+
+

साफ च्याम्पियनसिपमा नेपाल : कठिन समूह, कमजोर तयारी

यस पटक साफ क्षेत्र बाहिरका दुई टिम लेवनान र कुवेतको आगमनपछि पनि कमजोर तयारी गरिरहेको नेपालका लागि उपाधि जित्ने लक्ष्य राख्नु नै हास्यास्पद हुनेछ । समूह चरणमै भारत र कुवेतलाई पराजित गर्न नेपालका लागि ठूलो चुनौती हो ।

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० जेठ ३ गते १९:२२

३ जेठ, काठमाडौं । दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्यमा अझै चुनौती थपिएको छ । ६–१९ असारसम्म भारतको बैंगलुरुमा हुने प्रतियोगितामा ‘समूह ए’बाट नेपालले सुरुवातमै कुवेत र भारतसँग खेल्नुपर्नेछ ।

कुवेत र लेवनानलाई आमन्त्रित टिमका रुपमा समावेश गरिएपछि यसै पनि साफ च्याम्पियनसिपको प्रतिस्पर्धास्तर उँचो भएको छ । त्यसको ठीक विपरीत नेपालको राष्ट्रिय टिमले अघिल्ला संस्करणहरुको तुलनामा कमजोर तयारीबीच साफ खेल्दैछ ।

असोज, २०७८ मा माल्दिभ्स मालेमा नेपालको प्रदर्शन ऐतिहासिक थियो । साफको झण्डै तीन दशकको इतिहासमा नेपाल पहिलोपल्ट फाइनल पुगेको थियो । फाइनलमा भारतसँग ३–० ले हारेपछि उपाधि जित्न असफल रह्यो ।

एसियाली उपक्षेत्रीय प्रतियोगिता जित्ने नेपालको लक्ष्यमा यसपल्ट झन् चुनौती छ । चुनौती विपक्षीको स्तर मात्र होइन आफ्नो तयारीको कमजोरीका कारण पनि छ ।

नेपालमा १९ फागुनदेखि शहीद स्मारक ए डिभिजन लिग चलिरहेको छ । डवल राउण्ड रोविन प्रणालीमा सञ्चालित यो लिग २७ जेठसम्म चल्नेछ । यसबीचमा नेपाली राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक भिन्सेन्ट अल्बर्टो एनेसले खेलाडीसँग परिचय र घुलमिलका लागि ट्याक्टिकल ट्रेनिङ सत्र सञ्चालन गरिरहेका छन् ।

चैत ८–१७ सम्म प्रधानमन्त्री कप त्रिदेशीय प्रतियोगितामा भुटान र लाओससँग खेलेको नेपाल टिमले त्यसयता तीन सत्र ट्याक्टिकल ट्रेनिङमा बिताएको छ । प्रशिक्षक एनेसले ट्याक्टिकल ट्रेनिङमा पनि खेलाडीहरु परिवर्तन गरिरहेका छन् ।

१४औं संस्करणमा दक्षिण एसियाको श्रीलंकाबाहेक ६ र दुई आमन्त्रित गरी ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । नयाँदिल्लीमा भएको समूह विभाजनमा आयोजक भारत, नेपाल, कुवेत र पाकिस्तान ‘समूह ए’ मा परेका छन् । लेववान, माल्दिभ्स, भुटान र बंगलादेश ‘समूह बी’ मा छन् ।

नेपाली खेलाडीहरु २७ जेठसम्म लिगमै व्यस्त हुनेछन् । ३२ जेठमा नेपालले फिलिपिन्ससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्नेछ । त्यसको ६ दिनपछि साफमा कुवेतसँग पहिलो खेल खेल्नेछ । नेपाली राष्ट्रिय टिमका सहायक प्रशिक्षक रहिसकेका किरण श्रेष्ठले प्रशिक्षकले पर्याप्त समय नपाउनु टिमका लागि प्रत्युत्पादक हुनसक्ने चिन्ता गर्छन् ।

‘मैले बुझेअनुसार नेपालले १० दिनको तयारी पाउनेछ । त्यो त धेरै कम समय हो’ अघिल्लो संस्करण फाइनल खेलेको टिमका सहायक प्रशिक्षक श्रेष्ठले अनलाइनखबरसँग भने, ‘यसपालि हामीलाई गाह्रो होला जस्तो छ । लिगमा लगातारको खेलले खेलाडीलाई रिकभरी समय पुगेको छैन । चोटको जोखिम उत्तिकै छ ।’

अघिल्लो संस्करणमा नेपालले पर्याप्त तयारी गरेको थियो । साफअघिको सात महिनामा नेपालले विश्वकप छनोटसमेत गरी १० खेल खेलेको थियो । जसमा एसियाका बलिया टिमहरु इराक, अष्ट्रेलिया, जोर्डन तथा भारत र बंगलादेश जस्ता टिमहरु विपक्षी थिए ।

