+
+
ब्लग :

अरूले अवार्ड दिएपछि चिन्ने यो कस्तो देश हो !

विदेशमा अवार्ड पाइसकेपछि मात्र यता अलिअलि खोजतलास हुन थाल्ने रहेछ। अरूले सम्मान गरेपछि मात्रै चिन्ने कस्तो अचम्मको देश !

मोइन उद्दिन मोइन उद्दिन
२०८० जेठ ९ गते १२:२७

मैले चिनेका कतिपय व्यक्तिहरू पावरमा हुनुहुन्छ र सामाजिक सञ्जालमा पनि उहाँहरू सबै जोडिनुभएको छ। सबैले मैले गरेको काम पनि देख्नुहुन्छ अनि सबै कुरा थाहा छ। अनि म आशा लिएर भेट्न अनुरोध गर्छु। उहाँहरूले सहर्ष स्वीकार गर्नुहुन्छ। आफूले गरेका कामबारे जोसिंदै सबै कुरा भन्छु। सबैले ‘ल राम्रो छ, अझै राम्रो गर’ भन्नुहुन्छ। तारिफ गर्नुहुन्छ। म गद्गद् हुन्छु। फेरि म जोसिंदै भन्छु, ‘मलाई अझै सिक्न मन छ। शिक्षा क्षेत्रमा अझै अथाह योगदान गर्न मन छ।’

‘हुन्छ नि त, तिमीले गरेको काममा हाम्रो साथ सदैव छ। केही मद्दत चाहिए नहिच्किचाइकन भन’ पनि भन्नुहुन्छ। हरबखत भेट्दा वा कुराकानी गर्दा मेरो एउटै जवाफ हुन्छ, ‘मलाई पढ्नका लागि छात्रवृत्ति चाहिएको छ, विदेश गएर पढ्न पाए हुन्थ्यो। विदेश गएर त्यहाँको अवस्था, स्थिति, पढाइ, सिकाइ, राम्रा पक्ष, पढ्ने-सिक्ने तथा विद्यार्थीलाई उत्प्रेरित गर्ने तरिकासहित सब जानेर, बुझेर, नेटवर्क बनाएर फर्किन्छु अनि झन् जोडदार तरिकाले लाग्नेछु।’ तर सबै कुरा गफमा मात्रै सीमित हुन्छ।

सायद काम मन पराएर वा अलिअलि चर्चा चुलिएकै आधारमा विभिन्न मिडियाकर्मीले पनि मलाई भेट्नुहुन्छ। उहाँहरूसँग पनि त्यसरी नै जोसिंदै आफ्नो अनुभव सुनाउँछु र आफ्नो पढ्ने आकांक्षा प्रकट गर्छु। उहाँहरूले पनि सुनेर आफ्नै तवरले लेख्नुहुन्छ। तर कहिलेकाहीं त्यो कुरालाई जोड दिएर नछापिदिंदा निराश बन्छु।

छापियो भने सामाजिक सञ्जालमा शेयर गरिहाल्छु अनि अरूले पनि थाहा पाउनुहुन्छ। मसँग जोडिएर कुरा गर्न खोज्नुहुन्छ। ‘तपाईं युवा जोस–जाँगर भएको र हामीसँग काम गर्नुपर्ने मान्छे, कहाँ त्यस्तो अनकन्टारमा एक्लै काम गर्नुहुन्छ ! आउनुस् मिलेर काम गरौं’ भन्नुहुन्छ ।

मलाई थाहा छ- मैले सबैसँग काम गर्न सक्दिनँ। तर चियापसल र क्याफेमा कफीको चुस्की लिंदै गफ गर्दा पुन: आफूले गरेको काम र छात्रवृत्ति पाएर बाहिर पढ्न जाने इच्छा पोख्छु। ‘तिमी फुलब्राइट स्कलरसिप, चिवनिंग स्कलरसिप, अष्ट्रेलियन अवार्डस्मा एप्लाई गर, त्यस्तो राम्रो काम गरेको मान्छेले स्कलरसिप पाइहाल्छौं नि’, कतिपयले सुझाउनुहुन्छ ।

‘हो जस्तो लाग्छ’ र निवेदन दिएर तयारी गर्छु। तर महिनौं पर्खेपछि इमेल आउँछ, ‘सरी यू आर नट सेलेक्टेड बट वी एप्रिसिएट योर वर्क। दियर वेर मेनी अप्लिकेन्टस्। प्लिज ट्राई अगेन नेक्स्ट इएर (माफ गर्नुहोला, तपाईं छनोटमा पर्नुभएन तर तपाईंको काम प्रशंसनीय छ। आवेदकहरू धेरै हुनुहुन्थ्यो। कृपया, अर्को वर्ष पुन: प्रयास गर्नुहोला)।’

जहाँ जोसँग भेट भए पनि आफ्नो अनुभव र छात्रवृत्तिको चाहना भनिहाल्छु। तर सुझाव उही ‘स्कलरसिपमा एप्लाई गर’ भन्ने पाउँछु र कतिपयले लिंक समेत शेयर गर्नुहुन्छ।

अनुराधा कोइराला, पुष्पा बस्नेत, डा. सन्दूक रुइत र अस्ति भर्खर गायक प्रकाश सपूतलाई सुरुमा अरु देशले पत्याए । अर्कै देशले अवार्ड, सम्मान र सहयोग प्रदान गरेपछि मात्रै नेपालमा उहाँहरूको कामको कुरा हुन थाल्यो । आफ्नै देशमा चिनिन अर्कै देशले हामीलाई पत्याउनुपर्ने, अवार्ड दिनुपर्ने, प्रशंसा गरिदिनुपर्ने हो र ?

