
६ जेठ, विराटनगर । मोरङ र सुनसरीमा सञ्चालित विराट-बर्जु हाफ म्याराथन दौडको उपाधि नेपाली सेनाका खेलाडी नरेन्द्रसिंह रावलले जितेका छन् ।
कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको यो प्रतियोगितामा निर्धारित २३ किलोमिटर दूरी १ घण्टा १७ मिनेट २८ सेकेण्डमा पूरा गरेर रावलले उपाधि जितेका हुन् ।
विराट राजाको दरबारस्थल विराटनगरको भेडियारीबाट सुनसरीको बर्जु तालसम्म सञ्चालित दौड नेपाली सेनाकै सुशीलकुमार शाहीले १ घण्टा १८ मिनेटमा पूरा गरेर दोस्रो भए । त्यस्तै मोहनदेव जोशीले १ घण्टा १८ मिनेट ३३ सेकेण्डमा दौड पूरा गरेर तेस्रो, नेपाली सेनाका होमलाल श्रेष्ठले १ घण्टा १९ मिनेट ३९ सेकेण्डमा दुरी पूरा गरेर चौथो भए । नेपाली सेनाकै श्रीकाश राई पाँचौं र सशस्त्र प्रहरी बलका किरणसिंह बोगटीले छैटौं भए ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम रावलले १ लाख रुपैयाँ, दोस्रो हुने शाहीले ७५ हजार र तेस्रो हुने जोशीले ५० हजार रुपैयाँ पुरस्कार पाए ।
विराट-बर्जु हाफ म्याराथन अन्तर्गत नै महिलातर्फको ५ किलोमिटर दौडमा नेपाल प्रहरीकी रेखा विष्ट १९ मिनेट ४ सेकेण्डमा दूरी पूरा गरेर पहिलो भइन् । सशस्त्र प्रहरी बलकी सीमा थारु चौधरी १९ मिनेट ११ सेकेण्डमा दूरी पार गरेर दोस्रो भइन् भने नेपाल प्रहरीकी तिर्सना कुमाल तेस्रो र विराटनगरकी अंशु मण्डल चौथो भए ।
महिलातर्फ पहिलो भएकी रेखा विष्टले २५ हजार, दोस्रो हुने चौधरीले २० हजार र तेस्रो हुने कुमालले १५ हजार रुपैयाँ पाए । खेलाडीलाई कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले पुरस्कार प्रदान गरे ।
खेलकुद पर्यटनको माध्यमबाट कोशी प्रदेशको राजधानी वरपरका दुई ऐतिहासिक पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले खुला हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4