आसन्न साफका लागि नेपालले अघिल्लो महिनादेखि मात्र औपचारिक तयारी गरेको हो । १७ फागुनमा बसेको एन्फा कार्यसमिति बैठकले एनेसलाई प्रशिक्षक नियुक्त गरेको थियो । अघिल्लो असोजमा अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएपछि ७ महिना नेपाल प्रमुख प्रशिक्षकविहीन थियो ।

एनेसले लिगका सुरुवाती पाँच चरणको खेलमा गरेको प्रदर्शनका आधारमा टिम छनोट गरी दुई दिनको प्रशिक्षणमा प्रधानमन्त्री कप त्रिदेशीय प्रतियोगिता खेलाएका थिए । जहाँ नेपालले फाइनलमा लाओसलाई पराजित गरेको थियो । तर, दक्षिण एसियाली प्रतिस्पर्धी भुटानसँग गोलरहित बराबरीमा रोकिनुले नेपालको उपाधिलाई नै खल्लो बनायो ।

राष्ट्रिय टिमका नियमित सदस्यहरु नै विदेश पलायन हुँदा अहिले युवा र कम अनुभवी खेलाडीले स्थान लिएका छन् । अघिल्लो साफ च्याम्पियनसिप खेलेका १० खेलाडी अहिले टिममा छैनन् ।

‘सिनियर खेलाडीहरु नहुनु नेपालका लागि कठिन हुन्छ नै तर नयाँ खेलाडीहरुका लागि पनि यो आफूलाई प्रमाणित गर्ने अवसर हो’ ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दीको प्रशिक्षकबाट हालै राजीनामा दिएका श्रेष्ठले थपे, ‘जुन खेलाडीहरु अहिले टिममा प्रशिक्षण गरिरहेका छन्, उनीहरु पनि पर्याप्त समय पाएको खण्डमा राम्रो प्रदर्शन गर्नसक्नेहरु नै हुन् । मुख्य कुरा प्रशिक्षकले समय पाउनुपर्छ । त्यसो हनहुँदा हामीलाई निश्चित रुपमा कठिन हुन्छ ।’

दक्षिण एसियामा भारत सबैभन्दा बलियो टिम हो । उसले साफ च्याम्पियनसिप नै ८ पल्ट जितेको छ । आसन्न एसिया कपको तयारी गरिरहेको छ । केही वर्षअघिसम्म नेपालकै हाराहारीको स्तरमा रहेको भारत अहिले पूर्वाधार र घरेलु संरचनाको हिसाबमा माथि पुगेको छ ।

माल्दिभ्समा भएको १३औं संस्करणमा नेपाल टिम भारतसँग दुई पटक पराजित भएको थियो । लिग चरणमा १–० र फाइनलमा ३–० ले पराजित रह्यो । सन् २०१३ मा नेपालमै भएको साफ च्याम्पियनसिपमा नेपालले भारतलाई समूह चरणमा २–१ ले पराजित गरेको थियो । दशरथ रंगशालमा भएको त्यस खेलमा नेपालका जुमानु राई र अनिल गुरुङले गोल गरेका थिए । त्यसयता नेपालले भारतलाई हराउन सकेको छैन ।

भारतको चुनौती कायम रहँदा नेपाललाई अर्को चुनौतीको रुपमा कुवेत आएको छ । पछिल्लो समय नेपालले एसिया कप र विश्वकप छनोटमा कुवेतसँग खेल्दै आएको छ । तर नेपालले कुवेतलाई हराउन सकेको छैन ।

कुवेतसँग नेपालले २०१९ यता नै ५ खेल खेलिसकेको छ । त्यसमध्ये उसैको मैदानमा गोलरहित बराबरीमा रोक्नु नेपालको लागि ठूलो उपलब्धि थियो । नेपाललले कुवेतसँग कुल ९ खेल खेल्दा नेपालले ८ खेलमा हार बेहोरेको छ भने १ खेलमा बराबरी गर्न सफल भएको छ । नेपालले कुवेतलाई जम्मा दुई गोल मात्र गरेको छ ।

‘एन्फा राष्ट्रिय टिमको तयारीमा गम्भीर नै छ । ए डिभिजन लिग रोकेर साफपछि गर्ने हाम्रो प्रस्ताव पारित हुन सकेन । अहिले ट्याक्टिकल प्रशिक्षण भइरहेको छ’ खड्काले भने, ‘लिगमा नियमित खेल्दा खेलाडीहरु तयार त छन् तर, व्यस्त तालिकाका बीच उनीहरु मानसिक रुपमा फिट नहुन सक्छन् । रिकभरी समय पुगेको छैन ।’

नेपालको समूहमा रहेको अर्को टिम हो पाकिस्तान । फिफाको निलम्बन फुकुवा भएपछि पहिलो पटक साफ च्याम्पियनसिप खेल्न लागेको पाकिस्तानी टिम उत्साहित छ ।

