+
+

२ वर्ष भित्र कीर्तिपुर र मुलपानी रंगशाला स्तरोन्नति गरी अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते १८:०७

५ जेठ, काठमाडौं । सरकारले काठमाडौंको कीर्तिपुर र मुलपानी रंगशालाको स्तरोन्नति गरी दुई वर्षभित्र अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चाल हुने व्यवस्था गर्ने घोषणा गरेको छ ।

शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले मैदानको स्तरोन्नती गरी दुई वर्ष भित्र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गरिने घोषणा गरे ।

‘आगामी दुई वर्षभित्र काठमाडौँको कीर्तिपुर र मूलपानी क्रिकेट रङ्‍गशालाको स्तरोन्‍नति सम्पन्‍न गरी अन्तर्राष्‍ट्रियस्तरको प्रतियोगिता सञ्‍चालन हुने व्यवस्था गरिनेछ,’ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भने, ‘चितवनको भरतपुर, कैलालीको फाप्ला, बैतडीको दशरथचन्द र मोरङ्‍गको विराटनगर क्रिकेट रङ्‍गशालाको पूर्वाधार निर्माण कार्य अघि बढाइनेछ ।’

खेलकुद पूर्वाधारहरूको दिगो व्यवस्थापनका लागि स्थानीय तथा प्रदेश सरकारको सहभागिता बढाउँदै लैजाने र खेलकुद पर्यटनको विकास र विस्तार हुने किसिमका खेलकुद पूर्वाधारहरू सार्वजनिक-निजी साझेदारीमा निर्माण गर्न प्रोत्साहन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

खेलकुदलाई राष्‍ट्रको पहिचान¸ गौरव र प्रतिष्‍ठा बढाउने माध्यमको रूपमा विकास गर्दै राष्‍ट्रिय तथा अन्तर्राष्‍ट्रिय स्तरका खेलकुद प्रतियोगिता आयोजना गर्न जोड दिइने सरकारको नीति छ। अन्तर्राष्‍ट्रिय स्तरका खेलकुद प्रतियोगितामा पदक हासिल गर्ने खेलाडीहरूलाई प्रोत्साहन एवं पुरस्कृत गरिने उनले घोषणा गरे ।

‘हरेक विद्यालयमा खेल शिक्षकको व्यवस्था गरिनेछ। वार्षिक खेलकुद क्यालेण्डर तयार गरी अन्तरपालिका तथा प्रदेशस्तरीय प्रतियोगिताहरूको आयोजना गरिनेछ। एक वडा एक खेल मैदान, एक पालिका एक कभर्ड हलको निर्माण गरिनेछ,’ सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?