । त्यसैले देशको लागि बलिदान दिने मुकेश जस्ता महान् व्यक्तिहरूलाई कदर गरिनुपर्छ ।

(केसी नेपाल टेलिभिजनको काभ्रे संवाददाता हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?