सन् २०१८ मा बंगलादेशमा भएको १२औं साफ च्याम्पियनसिपमा नेपालले पाकिस्तानसँग खेलेको थियो । जहाँ नेपाल टिम पाकिस्तानसँग २–१ ले पराजित भएको थियो । त्यसअघि २०१३ मा नेपालमै भएको साफमा नेपालले पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो । सो खेलमा विमल घर्तीमगरले अन्त्यतिर बराबरी गोल फर्काएका थिए ।

यस्तै नेपालले गत कात्तिकमा घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेलेको थियो जहाँ नेपालले अन्जन विष्टको गोलमा पाकिस्तानलाई हराएको थियो ।

कुवेत र लेवनानको आगमनपछि साफ च्याम्पियनसिपको स्तर बढ्ने भए पनि नेपाल लगायत देशलाई चुनौती पनि थपिएको छ । त्यसमा पनि कुवेत र दक्षिण एसियाको बलियो टोली भारत रहेको समूहमा पर्दा नेपाललाई कठिन हुने देखिएको छ ।

फुटबल विश्लेषक तथा शहीद स्मारक लिगका लिग निर्देशक सन्जीव मिश्रले दुई टिम थपिँदा नेपाललाई अझै धेरै कठिन हुने बताउँछन् । मिश्रले लेवनान र कुवेतको आगमनले नेपाल जस्ता टिमले अन्तर्राष्ट्रिय खेल खेल्न पाउने र म्याच एक्सपोजर पाउनु फाइदाको विषय भएको बताए ।

कहिले जित्ने साफ ?

नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन । यसअघि २०७८ असोजमा भएको पछिल्लो संस्करणमा फाइनल पुग्नु नै नेपालका लागि अहिलेसम्मको ठूलो उपलब्धि हो ।

सन् १९९३ मा सार्क गोल्डकपको नामबाट सुरु भएको प्रतियोगितामा नेपाल र भारतले मात्र यसअघिका सबै १३ संस्करण खेलेका छन् । नेपाल अघिल्लो संस्करणको फाइनलिस्टकै रुपमा खुसी मनाइरहेको छ ।

अझ यस पटक साफ क्षेत्रबाहिरका दुई टिम लेवनान र कुवेतको आगमनपछि नेपालका लागि उपाधि जित्ने लक्ष्य राख्नु नै हास्यास्पद हुनेछ । समूह चरणमै भारत र कुवेतलाई पराजित गर्न नेपालका लागि ठूलो चुनौती हो ।

लामो समयदेखि नेपाल फुटबलमा कुनै न कुनै भूमिकामा सक्रिय विश्लेषक मिश्र भन्छन्, ‘अब नेपालले साफ कहिले जित्छ भनेर अनुमान गर्न गाह्रो छ ।’

तीन दशकदेखि साफ जित्ने लक्ष्य राखेको नेपाल टिमले यसपल्ट त्यो सफलता पाउला भनेर राष्ट्रिय टिमका पूर्व स्ट्राइकर तथा एन्फाका कार्यवाहक प्राविधिक निर्देशक हरि खड्कालाई पनि शंका छ । किनभने यसपल्ट टिममा धेरै परिवर्तन भएका छन्, उनीहरुले पर्याप्त समय र एक्सपोजर पाएका छैनन् ।

‘एन्फा राष्ट्रिय टिमको तयारीमा गम्भीर नै छ । ए डिभिजन लिग रोकेर साफपछि गर्ने हाम्रो प्रस्ताव पारित हुन सकेन । अहिले ट्याक्टिकल प्रशिक्षण भइरहेको छ’ उनले अनलाइनखबरसँग भने, ‘लिगमा नियमित खेल्दा खेलाडीहरु तयार त छन् तर, व्यस्त तालिकाका बीच उनीहरु मानसिक रुपमा फिट नहुन सक्छन् । रिकभरी समय पुगेको छैन ।’

पलायन र चोटका कारण सिनियर खेलाडीको अभाव यसपल्ट साफमा खट्किनेछ । अघिल्लो साफ खेलेका १० खेलाडी अहिलेको टिममा छैनन् । विमल घर्तीमगर, एरिक विष्ट र विकास खवास घाइते छन् । बुधबारको ट्याक्टिकल प्रशिक्षणमा प्रशिक्षक एनेसले लिगमा एकमात्र खेल खेलेका खेलाडीलाई समेत समावेश गरेका थिए । त्यो भनेको पोजिसनअनुसार खेलाडीको अभाव छ भन्ने हो ।

‘प्रशिक्षकले पूर्ण रुपले आफ्नो योजना र रणनीति बनाएर प्रशिक्षण गर्न पाइरहेको अवस्था छैन । लिगकै प्रदर्शनका आधारमा ट्याक्टिकल प्रशिक्षण गरिरहेको हो । त्यसकै आधारमा टिमको निर्माण मैत्रीपूर्ण खेलमा कसरी प्रयोग गर्छ भन्ने कुरा मात्र हो’ खड्का भन्छन्, ‘गाह्रो समूहमा परेका कारण पनि हामीले अघिल्लो प्रतियोगितामा हासिल गरेको सफलता भेट्टाउन कठिन नै देख्छु ।’

खेलतालिका 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?