+
+

गुल्मीमा पत्रकार सदस्यता शुद्धीकरण : २६ जना मात्र सदस्य रहने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ७ गते १३:४५

७ जेठ, गुल्मी । नेपाल पत्रकार महासंघ गुल्मी शाखाले सदस्यता शुद्धीकरण अन्तिम चरणमा पुर्‍याएको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको १० औं साधारण सभामा केन्द्रीय अभियानलाई सार्थकता दिन भन्दै पूर्वअध्यक्ष जनार्दन घिमिरे संयोजक रहने गरि निवर्तमान अध्यक्ष नवराज भुसाल र कार्यसमिति सहसचिव तिलाचन पाण्डे सदस्य रहने गरि कार्यदल गठन गरिएको थियो ।

कार्यदलका संयोजक  घिमिरेले केन्द्रीय शुद्धीकरण अभियानलाई पूर्ण कार्यान्वयन गर्ने बताए । ‘सदस्यता शुद्धीकरणमा हामीलाई प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको छ’ संयोजक घिमिरेले भने, ‘हामीले क्रियाशील पत्रकारको मात्र सदस्यता कायम राख्ने गरि सुझाव दिन्छौं ।’

पत्रकारितामा योगदान गर्ने सदस्यहरुलाई मानार्थसहित सम्मान र पत्रकारिता नगर्नेलाई ससम्मान बिदाइ गरिनेछ ।हाल ८५ जना सदस्य रहेको गुल्मी शाखामा कार्यदलले क्रियाशील पत्रकारको सदस्यता मात्र कायम राख्ने निर्णयसहितको सिफारिस प्रतिवेदन कार्यदलले तयार गरेको छ । जस अनुसार गुल्मी शाखामा मात्र २६ जना सदस्य रहनेछन् ।

कार्यदलले उक्त प्रतिवेदन नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र नेपाल पत्रकार महासंघ केन्द्रीय समितिमा पठाउनेछ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले खास पत्रकारहरुको संगठन बनाउन केन्द्रले चलाएको अभियान पूर्ण रुपमा कार्यान्वयन गर्ने बताएका छन् । कार्यदललाई पूर्ण जिम्मेवारी दिएकोले त्यही अनुरुप कार्यसमिति अगाडि बढेर प्रदेश र केन्द्रमा सिफारिस गर्ने उनले बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोसन पुरीले पत्रकार सदस्यता शुद्धीकरण अभियानलाई गुल्मीले प्रभावकारी ढंगले अगाडि बढाएकोमा कार्यदल र कार्यसमितिलाई धन्यवाद दिएका छन् । ‘क्रियाशील खास पत्रकारहरुको साझा संगठन महासंघ हो’ उनले भने, ‘गुल्मीले जस्तै सबै शाखाले शुद्धीकरणमा सहयोग गर्नुपर्छ ।’

नेपाल पत्रकार महासंघले क्रियाशील नरहेका तर सदस्य कायम रहेकालाई आफैं सदस्यता त्याग गर्न आग्रह गरेको छ । यदि आफैं सदस्यता त्याग नगरेमा पत्रकारिता पेशमा आवद्ध नभएकाको नाम सदस्यताबाट हटाइने महासंघले जनाएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले गुल्मी शाखाको साधारण सभामा सम्बोधन गर्दै सदस्यता शुद्धीकरण अभियानलाई साथ दिएर क्रियाशील पत्रकारको मात्रै सदस्यता कायम राख्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?