+
+

दाङमा बाल चलचित्र महोत्सव आयोजनाबारे बोर्डले गर्‍यो छलफल

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ७ गते १८:३७

घोराही । दाङमा आयोजना हुन लागेको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवको तयारीमा चलचित्र विकास बोर्ड जुटेको छ । आगामी असार १ देखि ३ गतेसम्म हुने महोत्सवका लागि बोर्डको टोली दाङ पुगेर आवश्यक तयारी थालेको हो । बार्डका प्रवक्ता केएल बुढाथोकी, सदस्य सचिव टंकबहादुर महतसहितको चार जनाको टोलीले महोत्सव तयारीबारे पहिलो चरणमा जिल्लाका सरोकारवालासँग छलफल गरेको हो ।

बोर्ड प्रवक्ता बुढाथोकीले बालबालिकामाझ फिल्मको माध्यमबाट शिक्षा, संस्कृतिको प्रवर्द्धन गर्ने र उनीहरुलाई फिल्मको अभ्यास गराउने उद्देश्यले पहिलो पटक महोत्सव गर्न लागेको जानकारी दिए । महोत्सवमा बाल कथावस्तुमा आधारित र बालबालिकाले निर्माण गरेका लामा तथा छोटा शिक्षामूलक फिल्मको प्रदर्शन गरिनेछ ।

यसका लागि देशभरबाट बालबालिकासम्बन्धी फिल्मको आह्वान समेत गरिएको उनले बताए । ‘महोत्सवमा बालबालिकासम्बन्धी चेतनामूलक र प्रेरणादायी फिल्मलाई प्रदर्शन गरिनेछ,’ बुढाथोकीले भने ।

महोत्सवमा फिल्म ज्ञानसम्बन्धी हाजिरी जवाफ प्रतियोगिता, पुस्तक र फोटो प्रदर्शनी तथा फिल्म नृत्य प्रतियोगिता समेत हुने जनाइएको छ । महोत्सवमा ‘बालबालिकासँग भुवन केसी’ कार्यक्रम समेत गरिने उनले बताए । उनले केही दिनभित्रै विभिन्न उपसमितिहरु गठन गरेर महोत्सवका तयारी तीव्र गराइने जानकारी दिए ।

छलफलमा बोल्दै सरोकारवालाले महोत्सवले बालबालिकालाई सन्देशमूलक शिक्षा दिने र उनीहरुको रचनात्मक विकासमा भूमिका खेल्ने बताए । उनीहरुले यस खालका महोत्सवले सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।

जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले महोत्सवले बालबालिकालाई फिल्मसम्बन्धी शिक्षा र ज्ञान दिने बताए । ‘बालबालिकालाई चलचित्रको माध्यमबाट जीवन, समाज र सांस्कृतिक पक्षका विभिन्न आयाम बुझाउन भूमिका खेल्नेछ,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले महोत्सवमा बालबालिकासम्बन्धी चेतनामूलक खालका फिल्मलाई देखाइने बताए । त्यस्ता सिनेमाले बालमनोविज्ञान बुझ्न सघाउने र बालबालिकाका मुद्दा समेत बाहिर आउने उनले बताए । उनले बालबालिकाको विषयमा सकारात्मक कामको थालनी भएको भन्दै आफूले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । छलफलमा जिल्लाका बौद्धिक व्यक्ति, कला साहित्य अनुरागी, सुरक्षाकर्मी, शिक्षाप्रेमी, व्यवसायी र सञ्चारकर्मी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?