+
+

टेकनाथ रिजाल समातिएको खबर पत्याउन विवश भुटानी

‘हामीले सधैं नेता मानेर शिरमाथिको सम्मान दिएका डासो रिजाल नै नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने घृणित खेलमा परेको सुन्दा धिक्कार भन्न मन लागेको छ ।’

बसन्त बस्नेत बसन्त बस्नेत
२०८० जेठ ४ गते २०:१०

४ जेठ, काठमाडौं । भुटान सरकारले संसारभरि ग्रस नेसनल ह्यापिनेस् अर्थात् कुल राष्ट्रिय खुसी प्रवर्धन गर्दा मानवअधिकारवादी शरणार्थी नेता टेकनाथ रिजालले प्रश्न उठाउँदै लेखेका थिए, ‘भुटानी नागरिकहरुमा ग्रस नेसनल ह्यापिनेस (कुल राष्ट्रिय खुसी) होइन, ग्रस नेसनल सफरिङ (कुल राष्ट्रिय पीडा) व्याप्त छ ।

नेपाली, अंग्रेजी, हिन्दी र जोङ्खा भाषामा गरी ६ पुस्तक लेखिसकेका रिजालले आफ्नो पुस्तक ‘टर्चर किलिङ मी सफ्ट्ली’ मा यी वाक्यहरु लेखेका थिए । केही समयअघि यो संवाददातासँग उनले भनेका थिए, ‘जरा काटिएर बसेको छु, जरामै फर्किने सपना अझै बाँकी छ ।’

एकताका भुटानी नेल्सन मन्डेला भनी चिनिएका तिनै शरणार्थी नेता टेकनाथ रिजाल नेपालमा नक्कली शरणार्थी बनाएर ठगी गर्ने गम्भीर प्रकरणमा मुछिएका छन् । भुटानी शरणार्थी समुदायमा उनकै कारण कुल राष्ट्रिय पीडा व्याप्त भइरहेको छ । अनलाइनखबरसँग सम्पर्कमा आएका भुटानी नेपालीभाषी समुदायले रिजालका संदिग्ध क्रियाकलापबारे क्षोभ प्रकट गरेका छन् । प्रहरी अनुसन्धानबाट जस्तोसुकै निष्कर्ष आए पनि यो गम्भीर काण्डमा रिजाल जोडिन पुगेका प्रसंगहरुले उनीहरुको भावनामा गहिरो चोट लगाइदिएको छ ।

शरणार्थी बनाइनुअघिसम्म भुटान लामिडाँडाका टेकनाथ रिजाल निडर र निष्ठावान् भनेर राजधानी थिम्पुमा चिनिन्थे । जिग्मे दोर्जी वाङ्चुक राजपरिवारले उनलाई ‘डासो’ को सम्मान दिएको थियो । उनी ल्होत्साम्पा अर्थात् नेपालीभाषी भुटानी नागरिकमध्ये सबैभन्दा ठूलो राजकीय ओहोदा पाउने व्यक्ति थिए । चिराङबाट चुनाव जितेर संसद पुग्ने उनी त्यहाँका भ्रष्टाचारहरु छानबिन गर्ने अधिकारसम्पन्न आयोगमा पदाधिकारी थिए ।

नेपालीभाषीहरुको बाहुल्य रहेको सिक्किम भारतमा विलय भएसँगै भुटानको राजपरिवार आफ्नै नागरिकसँग त्रस्त थियो । ल्होत्साम्पा लखेटेर ढुक्कले राज गर्ने जिग्मे चाहनामा रिजाल बाधक बन्न पुगे । उनले जेलनेल भोगे । आसाम हुँदै नयाँ दिल्लीमा भागेर उपचार गरे ।

नेपाल आएर झापामा बस्दा समातिर सुपुर्दगी गरिएका रिजालले थिम्पुमा जन्मकैद सजाय पाएका थिए । जिग्मे दोर्जीको सेखपछि राजा बनेका जिग्मे सिंगे उनीप्रति अझै बढ्ता सशंकित थिए खासगरी दिल्ली पुगेर इन्दिरा गान्धीसँग भेट गरेपछि । थिम्पु फर्केर जन्मकैदमा थुनिएपछि नै हो, उनलाई भुटानी नेल्सन मन्डेला भन्न थालिएको । आफ्ना नागरिकका लागि सम्झौताहीन संघर्षमा होमिएका टेकनाथ रिजाल– यिनको यही परिचय थियो ।

