+
+

निक्षेपको अनुपातमा कर्जा बढ्दैन, बेसरेट एकल अंकमा आउँछ : बैंकर्स संघ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ८ गते १८:२०

९ वैशाख, काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ कर्जाको ब्याजदर घट्दै गएको र असारमा अझै घट्ने बताएका छन् । सोमबार संघले आयोजना गरेको छलफलमा बोल्दै अध्यक्ष केसीले अन्तिम २ महिनामा सरकारको खर्च बढ्ने भएकाले जेठ र असारमा थप २ खर्ब निक्षेप बढ्ने अनुमान गरिएको बताए । ‘अहिलेसम्मको कर्जा विस्तार हेर्दा आगामी दुई महिनामा थप १.५ खर्ब कर्जा विस्तार हुने र समग्रमा गत वर्षभन्दा ६ प्रतिशतले कर्जा बढ्ने देखिन्छ’ केसीले भने ।

एनएबमी बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका अध्यक्ष केसीले कर्जा प्रवाह मौद्रिक नीतिको लक्ष्य अनुसार नहुने बताउँदै आगामी दिनमा सरकारको खर्च बढ्दा बैंकिङ प्रणालीमा तरलता थप हुँदै जाने बताए ।

कर्जाको ब्याजदर पुसदेखि नै घट्दै गएको र आगामी दिनमा अझै घट्ने दबी अध्यक्ष केसीको छ । ‘राष्ट्र बैंकले स्प्रेड रेट घटाएर असारमा ४ प्रतिशत कायम गर्न भनेको छ, निक्षेपको लागत पनि घट्दै गएको छ,’ उनले भने, ‘बैंकमा निक्षेप वृद्धिको अनुपातमा कर्जा नबढ्दा तरलता सहज हुँदै गएको छ।’

सरकारले आर्थिक वर्षको अन्तिममा खर्च बढाउने भएकोले गत वर्षको तुलनामा १०/११ प्रतिशतले निक्षेप वृद्धि हुने तर, कर्जा लगानी गत असारको तुलनामा ५/६ प्रतिशतको मात्रै वृद्धि हुने देखिएको उनले बताए ।

‘आर्थिक वर्षको अन्तिम २ महिनामा सरकारको खर्च बढ्ने भएकाले जेठ र असारमा थप २ खर्ब निक्षेप बढ्ने अनुमान गरेका छौं,’ केसीले भने, अहिलेसम्मको कर्जा विस्तार हेर्दा आगामी दुई महिनामा थप १.५ खर्ब कर्जा विस्तार हुने र समग्रमा गत वर्षभन्दा ६ प्रतिशतले कर्जा बढ्ने देखिन्छ ।’

तर, सरकारले ठूलो मात्रामा आन्तरिक ऋण उठाउँदै जाँदा तरलतामा दावा हुने जोखिम भने कायम रहेको उनले बताए । निजी क्षेत्रमा जाने कर्जा बढाउन सरकारले बाह्य ऋण परिचालनलाई प्राथमिकता दिनुपर्ने उनको तर्क छ । बैंकहरुको लागत वृद्धि हुँदै जाँदा बैंकहरुको नाफा भने घट्दै गएको अध्यक्ष केसी बताउँछन् । बैंकहरुको पूँजीकोषको दबाबले गर्दा कर्जाको माग बढ्ने अवस्था नदेखिएको उनको भनाइ छ ।

बैंकहरुको आधार दर नै अबको १/२ महिनामा एकल अंकमा झर्ने अवस्था रहेको र स्प्रेड रेट पनि असार मसान्तमा ४ प्रतिशतमा झर्दा ब्याजदर भने उल्लेख्य रुपमा घट्ने बैंकर्सको तर्क छ ।

पुसमा ८.५१ प्रतिशत पुगेको बैंकहरुको स्रोतको लागत चैतमा ८.२६ प्रतिशतमा झरेको बैंकर्स संघले जनाएको छ । यस्तै बेसरेट पनि पुसमा १०.९१ प्रतिशतबाट घटेर चैतमा १०.४८ प्रतिशत कायम भएको छ । कर्जाको भारित औसत ब्याजदर माघ र फागुनमा १३.०३ प्रतिशत पुगेकोमा चैतमा १२.८४ प्रतिशत रहेको बैंकर्स संघले जनाएको छ ।

वैशाखमा बैंकहरुको पछिल्लो ३ महिनाको औसत बेसरेट १०.४६ प्रतिशत र वैशाखको मात्रै औसत बेसरेट १०.२७ प्रतिशतमा झरेकोले ब्याजदर आगामी दिनमा थप घट्दै जाने देखिएको बैंकर्स संघको दाबी छ ।

कार्यक्रममा बैंकर्स संघका सल्लाहकार तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले ब्याजदर घट्दै जाँदा बजार पनि चलायमान हुने र माग बढ्दै जाने बताए । उनले बैंकहरुको निष्कृय कर्जा वृद्धि भएपनि बैंकहरुको पूँजीकोष पर्याप्त रहेको र तरलता पनि पर्याप्त रहेकोले जेखिम न्यून रहेको उनले बताए । यद्यपि आगामी दिनमा सचेत भएर निर्णय गर्नुपर्ने अवस्था भने रहेको उनले बताए ।

बैंकर्स संघले उपलब्ध गराएको चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको कुल निक्षेप ४८ खर्ब ४० अर्ब ४४ करोड पुग्दा कर्जा लगानी ४२ खर्ब ९८ अर्ब ६१ करोड पुगेको छ । चालु आर्थिक वर्षको १० महिनामा बैंकहरुको कुल निक्षेप २ खर्ब ९९ अर्बले वृद्धि हुँदा कर्जा लगानी भने १ खर्ब २३ अर्बले मात्रै बढेको छ । जेठ र असारमा करिब २ खर्बले निक्षेप बढ्दा कर्जा लगानी अधिकत डेढ खर्बसम्म हुनसक्ने संघका अध्यक्ष केसीले बताए ।

हाल बैंकहरुको औसत सीडी रेसियो ८५ प्रतिशत भन्दा तल रहेको छ । आगामी दिनमा कर्जाको तुलनामा निक्षेपको वृद्धिदर नै उच्च हुने बैंकर्स संघको विश्लेषणले अझै सीडी रेसियो असारसम्म ८४ प्रतिशतभन्दा तल झर्नसक्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?