
४ जेठ, काठमाडौं । सहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र एफसी र फ्रेण्ड्स क्लबले २-२ को बराबरी खेलेका छन् ।
दशरथ रंगशालामा बिहीबार भएको खेलमा आफिज ओलावालेले दुई गोल गरेपछि मछिन्द्रले दुई पटक पछि परेको अवस्थामा पुनरागमन गर्दै बराबरी गरेको हो । चारै गोल खेलको दोस्रो हाफमा भएको थियो ।
प्रकाश बुढाथोकीले ६८औं मिनेटमा गोल गर्दै फ्रेण्ड्सलाई पहिले अग्रता दिलाएका थिए । तर ७१औं मिनेटमा ओलावालेले मछिन्द्रका लागि बराबरी गोल गरे ।
यस्तै ७९औं मिनेटमा रफिक अमिनुले गोल गर्दै फ्रेण्ड्सलाई फेरि अग्रता दिलाए पनि कायम राख्न सकेन ।
८३औं मिनेटमा ओलावालेले व्यक्तिगत दोस्रव गोल गर्दै खेल बराबरी गरे । बराबरीपछि मछिन्द्रले शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडसँग अंक बराबरी गर्ने मौका गुमायो ।
१९ खेलबाट ३१ अंक जोडेको मछिन्द्र तेस्रो स्थानमै यथावत छ । दोस्रो स्थानको जावलाखेल समान अंक भएपनि मछिन्द्र हेड टु हेडमा पछि छ । चर्च ब्वाइज र जावलाखेलले मछिन्द्र भन्दा एक खेल कम खेलेको छ ।
यस्तै फ्रेण्ड्स १९ खेलबाट २१ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ र रेलिजेसनबाट जोगिन संघर्षरत छ ।
मनाङ र संकटाले पनि बराबरी खेले
बिहीबारै च्यासल मैदानमा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबले पनि २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
मनाङका लागि दुवै गोल कोफी कोउडोले गरे । उनले १९औं र ४५औं मिनेटमा गोल गरे । मनाङले दुई पटक खेलमा अग्रता बनाए पनि जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो ।
संकटाका लागि युसुफ अट्रिसले ४४औं र मनिष डाँगीले ५२औं मिनेटमा गोल गरे । बराबरीपछि मनाङ १९ खेलबाट २३ अंक जोडेर सातौं स्थानमा उक्लेको छ । यस्तै संकटा १९ खेलबाट २२ अंकसहित नवौँ स्थानमा उक्लेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4