+
+

स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरण रोके आन्दोलनमा उत्रिने लगानीकर्ताको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३ गते २१:१८

३ जेठ, काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रकृयालाई तत्कालै अगाडि बढाउन माग गरेका छन् ।

लगानीकर्ताहरुले वर्षौंदेखि उठाउँदै आएका र अर्थतन्त्रको भलो हुने विषयलाई कार्यन्वनयको अन्तिम चरणमा अबरुद्ध पार्दा केही स्वार्थ समूहको भलो भए पनि समग्र अर्थतन्त्र र लगानीकर्ताहरुको भलो नहुने उनीहरुको भनाइ छ । कुनै पनि बहानामा बजार सुधारको प्रक्रियालाई अवरुद्ध गर्न खोजे लाखौं लगानीकर्ताहरु आन्दोलनमा उत्रिन बाध्य हुने लगानीकर्ताहरूले चेतावनी दिएका छन् ।

सेयर बजारमा आबद्ध करिब ५७ लाख लगानीकर्ताको प्रतिनिधित्व गर्दै पुगेका तीनवटा संस्थाका प्रतिनिधिहरुले लगानीकर्ताको मुख्य माग स्टक एक्सचेन्ज र नयाँ ब्रोकरको लाइसेन्स प्रक्रिया भएको बताएका छन् ।

लिखित मागपत्र बुझाउँदै उनीहरुले स्टक एक्सचेन्ज, नयाँ ब्रोकर, कोमोडिटी एक्सचेन्ज लगायतका बजार सुधारका कार्यलाई अगाडि बढाउन आग्रह गरेका छन् ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारलाई सुधार गर्ने भन्दै नयाँ ब्रोकर, स्टक एक्सचेन्ज, केमोडिटी एक्सचेन्ज लगायतको लाइसेन्स प्रक्रियालाई अगाडि बढाएको थियो ।

आवेदन बन्द भएर मूल्याङ्कन प्रकृया सुरु भएसँगै प्रधानमन्त्री प्रचण्डको ठाडो आदेशमा स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोकिएको छ भने ब्रोकरको लाइसेन्स प्रक्रियामा पनि भाँजो हाल्ने प्रयास भइरहेको लगानीकर्ताको आरोप छ ।

स्टक एक्सचेन्जको लाइसेन्स प्रकृयामा नेपालका अधिकांश व्यापारिक समूहको सहभागितामा तीनवटा कम्पनीले आवेदन दिएका थिए । उनीहरुले पेश गरेका बिजनेस प्लान र योजनाहरुको मूल्याङ्कन सुरु भएर अंक दिन सुरु गरेपछि केही स्वार्थ समूहको दबाबमा प्रधानमन्त्रीले लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको लगानीकर्ताको बुझाइ छ ।

लगानीकर्ताहरुले बिषयको गम्भिरतालाई नबुझी केही सांसदहरुले पूँजीबजार सुधारको प्रकृयालाई दिग्भ्रमित पार्नेगरी संसदमा उठाएको आवाज आपत्तिजनक र लगानीकर्तालाई मर्माहत पार्नेखालको रहेको बताएका छन् ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुल्सिराम ढकाल, सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल र नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले प्रधानमन्त्रीलाई लिखित मागपत्र पेश गर्दै पूँजीबजारको विकाशका लागि सेयर कर्जामा लगाइएका अवरोधहरु हटाउन, पूँजीगत लाभकरमा सहुलियत दिन र तरलता एवम् ब्याजदरका बिषयमा ठोस कदम चाल्न पनि सरकारलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?