+
+

खिन्से नोर्बुको सुझाव : हलिउडको कथित युनिभर्सल थिमबाट प्रभावित नहुनुस्

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ७ गते १७:५८

काठमाडौं । विश्वचर्चित बौद्ध धर्मगुरु तथा फिल्म निर्देशक खिन्से नोर्बुले हलिउड र बलिउडले भन्दै आएकोजस्तो ‘युनिभर्सल थिम’लाई फलो नगर्न नेपाली फिल्मकर्मीलाई सुझाएका छन् । फिल्म ‘डाकिनी’को विशेष प्रदर्शनपछि काठमाडौंमा आयोजित मास्टरक्लासमा उनले फिल्म निर्माण शैलीबारे एक घण्टा लामो कुरा राखे ।

पछिल्लो समय हलिउड र बलिउडले कथित युनिभर्सल फिल्मको नाममा गुड भर्सेस ब्याड, विश्व जोगाउने कथा, गुड भर्सेस एभिल र रोमान्टिक जनराका फिल्म बनाइरहेको बताउँदै उनले यसबारे सचेत हुन नेपाली फिल्ममेकरलाई आग्रह गरे ।

‘यतिबेला कथावाचनका दुई महत्वपूर्ण चुनौती छन् । एउटा कथित युनिभर्सल थिम र अर्कोतर्फ के कुरा युनिभर्सल हो भन्ने कुराको बुझाइ छ । नेपालले हलिउड र बलिउडको जस्तो कथित युनिभर्सल थिमलाई पछ्याउन जरुरी छैन,’ उनले भने, ‘प्रत्येक संस्कृतिसँग भिन्न शैली र थिम हुन्छ । सोहीअनुसार कथा भन्नुपर्छ । युनिभर्सल थिमबारे सोच्दा सतर्क हुनुस् ।’

हलिउड र बलिउडको कथित युनिभर्सल थिमलाई छाडेर चीनले मौलिक स्टोरीटेलिङको शैलीलाई पछ्याएको उदाहरण दिंदै उनले आज चीन विश्वकै ठूलो फिल्म बजार बनेको तर्क पेश गरे । ‘३० वर्षअघि चीन कस्तो थियो हेर्नुस् तर चीन आज विश्वकै ठूलो फिल्म बजार हो । उसले सो–कल्ड युनिभर्सल थिमलाई पछ्याएन ।’ उनले सन् २०१५ मा रिलिज भएको फिल्म ‘सेमेटरी अफ स्पेलन्डर’ हेर्न सुझाव दिए ।

‘संसारमा यतिबेला युनिभर्सल थिमको मान्यता नै बदलिएको छ । यसबारे सोच्दा हलिउड र बलिउडबाट प्रभावित नहुनुस् । यस्तो सोचेकै कारण चीन आज संसारकै ठूलो फिल्म बजार बन्न सकेको छ,’ उनले भने । उनले डाकिनी आफ्नो लागि शिक्षामूलक रहेको भन्दै सिनेमा र मुभीबीच आधारभूत भिन्नता रहेको बताए । कथा भन्न सकेकै कारण मानिस चिम्पाञ्जीभन्दा भिन्न रहेको बताउँदै उनले यो शक्तिको सदुपयोग गर्न आग्रह गरे । मानिसलाई प्रोत्साहित गर्न आफूले फिल्म निर्माण गरिरहेको चर्चा उनले गरे ।

फिल्म ‘डाकिनी’को प्रदर्शनकै लागि निर्देशक नोर्बु यतिबेला काठमाडौंमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?