काठमाडौं । ‘हाकुपटासी’ नेवार समुदायका महिलाको मौलिक पहिरन हो । काठमाडौं उपत्यका, त्यसमा पनि भक्तपुरका महिलामाझ बढी लोकप्रिय छ हाकुपटासी । हाकुपटासीमा श्रीपछेलु चोलो र खास्टो लगाउने चलन छ ।
तर व्यस्त जीवनशैली र आधुनिक फेसनको प्रभावले पछिल्लो समय यो पहिरनप्रतिको आकर्षण घट्दै जाँदा हाकुपटासी कतै इतिहासमा सीमित हुने त होइन भन्ने चिन्ता थपिएको छ ।
हाकुपटासीको सुरुवात काठमाडौं उपत्यकाका नेवार समुदायका ज्यापूहरुले गरेका हुन् । हाकुपटासीको चलन मल्लकालमा सुरु भएको मानिन्छ ।
कच्चा पदार्थ नै आयात
हाकुपटासीका लागि सुती र रेशम आवश्यक कच्चा पदार्थ हुन् । पहिले देशभित्रबाटै यसको पूर्ति भए पनि पछिल्लो समय भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । यसको कारण बढ्दो महंगी र बजार अभावले कच्चा पदार्थ उत्पादनमा गिरावट आएको छ ।
त्यसैले स्थानीयस्तरमा उत्पादन कम हुँदा आयातको भर पर्नु परिरहेको छ । जसकारण भक्तपुरमा हाकुपटासी बनाउनेहरुको पेशा नै संकटमा परेको छ ।
हाकुपटासी बनाउन नेवारी हातेतान (ताङ), चर्खा (न्या), फेलु (धागो बेर्ने), तुकी चाहिन्छ । पहिले भक्तपुरका हरेक घरमा यस्ता औजार र सामग्री हुन्थे । आफैंले हाकुपटासी पहिरन बनाएर लगाउँथे । तर अहिले समय फेरिएसँगै यी सामग्री देख्न मुश्किल पर्छ ।
वर्तमान अवस्था
परिवर्तित जीवनशैलीले हाकुपटासीको शैली पनि परिवर्तन हुन थालेको छ । यसमा अहिले अरु पहिरन मिश्रण गरेर समेत लगाउन थालेका छन् । भक्तपुर हाकुफल्चास्थित हाकुपटासी उत्पादककर्ता पूर्णकेशरी खाताखोका अनुसार स्थानीय बजारमा यसको माग धेरै कम भएको छ ।
‘भक्तपुरका लागि मात्र उत्पादन गर्ने हो भने त अब हाकुपटासी नबनाए पनि हुन्छ,’ खाताखो भन्छिन्, ‘किनकि अहिले तानमा बुनेको कपडाको हाकुपटासीभन्दा पनि बजारमा आएका सिफनको कालो सारीमा रातो बाला जोडेर लगाउने धेरै छन् ।’
अहिले चाहेर पनि हाकुपटासी धेरै उत्पादन गर्न सक्ने अवस्था नभएको उनी बताउँछिन् । ‘पहिला पहिला एउटा तानबाट सुरु गरेर नौवटा तानसम्म हालेर चलाएको थिएँ,’ खाताखो भन्छिन्, ‘अहिले एउटा तानमा हाकुपटासी बुन्न पनि कच्चा पदार्थ छैन ।’
अर्का उत्पादक बुद्धिसागर प्रजापति अबको पुस्ताले सक्कली हाकुपटासी देख्न नै नपाउने बताउँछन् । ‘सबै कच्चा पदार्थ भारतबाट आयात हुन्छ । मौलिकता झल्काउने हाकुपटासी लोप हुने अवस्थामा छ,’ उनी भन्छन् ।
हाकुपटासी बनाउँदै आएकी हीरा दनेखु भारतबाट आउने कपडामा तानमा बुनेको रातो बाला मात्र हुने भएकाले त्यो टिकाउ नहुने बताउँछिन् । तर सस्तो भएकाले धेरैको रोजाइमा त्यो परेको हुन सक्ने उनको भनाइ छ ।
हाकुपटासी मौलिक पहिरन भएकाले यसलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उनको सोच छ । ‘हाकुपटासी नयाँ पुस्तालाई हस्तारण गरेको छैन । म भएसम्म म यही काम गर्छु, म पछि यो कामलाई निरन्तरता दिने कोही हुनुहुन्न । यही कामले मात्र घर चलाउन गाह्रो हुन्छ ,’ दनेखु भन्छिन् ।
नयाँ पुस्तालाई यसबारे जानकारी दिनुपर्ने र हाकुपटासीको संरक्षणका लागि सरकारले पनि ध्यान दिनुपर्ने उनी बताउँछिन् ।
कहाँ छ बजार ?
हाकुपटासीको बजार अहिले काठमाडौं उपत्यकामा भन्दा पनि देशबाहिर रहेको बताउँछन् । नेपाल भ्रमणमा आएका कतिपय पर्यटकहरुले हाकुपटासी उपहारको रुपमा लैजाने गरेका छन् ।
‘विदेशमा हाम्रा दिदीबहिनी, छोरी, नातिनीहरू यहाँ बुनेका हाकुपटासी लगाएर मख्ख पर्छन्,’ प्रजापति भन्छन्, ‘त्यसैले हाकुपटासी आजकाल विदेशतिर सप्लाई हुन्छ ।’
मूल्य कति ?
हाकुपटासीको मूल्य एक हजारदेखि पाँच हजार रुपैयाँसम्म पर्छ । तल हुने रातो बालाको डिजाइन अनुसार मूल्य केही तलमाथि हुन सक्छ ।
तस्वीर, भिडियो : विकास श्रेष्ठ/अनलाइनखबर
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4