छात्रवृत्तिका लागि सहयोग गरिदिन भन्दै धेरैलाई भेटेको छु। काठमाडौं, विराटनगर, पोखरा लगायत शहरमा विदेशी सम्बन्धन प्राप्त कलेज सञ्चालक र बैंकका सीईओ, ठूल्ठूला व्यावसायिक घरानाका मालिकदेखि नेपाली क्रिकेट टोलीलाई स्पोन्सरसिप गर्ने संस्थापकसम्मलाई अनुरोध गरेको छु ।

आफ्नै सर्कलका विद्वान मित्र, आफ्नै सहकर्मीदेखि आफैंले काम गरेका संस्थाका मालिकसम्मलाई ‘शिक्षा क्षेत्रमा केही गर्छु’ भनेर बारम्बार भनेकै छु। सामाजिक सञ्जालमा पनि स्टाटस लेखेकै छु अनि भिडियो समेत बनाएर हाल्छु। तर अहँ, मेरो स्टाटस यत्तिका भीडमा खै कता हराउँछ, हराउँछ ! एलगोरिदमले मेरो भिडियो खै कहाँ लुकाउँछ, लुकाउँछ ! बरु अश्लील खालको भिडियो धेरै फिडमा आउँछन्, अरूलाई प्र्याङ्क गरेको भिडियोमा धेरै लाइक आउँछ तर मेरोमा आउँदैन !

सामाजिक सञ्जालमा ‘हामीले विद्यार्थीलाई १ करोड बराबरको स्कलरसिप दियौं, यस्तो गर्‍यौं, उस्तो गर्‍यौं’ भन्दै पैसा तिरेर भए पनि बुस्ट गर्छन् तर हामी जस्ता केही गर्न चाहनेमाथि कसैको नजरसम्म पर्दैन। हामीमाथि नजर नपरेको देख्दा, कसैले सहयोग नगर्दा कहिलेकाहीं अचम्म लाग्छ। अनि कहिलेकाहीं आफैंसँग प्रश्न गर्छु, ‘केही गरेर, केही सिकेर समाज, राष्ट्र र दुनियाँलाई टेवा पुर्‍याउँछु भन्ने हामी जस्ता मान्छे किन पछि पर्छन् ? किन हामीलाई कसैले सहयोग गर्दैनन् ? किन हामीमाथि कसैको आँखा पर्दैन ?’

अन्य राष्ट्रमा उतैबाट छानीछानी बोलाउँछन् र यता गरेको कामलाई प्रोत्साहन स्वरूप अवार्ड दिन्छन् तर नेपालमा भने कसैले वास्ता नगर्दा रहेछन्। विदेशमा अवार्ड पाइसकेपछि मात्र यता अलिअलि खोजतलास हुन थाल्ने रहेछ। अरूले सम्मान गरेपछि मात्रै चिन्ने कस्तो अचम्मको देश ! ‘आफ्नै देशले नचिन्ने रहेछ क्या हो?’ कहिलेकाहीं सोच्दासोच्दै दिक्क लाग्छ ।

अनुराधा कोइराला, पुष्पा बस्नेत, डा. सन्दूक रुइत र अस्ति भर्खर गायक प्रकाश सपूतलाई सुरुमा अरु देशले पत्याए । अर्कै देशले अवार्ड, सम्मान र सहयोग प्रदान गरेपछि मात्रै नेपालमा उहाँहरूको कामको कुरा हुन थाल्यो । आफ्नै देशमा चिनिन अर्कै देशले हामीलाई पत्याउनुपर्ने, अवार्ड दिनुपर्ने, प्रशंसा गरिदिनुपर्ने हो र ?

‘आर्थर गन’ले परिचित गायक दिवेश पोख्रेललाई अमेरिकन आइडलले, डान्सर सुशान्त खत्री, सुजन मार्फा तामाङलाई डान्स इंडिया डान्सले अनि नायिका मनिषा कोइराला र गायक उदितनारायण झालाई पहिला बलिउडले पत्याइदिनुपर्ने ? यो कस्तो विडम्बना हो ?

यस्ता उदाहरण कति छन् कति। तर आफ्नै देशले आफ्नै प्रतिभालाई चिन्न र सहयोग गर्न नसक्नु अनि प्रतिभा पलायन हुनु दु:खद हो।

यस्तो परिस्थिति देख्दा आवेग उर्लेर आउँछ । मन र मस्तिष्क रन्थनिन्छ। अवसर नपाएको देख्दा वाक्कदिक्क लाग्छ। दिनदिनै हुने प्रतिभा पलायन रोक्ने जिम्मा देश हाँक्ने र ठूला पदमा आसीन व्यक्तिको होइन र ?

ठूलो हुन र कहलिन खोज्नेले आफ्नो बारेमा मात्रै सोच्ने हो कि हामी जस्ता मान्छेका लागि अवसर पनि सिर्जना गर्ने हो ? यसरी नै प्रतिभा पलायन हुँदै जाने हो भने भविष्यमा देशका कम्पनी, विद्यालय, विश्वविद्यालय, संसद भवन, राष्ट्रपति भवन, बैंक, कलेज, प्रकाशन गृह, होटललगायत क्षेत्र कस्ता मान्छेले चलाउलान् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?