+
+

बैंकको खाताबाट चोरीभएको रकम जुवामा खर्च

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ७ गते १८:१८

७ जेठ, विराटनगर । एभरेष्ट बैंकको इटहरी शाखाबाट बचतकर्ताको रकम चोरी गरेर अनलाइन जुवामा खर्च गरेको पाइएको छ ।

पाँच महिनाको अवधीमा इटहरी शाखाबाट ३३ जना बचतकर्ताको खातामा रहेको एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ चोरी भएको थियो । चोरी आरोपमा प्रहरीले बैंकको इटहरी शाखा प्रबन्धकसहित ९ जनालाई पक्राउ गरेको छ । जसमध्ये सात जना बैंकका कर्मचारी छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राईका अनुसार चोरी गर्ने गिरोहका मुख्य व्यक्ति विराटनगर महानगरपालिका– ८ घर भएका निरज प्रधान हुन् । चोरी भएकोमध्ये अधिकांश रकम उनले नै चलाएको देखिएको प्रहरीको भनाइ छ ।

अनुसन्धानका क्रममा प्रधानले बचतकर्तालाई जानकारी नदिई खाताबाट झिकेको रकम अनलाइन जुवामा उडाएको बयान दिएका छन् । केही रकम खानपानमा खर्च गरेको बयान दिएको प्रहरीले बताएको छ । ‘बचतकर्ताको रकम झिकेर अनलाइन बेटिङ (जुवा)मा खर्च गरेको देखिन्छ’, उनले भने, ‘अन्य कर्मचारीको भूमिका शंकास्पद छ ।’

प्रहरी स्रोतका अनुसार बचतकर्ताको रकम निकाल्दा प्रधानले बढी हिस्सा आफू लिने र अन्यलाई थोरै दिने गरेका थिए । प्रधानको योजनामा १४ नोभेम्बर २०२२ देखि रकम निकाल्न थालेको प्रहरीको दाबी छ ।

करिब तीन वर्षयता इटहरी शाखामा कार्यरत प्रधानको गत मार्च १२ तारेखमा इटहरीबाट गाईघाट सरुवा भएको थियो । गाइघाट पुगेर पनि उनले इटहरीको खाताबाट रकम चोरी गरेको देखिएको प्रहरीको भनाइ छ ।

गत १४ नोभेम्बर २०२२ देखि ३१ मार्चमा २०२३ सम्म ५९ पटक कनेक्ट आईपीएसबाट एक करोड १४ लाख ७५ हजार २ सय ८४ रुपैयाँ र निष्क्रिय खाताको नक्कली चेक बनाएर ३५ लाख ४८ हजार १५० रुपैयाँ निकालेको देखिएको प्रहरीले बताएको छ ।

चोरीमा संलग्न भएको आरोपमा प्रहरीले प्रधानसहित बैंकको इटहरी शाखा प्रबन्धक सिन्धुपाल्चोक बाह्रविसे ८ घर भएका ४२ वर्षीय विश्वराज शाक्य, एभरेष्ट बैंक इटहरी शाखाका सुपरभाइजर ३७ वर्षीय धावा लामा, बैंकका कनिष्ठ सहायकहरु २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा, २७ वर्षकै रञ्जित पण्डित, बंैंकको इटहरी शाखाकी टेलर ३० वर्षीय पवित्रा कटुवाललाई पक्राउ गरेको हो ।

त्यस्तै धनुषाको मिथिला नगरपालिका– ११ का ३४ वर्षीय शंकर भुजेल, भक्तपुरको सूर्यविनायक नगरपालिका– २ का २७ वर्षीय अजय खिउजू पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?