आज बिहीबार झापामा समातिएर काठमाडौं ल्याइएका रिजाल कुनै आन्दोलनको एजेन्डामा होइन, आफ्नै समुदायको मुक्तिसँग जोडिएको गम्भीर आपराधिक प्रकरणमा संलग्नता भएको अभियोग खेपिरहेका छन् । अनुसन्धानबाट जेसुकै निष्कर्ष निस्के पनि यो पक्राउसँगै मानवअधिकारवादी आन्दोलनका नेताको रुपमा निर्मित ७८ वर्षे रिजालको विम्ब गर्ल्यामगुर्लुम ढल्न पुगेको छ । शरणार्थीका नाममा ठगी भइरहेको भन्दै कार्यदल बनाएर छानबिन गर्नुपर्ने माग राख्ने गरेका रिजाल नै यसमा संलग्न देखिनु अर्को अनौठो परिघटना बन्न गएको छ ।

झापाको बिर्तामोडमा शरणार्थीहरूले आयोजना गरेको समारोह उदघाटन गर्दै टेकनाथ रिजाल । तस्वीर सौजन्य : अर्जुन प्रधान

युवा उमेरमै भुटानका उच्चस्तरीय भ्रष्टाचार छानबिन गर्ने, अनि राजालाई सल्लाह दिने राजसभा सल्लाहकार परिषद्जस्तो अति विशिष्ट श्रेणीमा पर्ने पहिलो नेपालीभाषी रिजाल आफैं ठगी, भ्रष्टाचार, अनि मानव बेचबिखनजस्तो मुद्दामा संदिग्ध भेटिनु विस्मयकारी छँदैछ । भुटानबाट लखेटिएर नेपालमा शरण लिएको समुदायका सर्वोच्च तहका नेता नै नेपालीलाई नक्कली शरणार्थी बनाएर अर्को देश पठाउन लाग्ने प्रकरणमा मुछिन पुगेको खबर स्वीकार्न कठिन भएको छ ।

रिजालसँगै आन्दोलनरत भुटान पिपुल्स पार्टीका पूर्वअध्यक्ष बलराम पौडेलले अनलाइनखबरसँग भने, ‘उहाँ कताबाट कसरी मुछिनुभयो थाहा छैन, खबर अप्रत्याशित जस्तो सुनिए पनि कतिपय शरणार्थीहरुले विदेश जानुअघि उहाँका बारेमा यस्ता टिप्पणी गरेको मैले सुनेको हुँ ।’

यसअघि प्रकरणमा मुछिएर पक्राउ केशव दुलाल, सानु भण्डारी लगायतको बयानमा रिजालको नाम जोडिएपछि प्रहरी निगरानी बढेको थियो । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग रिजालको पनि साँठगाँठ रहेका तथ्यहरु प्रहरीको अनुसन्धान टोलीले भेटेपछि उनी समातिएका हुन् । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई जस्ता उच्च तहका नेपाली नेता–कर्मचारी समातिंदा उच्च तहका शरणार्थी नेता नै यसमा मुछिएको अनुसन्धानमा भेटिनु पुनर्वासमा जाने शरणार्थी समुदायका लागि विस्मयकारी खबर बन्न गएको छ ।

हाल अमेरिकाको रिचमन्डमा रहेका भुटानी पत्रकार अर्जुन प्रधानले आक्रोशित हुँदै सुनाए, ‘हामीले सधैं नेता मानेर शिरमाथिको सम्मान दिएका डासो रिजाल नै नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने घृणित खेलमा परेको सुन्दा धिक्कार भन्न मन लागेको छ ।’

रिजाल नै ती नेता हुन्, जसले नेपालको राजनीतिक नेतृत्वसँग शरणार्थीका मुद्दा अन्तर्राष्ट्रियकरण तथा थिम्पुसँग वार्ताका लागि तारन्तार पहल गरेका थिए । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, तत्कालीन परराष्ट्रमन्त्रीहरु केपी शर्मा ओली, चक्रप्रसाद बाँस्तोला र भेषबहादुर थापाले यसका लागि सक्दो कोसिस पनि गरे । सकेसम्म शरणार्थीको स्वदेश फिर्ती, नसके तेस्रो देश पुनर्वास गरेर भए पनि सम्मानित जीवनयापनका लागि वातावरण बनाउन रिजालले गरेको आग्रह त्यो समुदायले बिर्सेको छैन ।

‘अन्तर्राष्ट्रिय जगतसम्म हाम्रो आवाज बोलिदिने अभिभावकले नै सन्तानलाई बिचल्ली पार्देलान् भन्ने कसले चिताएको थियो र’ बेलडाँगी १ क्याम्पबाट अमेरिका पुर्‍याइएका प्रधान क्षोभ व्यक्त गर्छन्, ‘रामेछापको रामबहादुरलाई भुटानको शरणार्थी बनाएर विदेशमा बेच्न लाज लाग्दैन यसका नेतालाई ?’

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?